नागरिक तहमा पार्टी र पार्टी नेतृत्वको यो तहको असफलता, घृणा, बदनाम, तिरस्कार र अस्वीकार्यतापछि पनि नेतृत्व बदल्न सक्नुहुन्न भने राजनीतिको घडा बिसाउनुहोस्।
हामी हिजोसम्म लोकतन्त्रमा थियौँ कि लुटतन्त्रमा? सरकार कम्युनिस्टहरूको थियो कि 'कमाउनिस्ट'हरूको? सरकार कांग्रेसको हुन्थ्यो कि 'खाऊँ-रेस'को? राजनीतिक दल र नेताहरू परिवर्तनका संवाहक हुँदै गएका थिए कि अकूत सम्पत्तिको सपना बोकी हिँड्ने गुट या दिवंगत समाजवादी नेता प्रदीप गिरिको शब्दमा गिरोह? के नेपालका विद्यमान राजनीतिक दल र तिनका नेता असीमित धनको प्राप्तिभन्दा पर पनि केही सोच्छन्? के तिनको अभीष्टमा पैसा र सत्ताबाहेक अरू केही छ? नेपाली युवामाझ यी प्रश्न थिए। युवाका धमनी यिनै प्रश्नले उम्लिएका थिए। त्यसैको विस्फोट हो– जेनजी विद्रोह।
हाम्रोमा दिनरात नभनी गुणात्मक फड्को कुनै विषयले मारेको छ भने त्यो हो– भ्रष्टाचार। अस्ति लाख र करोडमा हुने भ्रष्टाचार आज अरबमा हुन थालेको छ। भ्रष्टाचारको चढ्दो ग्राफ जति गम्भीर थियो, त्योभन्दा गम्भीर त्यसप्रति हाम्रो मौनता र उदासीनता थियो। राजनीति र राजनीतिको संरक्षणमा भइरहेको भ्रष्टाचारमा राष्ट्रव्यापी रूपमा सशक्त प्रतिवाद हुन ढिला हुँदै गर्दा एक राष्ट्रको रूपमा देशको विघटन नजिकिँदै गएको आभास हुन्थ्यो। राजनीतिले गर्दै गरेको यो तहको आर्थिक अपराधमा हामी र हाम्रो पुस्ताले सशक्त प्रतिवाद नगर्नु थप अपराध थियो। आफ्नै भाग्य र भविष्यमाथि खेलबाड थियो। र, दलभित्रका युवा नेताको हैसियतले त्यसमा सशक्त हस्तक्षेप गर्न नसक्नु तपाईँहरूको कमजोरी थियो।
हाम्रो राजनीति भित्रका सबै विसंगतिको मुख्य कारण नै लुट, लुट र लुटको असीमित चाहना हो। जसरी र जुनसुकै मूल्यमा कमाउने र कमाउनै पर्ने मनोवृत्तिले लोकतन्त्र लुटतन्त्रको रूपमा प्रतिस्थापित भएको हो। लोकतन्त्रभन्दा बलियो दलतन्त्र हुनु, दलतन्त्रभन्दा बलियो गुटतन्त्र हुनु र ती गुटभन्दा पनि ज्यादा गिरोहतन्त्र हुनुको पछाडि लुट मनोवृत्तिकै हात छ। राष्ट्रनिर्माणको मुहान (राजनीति) नै यसरी भ्रष्ट र पतित भएपछि देशका सबै तह र तप्कामा कुशासन र भ्रष्टाचार मात्र हुनु स्वाभाविक भएको छ।
लोकतन्त्रको फगत प्रणालीको आवरणमा भइरहेका कुशासन र भ्रष्टाचारलाई जति हामी सहिरहेका थियौँ, त्यति नै अन्धकार, अनिश्चित र कष्टपूर्ण जीवनको भुमरीमा हामी धकेलिँदै थियौँ। यसरी, आफैँलाई प्रश्न गर्न ढिलाइ भइसकेको थियो। र, हाम्रो प्रतिनिधित्व गर्ने तपाईँहरू पार्टीभित्रको बन्धन, अन्धकार र अनिश्चिततामा अलमलिँदै गर्दा युवाहरूले ठूलो बलिदानी र मूल्यमा हामी सबैलाई बाटो देखाइदिए। षड्यन्त्र सिद्धान्तहरू कथ्नेहरूले अनेकन् भन्लान्, तर जेनजी विद्रोह प्रश्नहरूको आगो हो।
