ईयूमा १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

युरोपेली सांसदहरूले अवाञ्छित अनलाइन सामग्रीबाट बालबालिकालाई जोगाउन अभिभावकको सहमतिबिना सामाजिक सञ्जाल र एआईमा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका छन्।

युरोपेली सांसदहरूले बिहीबार असुरक्षित अनलाइन सामग्रीबाट बालबालिकालाई जोगाउन अभिभावकको सहमतिबिना सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता (एआई) मा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका छन्।

युरोपेली संसद्को आन्तरिक बजार तथा उपभोक्ता संरक्षण समितिले पारित गरेको प्रतिवेदनमा सांसदहरूले १३ वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकालाई अभिभावकको अनुमतिबिना सामाजिक सञ्जालमा पहुँच गर्न नदिन सिफारिस गरेका हुन्।

समितिले डिजिटल सेवा ऐन (डीएसए)अन्तर्गत नाबालिगहरूको सुरक्षा गर्ने युरोपेली नियमहरूको उल्लंघन गर्ने प्लेटफर्महरूमाथि जरिबाना र प्रतिबन्धका लागि पनि आह्वान गरेको छ। पछिल्लो समय बच्चाहरूको मानसिक स्वास्थ्य र सुरक्षामा अनलाइन प्रविधिहरूको प्रभावको बारेमा चिन्ता बढेको छ।

“हामीलाई सामाजिक सञ्जालको पहुँचको लागि उच्च नियन्त्रण चाहिन्छ,” डेनिस ईयू सांसद क्रिस्टेल शाल्डेमोसले भनिन्। पहलको नेतृत्व गरेकी शाल्डेमोसले अनलाइन सेवाहरू प्रयोग गर्ने नाबालिगहरूका लागि कडा सुरक्षा उपायहरू आवश्यक भएको बताइन्।

अवाञ्छित सामग्रीको पहुँच रोक्नका लागि सांसदहरूले नाबालिगहरूलाई नकारात्मक प्रभाव पार्ने एल्गोरिदममाथि प्रतिबन्ध लगाउने, लत लाग्ने सामग्रीको प्रयोगमा नियन्त्रण गर्ने, बच्चाहरूका लागि पहुँचयोग्य अनलाइन जुवाजस्ता खेलहरूलाई निषेध गर्ने प्रस्ताव गरेका छन्।

रिपोर्टमा भनिएको छ, “कुनै पनि अनलाइन प्लेटफर्महरूले नाबालिगलाई नकारात्मक प्रभाव पार्ने सामग्री सिर्जना गर्न र प्रयोगका लागि प्रोत्साहित गर्ने काम रोक्नु पर्छ।”

भारी बहुमतले समितिमा पारित गरिएको यो प्रस्तावलाई नोभेम्बर २४ र २७ को बीचमा पूर्ण संसद्को पूर्ण सत्रमा मतदानका लागि पेश गरिने छ। सांसदको यो प्रस्तावले बढ्दो डिजिटल पहुँचलाई नियमन गर्ने र बालबालिकाको लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउन ईयूव्यापी पहललाई टेवा प्रदान गर्नेछ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले व्यक्तिगत रूपमा यस्तो कदमको समर्थन गर्दै ईयूस्तरमा के कदम चाल्न सकिन्छ भनेर एक विशेषज्ञ प्यानलले वर्षको अन्त्यसम्म रिपोर्ट गर्ने बताएकी छन्।

नर्वे र आइसल्याण्डसँगै ईयूका २७ मध्ये २५ देशहरूले यस महिना एक घोषणापत्रमा हस्ताक्षर गर्दै भोन डेर लेयनको सम्भावित ब्लक–व्यापी डिजिटल बहुमत उमेरको अध्ययन गर्ने योजनालाई समर्थन गरेका छन्।