पहिलो चरणमा हमासले रिहा गर्‍यो ७ इजरायली बन्धक

इजरायलका लागि नेपालका राजदूतले सोमबार रिहा हुने जीवित २० बन्धकको सूचीमा विपिन जोशीको नाम नरहेको बताएका छन्।

काठमाडाैँ–  हमासको नियन्त्रणमा रहेकामध्ये सोमबार पहिलो चरणमा रिहा भएका सात बन्धकलाई रेडक्रसले इजरायली सेना (आईडीएफ)लाई सुम्पेको छ।

इजरायली मिडियाका अनुसार हमासले सात इजरायली बन्धकहरूलाई उत्तरी गाजामा रेडक्रसका अधिकारीहरूलाई हस्तान्तरण गरेका थिए। आईडीएफले उनीहरूलाई इजरायल ल्याइँदै गरेको बताएको छ।

इजरायली विदेश मन्त्रालयले सात बन्धकहरूको नाम सार्वजनिक गरेको छ र तीमध्ये एकको तस्वीर पनि साझा गरेको छ। यसको बदलामा इजरायलले प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्नेछ।

इजरायलका लागि नेपालका राजदूतले सोमबार रिहा हुने जीवित २० बन्धकमा विपिन जोशीको नाम समावेश नभएको बताएका छन्।

नेपाली विद्यार्थी विपिनलाई अक्टोबर ७, २०२३ मा अन्य इजरायली नागरिकहरूसँगै हमासले बन्धक बनाएको थियो। उनलाई बन्धक बनाएको भिडियो केही दिनअघि सार्वजनिक भएपछि विपिन सकुशल रहेको आशा छाएको थियो।

त्यसपछि पनि हमासको नियन्त्रणमा रहेका ४८ जना बन्धकमध्ये २० जीवित, २६ मृत रहेको तथा विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको खबर आयो। अहिले भने इजरायली सेनाले विपिन जीवित नरहेको जनाएको छ।

राजदूत धनप्रसाद पण्डितले विपिन जीवित नरहेकोबारे इजरायली सेनाले विपिनको परिवारलाई पनि खबर गरिसकेको बीबीसीसँग बताएका छन्।