आन्दोलनमा पुर्‍याइएको 'क्षति कारण' हायात रेजेन्सी अनिश्चितकालका लागि बन्द

जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको कारण मर्मत गर्नुपर्ने भन्दै हायात रेजेन्सीले होटल बन्दको घोषणा गरेको छ। त्यहाँ कार्यरत मजदुरलाई पनि काममा नआउन भनिएको छ।

काठमाडौँ- जेन-जी आन्दोलनका क्रममा होटलमा तोडफोड र आगजनीका कारण सेवा दिन नसकिने भन्दै बौद्ध टुसालस्थित हायात रिजेन्सीले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको छ।

होटलका मानव संसाधन निर्देशक मोहम्द यूसुफ यामिनले शुक्रबार सूचना जारी गर्दै मर्मत तथा पुनर्निर्माणबिना होटल तत्काल संचालन गर्न नसकिने जनाएका छन्। आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल बन्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।

सम्पूर्ण श्रमिकलाई पनि अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन व्यवस्थापन पक्षले आग्रह गरेको छ। होटल बन्द रहने र श्रमिकलाई पनि नबोलाउने विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भएको यामिनले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

“होटेलबाट प्रवाह हुँदै आएको व्यवसायिक सेवालगायत सम्पूर्ण होटल नै पूर्णरूपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भइ प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरू अर्को सूचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकलाई होटेल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ,” विज्ञप्तिमा भनिएको छ।

होटलको वेबसाइटमा पनि होटल अस्थायी रूपमा बन्द रहेको जनाइएको छ। अब कुनै पनि नयाँ बुकिङ नलिइने पनि वेबसाइटमा उल्लेख छ। अर्को सूचना नआएसम्म होटल बन्दै रहने हायात रेजेन्सीले उल्लेख गरेको छ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते हायात रेजेन्सीमा पनि तोडफोड लुटपाट र आगजनी भएको थियो। त्यहाँबाट मदिराका बोतल र अन्य सामान लिएर निस्किएका मानिसहरूको भिडियो सामाजिक सञ्जालमा पनि आएका छन्। लुटपाटपछि आगजनी पनि हुँदा हायात रेजेन्सीको भवनमा क्षति पुगेको छ।