नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम सामान्य बढ्यो

बिहीबार नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.४० अंकले घटेर २४८७.१७ को विन्दुमा झरेको छ।

यससँगै नेप्से तीन कारोबार दिन लगातार ओरालो लागेर बन्द भएको हो। यसअघि नेप्से परिसूचक बुधबार २२.५८ अंकले र मंगलबार १९.४३ अंकले घटेको थियो। 

नेप्से घटे पनि यस दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। बिहीबार कुल ३११ स्टकको तीन अर्ब २७ करोड ५४ हजारको शेयर कारोबार भएको छ। यस दिन ३६ हजार ५३१ पटकको कारोबारबाट ७६ लाख ४३ हजार कित्ता शेयर खरिद-बिक्री भएको थियो। यसअघि, बुधबार बजारमा तीन अर्ब १० करोडको कारोबार भएको थियो।

यस दिन सेन्सेटिभ इन्डेक्स १.७३ अंक, फ्लोट इन्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६२ अंकले घटेका छन्।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक मात्र बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ र म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२१ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

यस दिन हिमालयन पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य ४२ रुपैयाँले बढेर प्रतिकित्ता ४६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता २०८.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस दिन मुक्तिनाथ विकास बैंक, नेपाल रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्टक्चरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।