मधेश प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्रप्रसाद सोनल मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

काठमाडाैँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल आज मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। नयाँ नेतृत्वका लागि आज दिउँसो ४ः०० बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोकेकामा बिहान कांग्रेस एमालेबाहेकको ६ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरिन्।

सोनलले लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।

संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पुर्‍याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।