एएफसी एशियन कप छनोट: नेपाल भियतनामसँग पराजित

एएफसी एशियन कप छनोटको तेस्रो चरण अन्तर्गतको तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ।

काठमाडौँ– एएफसी एशियन कप छनोटको तेस्रो चरणअन्तर्गतको तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ। भियतनामको हो चि मिन्ह शहरस्थित गो डाउ रंगशालामा भएको खेलमा नेपाल ३–१ को गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा भियतनामले थप दुई गोल गरेको हो। खेलमा शुरुआती अग्रता भियतनामले लिएको थियो। नवौँ मिनेटमा फरवार्ड एनग्युएन टिन लिन्हले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

त्यस्तै, खेलको १७औँ मिनेटमा रोहन कार्कीले प्रहार गरेको फ्रिकिकमा सनिस श्रेष्ठले हेडरमार्फत बराबरी गोल फर्काए।

पहिलो हाफको इन्जुरी समयमा भने नेपाल १० खेलाडीमा सीमित बन्यो। भियतनामको निश्चित गोलको अवसरमा बाधा पुर्‍याएको भन्दै नेपालका लाकेन लिम्बूलाई रातो कार्ड दिइएको थियो।

दोस्रो हाफमा भियतनामले थप दुई गोल गर्‍यो। ६७औँ मिनेटमा सुआन मान र ७२औँ मिनेटमा भान भिले गोल गरेका थिए। नेपाललाई पराजित गर्दै दोस्रो जित दर्ता गरेको भियतनाम ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ। 

मलेसिया लगातार तेस्रो खेल जित्दै ९ अंकका साथ शीर्षस्थानमा कायम छ। नेपालले भने हालसम्म तीन खेल खेल्दा अंकविहीन रहेको छ। अब नेपालले आफ्नो दोस्रो होम म्याच अक्टोबर १४ मा भियतनामसँगै खेल्नेछ।