यो साता उकालोमा अवलोकनकर्ता पर्खिरहेको देवकोटा संग्रहालय, कांग्रेसको त्यो विशेष महाधिवेशन, मधेश केन्द्रित दलः एकताभन्दा फुटको लामो इतिहास लगायतका समाचार चर्चामा रहे।
यो सालको तिहार सकिएको छ। उकालोमा यो साता प्रकाशित तिहारविशेष समाचारका साथै राजनीतिक, आर्थिक समाचारहरू पनि चर्चामा रहे। न्युजलेटर शुरू गरौँ लक्ष्मीपूजाको दिन प्रकाशित देवकोटा संग्रहालयको समाचारबाट।
मैतिदेवीस्थित शास्त्रीमार्ग हुँदै पुगिन्छ महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति संग्रहालय। यो स्मृति संग्रहालय कुनै समय देवकोटाको घर थियो। यो घरमा देवकोटाले आफ्नो जीवनको उत्तरार्द्ध बिताएका थिए।
देवकोटाको घर एक दशकदेखि रिक्त थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका अनुसार, यो घर २००० सालमा बनेको थियो। २०७२ सालको भूकम्पले घरमा क्षति पुर्याएको थियो। घर जीर्ण भए पनि भत्किएको थिएन। उक्त घरलाई भत्काएर नयाँ भवन बनाइएको छ। त्यही भवनमा स्मृति संग्रहालय छ।
२०७६ सालमा सरकारले साढे २ करोडमा खरिद गरी घर र जग्गालाई राष्ट्रियकरण गरेको थियो। देवकोटाको घर संरक्षणकै लागि सरकारले किनेको थियो।
संग्रहालय बनाउनका लागि भन्दै प्रज्ञा प्रतिष्ठानले घर भत्काएर नयाँ बनाउने भएपछि विवाद भएको थियो। कतिपय सम्पदाकर्मी र अभियन्ताले घर भत्काउनु नपर्ने जनाएका थिए। देवकोटाको सो घरलाई रेट्रोफिटिङ (सबलीकरण) मार्फत जस्ताको तस्तै प्रयोग गर्न सकिने विज्ञहरूको मत थियो।
प्रज्ञा प्रतिष्ठानले प्राविधिक अध्ययनपश्चात घर मक्किएको, काठ धमिरा लागेको बताउँदै अन्ततः पुनर्निर्माणका लागि भत्कायो। संग्रहालय स्थापना भएको तीन वर्ष बितिसक्दा अवलोकनकर्ता फाट्टफुट्ट मात्र पुग्ने गरेका छन्। यसबारे थपबुझ्न पढ्नुहोस् प्रबिता श्रेष्ठको रिपोर्ट :अवलोकनकर्ता पर्खिरहेको देवकोटा संग्रहालय (भिडियोसहित)
अब कुरा गरौँ नेपाली कांग्रेसमा छलफल भइरहेको विशेष महाधिवेशनबारे। जेन–जी आन्दोलनपछि कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर सक्रिय छन्। विशेष महाधिवेशन माग गर्न आवश्यक ४० प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्। तर कांग्रेसले चुनावका लागि तोकिएको फागुन २१ गतेअघि नै विशेष वा नियमित महाधिवेशन गर्ने सम्बन्धमा निर्णय गरिसकेको छैन।
बरु, विशेष महाधिवेशन माग गरिरहेका नेताहरूले नेतृत्वप्रति असन्तुष्टि पोख्न थालेका छन्। गुरूराज घिमिरेलगायत नेताहरूले पत्रकार सम्मेलन गरी केन्द्रीय कार्यसमिति आफ्नै म्याद थप्न सक्रिय भइरहेको आरोप समेत लगाए।
उनीहरूले प्रस्तुत गरेको ध्यानाकर्षणमा भनिएको छ, “विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयनतर्फ अघि बढ्न आग्रह गर्दछौँ। ...पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिले पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको छ।”
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि मंसिरसम्म नियमित वा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन जोड दिइरहेका छन्। उनीहरूकै अगुवाइमै हस्ताक्षर अभियान सञ्चालन भएको हो।
यसअघि, नेपाली कांग्रेसको विशेष महाधिवेशन एकपटक मात्र भएको इतिहास छ। २०१४ सालमा कांग्रेसको विशेष महाधिवेशन हुँदा सुवर्णशमशेर राणा पार्टी सभापति थिए। यो त्यसबेला किन भएको थि कांग्रेसमा विशेष महाधिवेशन यसबारे थप जान्न किरण दहालको रिपोर्ट पढ्नुहोस् : नेपाली कांग्रेसले २०१४ सालमा गरेको त्यो विशेष महाधिवेशन
साताका प्रमुख हेडलाइनहरू:
देश-समाज
भारतमा ‘जीएसटी स्ल्याब’ फेरिँदा नेपालमा कस्तो असर पर्छ?
