जापानका पूर्वप्रधानमन्त्री मुरयामाको १०१ वर्षको उमेरमा निधन

दोस्रो विश्वयुद्धमा जापानले एशियाली देशमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण मुरयामा विशेष रूपमा चिनिएका थिए।

जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन भएको छ। सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले मुरयामाको शुक्रबार बिहान ओइटा सिटीस्थित अस्पतालमा निधन भएको जानकारी दिइन्।  

मुरयामाको गृहनगर ओइटाका सोसल डेमोक्रेटिक पार्टीका महासचिव हिरोयुकी टाकानोले मुरयामाको बुढ्यौलीका कारण निधन भएको पुष्टि गरेका छन्। 

दोस्रो विश्वयुद्धमा जापानले एशियाली देशमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण उनी विशेष रूपमा चिनिएका थिए। 

“जापानले आफ्नो औपनिवेशिक शासन र आक्रामकताका माध्यमबाट धेरै देशका मानिसलाई, विशेष गरी एशियाली मुलुकका नागरिकलाई, ठूलो क्षति र पीडा पुर्‍यायो,” मुरयामाले सन् १९९५ मा जापानको आत्मसमर्पणको ५०औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको प्रसिद्ध वक्तव्यमा भनेका थिए, “भविष्यमा यस्ता गल्ती दोहोरिन नदिनका लागि, म गहिरो नम्रता र पश्चातापका साथ इतिहासका यी अकाट्य सत्यलाई सम्मान गर्छु र हार्दिक माफी प्रकट गर्छु।”

यो वक्तव्य जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराधबारे पछिल्ला वर्षमा माफी माग्ने क्रममा अपनाइने एउटा स्थायी मापदण्ड बन्यो । त्यसपछि आएका प्रधानमन्त्रीले पनि युद्धका ६०औँ र ७०औँ वार्षिकोत्सवमा ‘गहिरो पश्चाताप’ र ‘हार्दिक माफी’ जस्ता शब्द प्रयोग गर्दै मुरयामाको भावना दोहोर्‍याएका थिए।

घना आँखीभौँका कारण पनि परिचित मुरयामाले जापानको युद्धपछिको प्रमुख राजनीतिक शक्ति लिबरल डेमोक्रेटिक पार्टीसमेत समावेश भएको गठबन्धन सरकारको नेतृत्व गरेका थिए।  

उनी १९९४ देखि १९९६ सम्म जापानको प्रधानमन्त्री रहे। उनको कार्यकाल जापानका लागि चुनौतीपूर्ण रह्यो। सन् १९९५ मा पश्चिमी जापानमा विनाशकारी भूकम्प आयो र त्यही वर्ष टोकियोको सबवेमा सारिन ग्यास आक्रमण भयो, जसमा दर्जनौँ नागरिकको मृत्यु र करिब पाँच हजार ८०० जना घाइते भएका थिए।

मुरयामाले आफ्नो जीवनको प्रारम्भिक चरणमा पनि जापानको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राखेका थिए। सन् १९४४ मा विश्वविद्यालयमा अध्ययनरत रहँदै उनी जापानी शाही सेनामा भर्ती भएका थिए। सन् २०१५ मा जापानको सार्वजनिक प्रसारक एनएचकेसँगको अन्तर्वार्तामा उनले सेनामा बिताएको समयबारे स्मरण गर्दै त्यहाँ विद्रोह वा तर्क गर्न पूर्ण रूपमा निषेध गरिएको बताएका थिए। 

उनले युद्धको अन्त्यतिरको कठोर अवस्थाको पनि सम्झना गरेका थिए। “त्यो समयसम्म खानाको निकै अभाव थियो, हतियार पनि समाप्त प्रायः भइसकेका थिए। हामीसँग बाँसबाट बनेका हतियार मात्र बाँकी थिए। यस्तो अवस्थामा हामी कसरी युद्ध गर्न सक्थ्यौँ भनेर सोच्दा अहिले पनि डर लाग्छ,” उनले भनेका थिए।

जापानको राजनीतिक इतिहासमा तोमिची मुरयामा एक यस्ता नेता रहे जसले नम्रता, आत्मआलोचना र मानवताको पक्षमा आफ्नो दृढता देखाए। उनको निधनलाई जापानी राजनीतिको एउटा युगको अन्त्य भएको रूपमा लिइएको छ। (रासस/एएफपी)