गगन र विश्वप्रकाशलगायत युवा कांग्रेसीजन,
लोकतन्त्र, गणतन्त्र त केवल प्रणालीको कुरा हो। यसलाई प्राण र गति भ्रष्टाचाररहित सुशासनले दिने हो। राजनीति र नेताको आर्थिक अनुशासन र त्यस प्रतिको प्रतिबद्धताले दिने हो। सुशासनको सुनिश्चितता नहुँदासम्म देश कुनै वादको गफले मात्र बन्दैन। उपयोगिताहीन ठानेर मलेसियाले छाडेको सिंगापुर आजको उचाइमा सुशासनको जगमै आइपुगेको हो। फ्रम थर्ड वर्ल्ड टु फस्ट पुस्तकका अनुसार ली क्वान युले आफ्नो पहिलो मन्त्रीमण्डलको शपथमा सबै मन्त्रीलाई सफेद लुगा लगाउन भनेका थिए।
सरकार सफा नभए सिंगापुरको समृद्धि असम्भव छ भन्ने सन्देश थियो सेतो-दागरहित पहिरनमा। त्यो सांकेतिक कदमसँगै उनले कठोरताका साथ साना–ठूला सबै भ्रष्टाचारका घटनामा मिहिन नजर राखे। आफ्नै क्याबिनेटका मन्त्रीहरू र सांसदलाई कारबाही गरे। यस क्रममा एक मन्त्रीले त आत्महत्या गरे। यसरी लीले सुशासनको जग सरकारबाटै सुनिश्चित हुनुपर्छ भन्दै गर्दा हाम्रोमा भने भ्रष्टाचारको विरोधमा उभिने शैलजा आचार्यजस्ता मन्त्रीहरू पदमुक्त हुँदै थिए। हामी भित्रको कुशासन र भ्रष्टाचार आजको होइन। कुरा धेरै र थोरैको मात्र हो। लिको देश आज पनि भ्रष्टाचारको सन्दर्भमा मध्यम दर्जामा छ।
तर आज हाम्रा दैनिक अखबारका पाना कस्ता सूचनाले भरिएका छन्? नेताहरूका घरबेटी को हुन्? नेताहरू कसको संगतमा छन्? दल फुटाउने र जुटाउने हैसियत किन दलाल व्यापारीले राख्दै छन्? नेताहरूको विदेश उपचार, विदेश भ्रमण र भोजभतेरका आयोजना कसले गर्छन्? सहरका ठूला कम्प्लेक्सहरू, नयाँ–नयाँ उद्योग र व्यापारमा कुन नेताको लगानी छ? नेताहरू मार्सी भातसँगै अरू के के खान्छन्? यी प्रश्नहरूमा तपाईँहरूको भूमिका निर्णायक रहनुपर्ने थियो। नेपाली युवाको ढुकढुकी छाम्न नसक्नुले युवा नेता हुनुको अर्थ सिद्ध हुँदैन। यो समय तपाईँहरू पार्टीका सबै बन्धन र बाध्यताबाट निस्केर युवाहरूको मुद्दामा उभिने समय हो। यसमा अब एक मिनेट पनि ढिला नगर्नुहोस्।
ठूलो राजनीतिक परिवर्तनपछि नेकपाको दरिलो जनमतमा बलियो सरकार बनेको थियो। तत्कालीन प्रधानमन्त्री ओली उमेरले पाका थिए। आफ्नै कोखको सन्तान नभएका कारण कतिले उनीमाथि अझै भरोसा गरेका थिए– केका लागि उनले भ्रष्टाचार गर्लान् र भनेर। दुनियाँलाई आशा थियो– भ्रष्टाचाररहित शासन। सरकारको नारा थियो समृद्धि। सरकारले विगत सरकारका कमजोरी सच्याउला भन्ने थियो। बहुदल आएयता सरकारमा गएका सबै नेताको सम्पत्तिको स्रोत खोज्ने, छानबिन गर्ने र कारबाही गर्ने अपेक्षा थियो। तर तत्कालीन नेकपा सरकारको गियरले पछाडिको यात्रा तय गर्यो। सरकार कुशासन र भ्रष्टाचार उत्पादनमा उच्च क्षमताको आधुनिक कारखाना भएर निस्कियो।
