आन्तरिक पर्यटन प्रवर्द्धनको अवसर बनाऊँ दशैँ तिहारलाई

देशमा केही भएको छैन भनेर निराशाको बाँसुरी बजाउनेहरू धेरै छन्, तर मैले आशाका ध्वनिहरू पनि सुने; देश बिस्तारै बन्दैछ; पूर्वाधारहरू निर्माण हुँदैछन्।

यस वर्षको दशैँँ धेरै मानेमा सम्झन लायक भयो। असोज १६ गते काठमाडौँमा बुवा आमासँग परिवारका सबै सदस्यले टिका र आशीर्वाद ग्रहण गरियो। भोलिपल्टै बुटवल लागियो। म जन्मेको धर्ती टेकाउनु थियो छोराछोरीलाई। सधैँ लोकसेवा तयारी गरिरहनुपर्ने अनि पेसाको कारण कहिले मुलुकभित्र त कहिले मुलुकबाहिर हुनुपर्ने बाध्यताले आफू जन्मेको भूमि स्वयम् पनि करिब दुई दशकसम्म जान पाएको थिइनँ। त्यसैले गाउँसँग न्यास्रिएको थिएँ। आफू जन्मेको धर्ती टेक्दै माटोको सुवास लिने उत्कट इच्छा थियो।  पहिला जागिरमा कसरी छिर्ने पीडा थियो, पछि जागिरले पीडा थप्न थाल्यो। भित्रभित्रै जन्मस्थल पुग्ने कति रहर थियो– खुलस्त भन्न सकिरहेको थिइनँ।

ठूलो पानी पर्ने र लुम्बिनी प्रदेशसम्मै वर्षा हुने भन्ने खालका समाचारहरू बुटवल पुग्दासम्मै आइरहे। आकाश पनि बादलमय भएकोले थप एक दिन हामी बुटवलमै रहेर लक्षण हेर्ने निधो गर्‍यौँ। पहाडको बाटोमा केटाकेटीसँगै यात्रा गर्दा जोखिम लिनु गलत हुनसक्थ्यो। गएकै दिन भैरहवा विमानस्थलबाट निस्किएपछि सिधै लुम्बिनी भ्रमणमा लागियो। छोरी पहिले पनि पुगे कि भए पनि छोराको पहिलो भ्रमण थियो लुम्बिनीको। अनेकन् देशले आफ्नो परम्परागत मान्यताअनुसार बनाएका चैत्यसँगै मायादेवी मन्दिर, विश्व शान्ति स्तूपलगायत अवलोकन गरेर साँझ बुटवल फर्कियौँ।

१९ गते बुटवलबाट सन्धिखर्क हुँदै गुल्मी-पुर्कोट दहको बाटो भएर यात्रा सुरु गर्‍यौँ। अर्घाखाँचीको सुपादेउराली मन्दिर मात्र के पार गरेका थियौँ, हामी चढेको गाडीको ब्रेक फेल भयो। उकालो, त्यसमाथि मन्दिर वरपर गाडीको जाम र गाडीको गति कम भएकोले हामी ठूलो दुर्घटनाबाट जोगियौँ। सन्धिखर्क आएर गाडीको ब्रेक बनाएर अघि बढ्यौँ। योजनाभन्दा तीन घण्टा ढिला यात्राको कारण बन्यो बिग्रेको गाडी। तर सन्धिखर्कमा गाडी मर्मत गर्दै गर्दा एक आफन्तसँग भेटघाट गर्ने अवसर पनि जुर्‍यो। पहाडको काँक्रोको स्वाद लिइयो र लागियो मदानेतर्फ।

पहाडतिर बाटोको सञ्जाल सबैतिर पुगेको देख्दा बाल्यकालको पैदलयात्राको दु:खकष्ट झलझली याद आयो। किताब कापी तथा नुन मट्टितेल किन्न सदरमुकाम वा नजिकका बजार जाँदा-आउँदा पूरै दिन बिताउनु पर्थ्यो। अहिले भने आफै बुटवलबाट एकै दिनमा जन्मस्थान जाँदै थिएँ। विकासले साँच्चै फड्को मार्दै छ गाउँघरतिर।

