सिन्धुलीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सिन्धुली– बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकै परिवारका दुई सदस्य घाइते भएका छन्।

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको हो। दुर्घटनामा परी एकै परिवारका तीन जना घाइते भएका थिए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रनाउ) सूर्यप्रकाश सुवेदीका अनुसार, मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको कार आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनालगत्तै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा लगेको थियो। उपचारका लागि अस्पताल पुर्‍याइए पनि चालक ओमबहादुर अर्जेलको मृत्यु भएको प्रनाउ सुवेदीले बताए।

मृतकका श्रीमती ४९ वर्षीया सुनिता अर्जेलको अवस्था गम्भीर रहेको छ। छोरा ३१ वर्षीय निशान्त अर्जेलको भने उक्त अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए।