प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि टोलीको तयारी भइरहेको र अवस्था सुरक्षित भएपछि ती टोलीहरू तैनाथ गरिने सरकारले जनाएको छ।
दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि उक्त क्षेत्रमा सुनामीको चेतावनी दिइए पनि उत्पन्न खतरा समाप्त भएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ।
प्रारम्भिक रूपमा इन्डोनेसिया र फिलिपिन्सका केही तटीय क्षेत्रमा साना छाल भने देखिएका थिए। जसमा इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वारको स्तर करिब १७ सेन्टिमिटर माथि पुगेको बताइएको छ।
होनोलुलुस्थित केन्द्रका अनुसार भूकम्पपछिका करिब दुई घण्टासम्म समुद्रमा हल्का उतारचढाव भइरहने सम्भावना भने कायम छ।
भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन भइरहेको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले जनाएका छन्। प्रभावित क्षेत्रमा उद्धार र राहत टोलीको तयारी भइरहेको र अवस्था सुरक्षित भएपछि ती टोलीहरू तैनाथ गरिने उनले बताए।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्प दाभाओ ओरिएन्टल प्रान्तको माने शहरबाट करिब ६२ किलोमिटर दक्षिणपूर्वमा समुद्रभित्र १० किलोमिटरको गहिराइमा आएको थियो।
दाभाओ ओरिएन्टलका सरकारी विपद् न्यूनीकरण अधिकारी जुन सावेद्राले यस पटकको भूकम्प विगतको भन्दा निकै शक्तिशाली रहेको बताए। “म कार चलाउँदै थिएँ, अचानक जमिन हल्लियो र पावरलाइनहरू अनियन्त्रित रूपमा हल्लिँदै गरेको देखेँ,” उनले भने, “बिजुली बन्द भएपछि मानिस घर र भवनबाट बाहिर भागे।”
सावेद्राका अनुसार भूकम्पले विद्यालयसहित धेरै भवनमा चिरा पारेको छ। भूकम्पका कारण बेहोस भएका कम्तीमा ५० विद्यार्थीलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ। मानेबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको जेनेरोसो शहरमा समेत सबै तहका कक्षा स्थगित गरिएका छन्।
करिब ५४ लाख जनसंख्या भएको डाभाओ शहरमा समेत विद्यालय खाली गरिएका छन्। यो शहर भूकम्पको केन्द्र नजिकको सबैभन्दा ठूलो नगरी हो, जुन दाभाओ ओरिएन्टल प्रान्तको पश्चिमतर्फ करिब २५० किलोमिटर दूरीमा पर्छ।
होनोलुलुको प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पको केन्द्रबाट ३०० किलोमिटर वरिपरिका तटीय क्षेत्रमा खतरनाक छाल आउन सक्ने चेतावनी दिएको थियो। फिलिपिन्सका केही तटमा सामान्य ज्वारभन्दा तीन मिटर (१० फिट) उचाइसम्म छाल आउन सक्ने र इन्डोनेसिया तथा पलाउमा पनि साना तर उल्लेखनीय छाल देखिन सक्ने जनाइएको थियो।
नागरिक रक्षा उपप्रशासक बर्नार्डो राफेलिटो अलेजान्ड्रो चतुर्थका अनुसार बिहान ९ः४३ बजे भूकम्प आएपछि डाभाओ ओरिएन्टलबाट नजिकका ६ वटा तटीय प्रान्तमा सुनामीको खतरा रहेको भन्दै तत्काल उच्च भूभागतर्फ सर्न र सतर्क रहन आग्रह गरिएको थियो।
“हामी यी तटीय क्षेत्रमा रहेका समुदायहरूलाई अर्को सूचना नआएसम्म उच्च मैदानमा रहन अनुरोध गर्दछौँ,” उनले भिडियो सन्देशमा भनेका छन्। साथै, उनले बन्दरगाह तथा तटीय क्षेत्रमा रहेका डुंगा मालिकलाई आफ्ना डुंगा सुरक्षित राख्न र समुद्र किनाराबाट टाढा रहन आग्रहसमेत गरेका थिए।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान एजेन्सीले उत्तरी सुलावेसी प्रान्तमा ३.५ देखि १७ सेन्टिमिटर उचाइका साना सुनामी छाल देखिएको पुष्टि गरेको छ। स्थानीय बासिन्दालाई समुद्र तथा नदी किनाराबाट टाढा रहन चेतावनीसमेत दिएको छ।
यसअघि सेप्टेम्बर ३० मा फिलिपिन्समा ६.९ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। जसमा ७४ जनाको मृत्यु भएको थियो भने मध्य प्रान्त सेबु, विशेषगरी बोगो शहर र वरपरका क्षेत्रमा हजारौँ मानिस विस्थापित भएका थिए।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ अर्थात् भूकम्पीय र ज्वालामुखी चापमा अवस्थित फिलिपिन्स विश्वका सबैभन्दा विपद्–संवेदनशील देशमध्ये एक हो। यहाँ प्रत्येक वर्ष करिब २० वटा आँधीबेहरी र प्राकृतिक प्रकोप आउने हुँदा सरकार र स्वयंसेवी समूह निरन्तर उद्धार तथा राहत कार्यमा तत्पर रहन्छन्। (रासस/एपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