यो सबै आफ्नै आँखा अगाडी देखिरहँदा मलाई केही समयअघि पढेको राधिका शाक्यको 'करुणा' पुस्तकमा उल्लेखित हरफ याद आयो, जसमा उल्लेख छ—देशमा केही भएको छैन भनेर निराशाको बाँसुरी बजाउनेहरू धेरै छन्, तर मैले आशाका ध्वनिहरू पनि सुने; देश बिस्तारै बन्दैछ; पूर्वाधारहरू निर्माण हुँदैछन्। सोचे जति भएको छैन होला तर ठ्याक्कै नभएको भने हैन; गाँउगाँउमा सडक पुगेका छन्; स्वास्थ्यचौकी भवनहरू बनेका छन्। सामुदायिक विद्यालयका भवनहरू व्यवस्थित भएका छन्; खानेपानीको पहुँच विस्तार भएको छ तर गाउँमा बस्ने मान्छेहरू घटिरहेका छन्; हिजो अवसर थिएन, मानिसहरू अवसरको खोजीमा सहरदेखि विदेश भौँतारिए; अहिले गाउँमा निर्माण  हुँदै गएका अवसरहरूले मान्छे खोज्दा मान्छे नभेटिने अवस्था हुँदैछ।   

दिनहरू छोटा हुँदै गएका थिए। घाम अस्ताएपछि छिनभरमै साँझ ओर्लिए पहाडमा। त्यसमाथि, पहाडको खोँचमा हुने गाउँवस्ती त तीन/चार बजे नै अलिअलि अँध्यारो हुन थालिहाल्ने! झिसमिसे साँझ (साढे पाँचतिर) आफ्नो गाउँ टेक्न पुग्यौँ। घरबारी तल सुसाइरहेको पनाहा खोलाको आवाजले बाल्यकालका सम्झना ताजा भए। आफ्नो बाउ जन्मे/हुर्केको घर देख्दा छोराछोरी खुसी भए। तिनले दिमागमा कस्ता कल्पना गरे होलान् भन्ने मनमा लागिरह्यो।  

जन्मस्थलमा बस्न हामीसँग उति समय थिएन। आजको हाम्रो बास त्यहाँबाट गाडीमा एक घण्टा पर रहेको मेरो मामाघर थियो। सम्झनाका लागि केही फोटो खिचेर हामी घरबाट बिदा भयौँ। मनमा आनन्द तथा पीडाका भाव एकाकार भए। अहिले पहिले जत्ति शंख्यामा मानिसको उपस्थिति छैन गाउँमा। धेरैजसो खेतीयोग्य जमिन, त्यसमा पनि खेतहरू बाँझै देख्दा र सुन्दा मनै चसक्क हुने!

पहिला गाउँसँग न्यूनतम आवश्यकता थिए। अैँचोपैँचो चल्थ्यो। आफ्नै खेतबारीमा फलाएका खानेहरू प्रशस्त थिए। नुन, चिनी, जिरामसला र मट्टितेलबाहेक अरू खासै किन्ने अभ्यास कम थियो। तर आज सबै सामग्री किन्नुपर्ने भएको छ, गाउँसँग उत्पादन अत्यन्त कम छ। गाउँको अर्थतन्त्र धेरै परनिर्भर भइसकेको छ। त्यससँगै खुसीको खबर यस मानेमा छ कि कमसेकम सवारी पुगेका गाउँमा उत्पादित/निर्मित सामानले मूल्य पाउन थालेका छन्। गाउँले दाइ भन्दै थिए कि यो वर्ष उनले सल्लाको काठ नै करिब एक लाखको बिक्री गरे।

गाउँमा विकाससँगै सरसफाइ तथा जीवनशैलीमा पनि व्यापक सुधार आएको रहेछ। हाम्रा पालामा सलेदो हालेको टुकीमा कपाल डढाउँदै पढियो। अहिले गाउँघर बिजुलीले झलमल छन्। एकतर्फबाट सोच्दा गाउँ आज स्वर्गजस्ता भएका छन्। गाउँको पानी नै मिठो, हावामै महक! 

