घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार दशैँको घटस्थापनायता आजसम्म काठमाडौँ उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन् भने १८८ जना घाइते भएका छन्।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– दशैँको घटस्थापनादेखि आइतबारसम्म काठमाडौँ उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन्। 

दुर्घटनामा परी १८८ जना गम्भीर घाइते भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार अधिकांश दुर्घटना रातिको समयमा भएका छन्।

ट्राफिक प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यस वर्ष काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा निकै कमी आएको प्रवक्ता सुवेदीले बताए। उनले ट्राफिक प्रहरीले दशैँ शुरू हुनुअघिदेखि नै सवारीसाधनको जाँचलाई कडाइ गरेको बताए। 

“मापसे (मादकपदार्थ सेवन) जाँच, चालक अनुमतिपत्रको निरीक्षण तथा गति सीमामा ध्यान दिने कुरामा पनि हाम्रो ट्राफिक प्रहरी सक्रिय थियो,” उनले भने।

ट्राफिक प्रहरीले सवारीसाधन चालकलाई विशेषगरी रातिको समयमा चलाउँदा सावधानी अपनाउन, मादक पदार्थ सेवन नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यात्राका लागि सवारी जाँचलाई समर्थन गर्न आह्वान गरेको छ।

रातिको समयमा सडक सुनसान हुने, चालकले सावधानी नअपनाउने र कतिपय अवस्थामा नशाको अवस्थामा तीव्र गतिमा गाडी चलाउनेजस्ता कारणले दुर्घटनाको जोखिम बढ्ने गरेको प्रवक्ता सुवेदीको भनाइ छ। यसैले चाडपर्वमा रमाइलो गरेर राति घर फर्कनेको चाप, रमाइलो गर्ने उत्साह र समयको हतारोले गर्दा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले उपत्यका ट्राफिक प्रहरीले नागरिकलाई अझ बढी सतर्क रहन आग्रह गरेको छ।