महँगीबाट राहत दिने उद्देश्यले भारतको संघीय सरकारले लागू गरेको करको नयाँ दायराले त्यहाँ दैनिक उपभोग्य र अन्य वस्तुको मूल्य घट्दा नेपालमा हुनसक्ने चोरीपैठारी र अन्य प्रभावबारे प्रश्न उठ्न थालेको छ।
मधेश केन्द्रित दलः एकताभन्दा फुटको लामो इतिहास
गजेन्द्रनारायण सिंहले २०४७ सालमा सद्भावना पार्टी स्थापना गरेर मधेश केन्द्रित राजनीति अघि बढाए, तर टुटफुटले सद्भावनासहित मधेश केन्द्रित दल छिन्नभिन्न भइरहे। त्यसको पछिल्लो उदाहरण बनेको छ जनमत पार्टी।
जथाभाबी सडक विस्तारको परिणामः वर्षा लागेपछि पहिरोको त्राहिमाम्
सडक फराकिलो बनाउन जथाभाबी भित्तो खन्दा धेरै ठाउँमा पहिरोको जोखिम बढेको छ। कतै पर्याप्त भौगर्भिक अध्ययन नहुँदा र काटिएको भित्तोमा आधुनिक प्रविधि प्रयोग नहुँदा पनि पहिरो गइरहेको छ।
जीवनशैली
सम्झना 'गौपालक' पिताको–प्यारा गाईबाच्छाको…
पुनर्जन्म हुन्थ्यो, ईश्वर हुन्थे र प्रार्थना (पुकार) को शक्ति हुन्थ्यो भने अर्बौँ वर्षसम्म म ईश्वरसँग पुकारा गरिरहन्थेँ–मेरा ती वनजंगल र गोठका प्यारा साथीहरू फेरि भेटाइदेऊ।
डा. विजया पन्तको प्रयोगशालामा हुर्किंदै गरेका सुनाखरी
डा. विजया पन्तले लोपोन्मुख सुनाखरीलाई प्रयोगशालामा जीवन मात्र दिइरहेकी छैनन्, यसमा लुकेका औषधीय गुण पत्ता लगाएर आर्थिक रूपमा सबल हुने बाटो पनि खोजिरहेकी छन्।
चुस्कीमा उद्यम
घरको भान्सा र पाहुनाको स्वागतमा सीमित चियाले पछिल्ला केही वर्षमा उद्यमको नवीन रूप लिएको छ। राजधानीबाट शुरू भएको ‘चिया ट्रेन्ड’ देशका प्रमुख शहरतिर पनि बिस्तार हुँदै छ।
कुकुरले नटोकेरै पनि लाग्नसक्छ रेबिज, नेपालमा बर्सेनि १०० हाराहारीमा मृत्यु
रेबिजबाट मृत्यु हुनेको संख्या ग्रामीण क्षेत्रमा धेरै छ। जनचेतनाको कमीले गर्दा कुकुरले टोकिसकेपछि वा भाइरसको संसर्गमा आएपछि उपचारमा नजानु नै मृत्युको कारण बन्ने गरेको छ।
कला/संस्कृति
ताला क्वः अर्थात् पोखरीमुनिको ‘पोटरी स्क्वायर’
माटोमा कला हेर्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य हो दक्षिण भक्तपुरको पोटरी स्क्वायर। तर, रैथाने नेवारी समुदाय बसोबास गर्दै आएको यस ठाउँको नाम कसरी अंग्रेजीमा रहन गयो, के हो खास नाम?
असन क्षेत्रमा कमलको व्यापार, यस्तो छ धार्मिक विश्वास
तिहारका बेला असन, इन्द्रचोक लगायत व्यापारिक क्षेत्रमा कमलको निकै व्यापार हुन्छ। हिन्दू धर्ममा भगवान लक्ष्मीको प्रिय फूल मानिने कमललाई धन, पवित्रता र सौभाग्यको प्रतीकका रूपमा चढाउने गरिन्छ।
विचार-टिप्पणी
देशले के पायो, के गुमायो?
असक्षम, अधिनायकवादी, अहंकारी तथा झुटलाई सत्य साबित गर्न माहिर ओलीको शासन शैलीबाट देशवासी वाक्कदिक्क भइसकेका थिए। ओली भने ‘सरकार तोपले प्रहार गरे पनि नढल्ने’ भन्दै डुक्रँदै थिए।
फैलँदो सर्वसत्तावाद: प्रतिरोध गरौँ
औपनिवेशिक धनको मैमत्तामा हुर्किएको पश्चिमा सभ्यताले फैलाएको हो यस्तो घृणा। खासमा भन्दा एङ्लो–याङ्की विचार अनैतिक रूपले नाफाको लालच बोकेर विज्ञान प्रविधिमाथि कब्जा जमाउनतिर लागेको छ।
खेल
नेपाली महिला फुटबल टोली आज इरानसँग खेल्दै
त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ। भारतको सिलोङमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे शुरू हुनेछ।
नेपाली टोलीको नेतृत्व सावित्री भण्डारी साम्बाले गर्नेछिन्। विदेशमा व्यवसायिक लिग खेलिरहेकी उनी यही प्रतियोगिताका लागि फर्किएकी हुन्।
विश्व
थाइल्यान्डकी पूर्वप्रधानमन्त्री पेटोङटार्नले दिइन् पार्टी नेतृत्वबाट राजीनामा
उनको यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सनई टाकाइची
संसद्को दुवै सदनबाट बहुमत पाएपछि एलडीपी नेतृ सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री भएकी छन्। उनले मंगलबार साँझ सपथ लिने छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