एक घण्टाको गाडी यात्रापछि हामी धुर्कोट गाउँपालिकाअन्तर्गत पर्ने वाग्लास्थित मामाघर पुगियो। धेरै वर्षपछि हजुरआमाको दर्शन गरियो। नाजुक स्वास्थ्यकी ८८ वर्षीया हजुरआमालाई भेट् पाउँदा हामी गद्‍गद् भयौँ।

भोलिपल्ट बुटवलतर्फ जानु थियो।

वाग्ला धुर्कोट हुँदै यात्रा अगाडि बढिरहेको छ। धुर्कोटबाट अगाडी बढेसँगै सबैजसो सडक पक्की बनिसकेको रहेछ। स्थानीय तहको सक्रियता हो पक्कै। आफू सानो हुँदा पैदलै घरदेखि तम्घाससम्म यात्रा गरेको याद आयो। तम्घास आएपछि हाम्रो उद्देश्य थियो–रेसुङ्गा मन्दिर जाने। बजारबाट केही दुरीसम्म गाडी जाने पक्की सडक रहेछ। त्यसपछि त १२६५ वटा सिँढी चढ्नुपर्ने रहेछ यहाँस्थित टावर पुग्न। मन्दिरसम्म पुग्नचाहिँ करिब एक हजार सिँढी चढ्नुपर्ने।

यति धेरै सिँढी चढ्न जाँगर मान्नुभएन हाम्रा सवारी चालक। छोराछोरीलाई फकाई फकाइ हिँडाइयो। थकाइ मार्दै, पानी पिउँदै सिँढी चढियो। मन्दिरबाट केही माथि टावर पनि पुगियो। सदरमुकामसँगै रहेर पनि चाहिने जति प्रचारप्रसार नभएको ठाउँझैँ लाग्यो रेसुङ्गा। मौसम सफा हुँदा यहाँबाट भारतको गोरखपुरसम्म देखिन्छ भन्दै थिए केही यात्रु। जे होस्, यहाँ धार्मिक तथा साहसिक पर्यटनको ठूलो सम्भावना छ। त्रेता युगमा महर्षि ऋषि शृङ्गले यहाँ आश्रम बनाई साधना गरेकाले उनै ऋषिको नामबाट यस ठाउँ/क्षेत्रलाई रेसुङ्गा भनिएको भन्ने लोकोक्ति छ। यहाँ अझै व्यवस्थित ट्रेकिङ रुट बनाएर तम्घास बजारदेखि टावरसम्म जाने आउने बनाउन सकिन्छ। प्याराग्लाइडिङको पनि सम्भावना छँदैछ। धार्मिक पर्यटनका लागि त प्रचारकै आवश्यकता मात्र हो।

रेसुङ्गा जाँदै गर्दा महापोखरी, शशिधर स्वामीको आश्रम, पशुपति मन्दिर, भोलेबाबा मन्दिर, सानो रेसुङ्गा, गरुडस्थान, रामकुवा, रेसुङ्गा यज्ञशाला, राधाकृष्ण मन्दिर, सिद्वस्थान, गोशाला, विष्णुपादुका र शिवालय मन्दिर, राधाकृष्ण मन्दिर (गोशाला), प्रभु ठाकुरप्रसाद आश्रम/मैरा, सावनी (साउने शिवालय), सिताराम मन्दिर, मनकामना मन्दिर तथा मझिम आश्रमले विशेष गरी सांस्कृतिक महिमा र धार्मिक पर्यटकका लागि महत्त्वपूर्ण अवलोकन स्थल हुन्। साहसिक तथा मनोरञ्जनात्मक उद्देश्य राख्ने पर्यटकका लागि रेसुङ्गा पार्क, हाइकिङ, रेसुङ्गा टावरले आकर्षित गर्छ।

तम्घास बजार पहिलेभन्दा सफा र सुन्दर भएझैँ लाग्यो। रेसुङ्गा घुमेर रानी महलमा आएर  खाना खाने योजना थियो, तर बलेटक्सारमा आएर खाना खायौँ र रिडीमा आएर तीन मुखे झोलुङ्गे पुलमा आएर रोकियौँ। तीन जिल्लाको संगम भएको उक्त पुल तर्ने अवसर मिलेको थिएन। गाडी रोकेर स्याङ्जासम्मको भूमिमा पाइला टेक्ने अवसर यसै यात्राले दिलायो।

घुम्न बाँकी ठाउँ थियो रानीमहल।

सधैँ लोकसेवा परीक्षाको तयारीका क्रममा पढेको तर जान नजुरेको रानी महल यस पटक जसरी पनि घुमौँ भन्ने लाग्यो। रिडी कटेपछि काली गण्डकी कोरिडोरको बाटो आउँदो रहेछ। बाटो पिच भएको, नबिग्रिएको। चार बजेतिर हामी रानी महल पुग्यौँ। महल छेउकै होटेल आफन्तको थियो। महल घुमिफिरी सोही होटेलमा हल्का चियानास्ता गरियो।

मिथिला शर्मा र गौरी मल्ललगायतले अभिनय गरेको नेपाली चलचित्र कठपुतलीको यहाँसमेत सुटिङ भएको भन्दै छोरीहरूले यसको बखान गर्दै थिए। उ जमानामा खड्गशमशेर राणाले चट्टानमाथि भव्य महल बनाएका रहेछन्–रानी तेजकुमारीको सम्झनामा। यहाँ भारतदेखि पर्यटक आएका देखिए। नगरपालिकाले प्रवेश शुल्क पनि तोकेको रहेछ, जुन अलि बढीजस्तो लाग्यो। यहाँको भ्रमणपश्चात् फोटो खिचेर हामी बुटवल आयौँ। 

साँझ बुटवल आएर बास बसियो। बुटवल आउने क्रममा सिद्वबाबामा निर्माणाधीन सुरुङ पनि हेर्ने अवसर प्राप्त भयो। तर सुरुङ निर्माणबारे जनमानसमा फरक मागहरू रहेछन्। सिद्वबाबाको सबै जोखिमयुक्त क्षेत्र समेटेन भन्दै भनेर बुटवल-सिद्वबाबाबाट सुरुङ सुरु हुनुपर्थ्यो समेत भन्दै थिए कतिपय मान्छे। खयर, निर्माण कार्य धमाधम भइरहेको थियो। तीन वटा आपतकालिन मार्ग (बाहिर निस्कने वैकल्पिक व्यवस्था) सहितको करिब १२ सय मिटर लामो सुरुङ रहेछ यो।

बुटवल आइसकेपछि काठमाडौँ फर्कने टिकट पाउनु महाभारत पर्‍यो। टिकट नपाएर बुटवलको बसाइ थप दुई दिन लम्बिने भयो। तर राम्रै भयो, यसले देश दर्शनमा योगदानै गर्‍यो। दुई दिनमा एक दिन आफन्तहरूसँग भेटघाटमा बिताउने र बाँकी एक घुम्ने विचार गरियो।

सोही बमोजिम एक दिन वसन्तपुर घुम्न गयौँ। पाल्पा जिल्लामा पर्ने तर बुटवलबाट लुम्बिनी केबलकारमा पुगिने यो ठाउँ गर्मी छल्न उत्तम विकल्प रहेछ। करिब २.६ किलोमिटर लामो केबलकारबाट पुगिने रहेछ। केबुलकारबाट उत्रेपछिको धेरैको गन्तव्य दुर्गा मन्दिर र कामाख्या मन्दिर हुने रहेछ। जिपलाइन, स्वीङ, स्काई साइक्लिङलगायत मनोरञ्जनात्मक गतिविधि पनि उपलब्ध भएकोले दिन कटाउन गाह्रो भएन। अलि अलि गोरा-विदेशीसँगै भारतीय पर्यटकहरू पनि देखिन्थे। मौसम चिसो हुने भएकोले बुटवल तथा वरपरका बासिन्दालाई गर्मी छल्न गज्जबकै ठाउँ हो यो।

यात्राका लागि अलि चुनौतीपूर्ण थियो यस वर्षको दशैँ। आवश्यक पर्दाबाहेक यात्रा नगर्न सुझाएका थिए मौसम वैज्ञानिकहरूले। त्यसो हुँदाहुँदै पनि जोखिम मोलेर यात्रा गरियो। र, के मनन गरियो भने दशैँ-तिहारको बिदा केबल क्यालेन्डरको रातो अंकमात्र नभई आन्तरिक पर्यटन प्रवर्द्धनलाई बढवा दिने  अवसर पनि हो। चाडबाडका भेटघाट छँदैछ, अरू पर्वभन्दा धेरै लामो बिदा हुने यी अवसरलाई आन्तरिक पर्यटनको मौकाका रूपमा पनि लिनु आवश्यक छ। स्थानीयले रोजगारी पाउने, अन्य देशको पर्यटनमा खर्च हुने पैसा देशभित्रै चलायमान हुने।

कतिपय नेपालीले त्यस्तो अभ्यास थालेका छन्। दशैँतिहारको निहुँमा शहरमा धेरै मानिस गाउँ जाने, गाउँका शहर आउने तथा बजार चलायमान हुने यसको अर्थ राजनीति त ठुलै छ, तर दशैं-तिहार केन्द्रित पर्यटनबारे यात्रु, तिर्थालु र पर्यटन व्यवसायीहरूले पनि योजनाहरू बनाउनु उचित हुनेछ।