समृद्धि र स्थायित्वको नारामा सत्तामा आइपुगेको तत्कालीन नेकपा कुशासन र भ्रष्टाचारको नर्कमा चुर्लुम्म डुब्यो। कुशासन र भ्रष्टाचारको होडबाजीले प्रतिपक्षमा पुगेको नेपाली कांग्रेस अलिकति पनि महसुस गर्ने र सुध्रिने चरणमै प्रवेश गरेन। त्यसपछि फेरि सत्तासीन भए कांग्रेस र माओवादी। त्यसपछि दुनियाँलाई नै चकित पार्ने प्रमुख प्रतिपक्षी र सत्तापक्षको गठबन्धन। न कुनै गम्भीर मुद्दा, न कुनै वैचारिक मतैक्यता, 'खानपिन' नै थियो त्यस गठबन्धनको उद्देश्य। अनियमितता र भ्रष्टाचारको एकोहोरो तथ्यहरू हाम्रासामु आउँदा पनि कुशासन र भ्रष्टाचारविरुद्ध 'प्रधान क्रोध' उत्पन्न नहुनु लामो विफलताका बाटोमा हामी जाँदैछौँ भन्ने गहिरा संकेत थिए। जेनजीहरूको रगत त्यसै उम्लिएको होइन महोदय।
बिना प्रक्रिया ३ खर्बको बुढीगण्डकी चीनको गेजुवालाई सुम्पिँदै सुरु भएको नेकपा सरकारको यात्रा वाइड बडी हुँदै एनसेल कर छुट, बालुवाटार जग्गा प्रकरण, सुन काण्ड, नेपाल टेलिकमको फोरजी ठेक्का, नेपाल ट्रस्ट अन्तर्गतका जग्गा–जमिनको लिज प्रक्रिया, यती होल्डिङ, सेक्युरिटी प्रेस खरिद, ओम्नी र भट्ट दाजुभाइसम्म आइपुग्दा नेकपा सरकार कुशासन र भ्रष्टाचार उत्पादनकै लागि मात्र बनेको हो जस्तो भएको थियो।
बुढी गण्डकीमा २० प्रतिशत कमिसन (६० अर्ब) को खेल थियो भन्ने तर्क थियो। वाइड बडीमा संसद्को सार्वजनिक लेखा समितिले ६ अर्ब ५४ करोड घोटाला भएको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको थियो। एनसेललाई ३९ अर्ब ६ करोडमा २१ अर्ब १० करोड मात्र कर तिर्न सर्वोच्च अदालतले फैसला गरेको थियो। बालुवाटार जग्गा प्रकरणमा तत्कालीन पार्टी महासचिव र पूर्व प्रधानमन्त्री नेपालको नीतिगत मिलेमतो थियो। नेपाल टेलिकमको फोरजी झन्डै १५/१८ अर्ब मूल्याङ्कन बढाएर ठेक्का दिइएको थियो। सबै विषयमा यो स्तरकै आर्थिक अपराध भइरहेका थिए। ती सबै घोटाला र भ्रष्टाचारीको बचाउमा कमरेड प्रधानमन्त्री ओलीको तत्परता रह्यो। कांग्रेस–माओवादी सरकारले सुन र भुटानी शरणार्थी प्रकरणमा उन्मुक्ति दियो। ठूला तहका लेनदेनमा कांग्रेस–माओवादी सरकारको मिलेमतो हामी नागरिकमाथिको लगातारको अपराध थियो। फेरि विघटित कांग्रेस–एमाले सरकारले गिरीबन्धुमा ‘बन्धुमन’ देखायो। घुसका अडिओहरू आए। युवाहरूको जिउँदो र जाग्दो रगतले सहने कुरा थिएन ती भ्रष्टाचार प्रकरण।
तपाईंहरूलाई प्रश्न,
नेपाली नेताहरू नेताजस्ता कम र दलाल–व्यापारीजस्ता ज्यादा लाग्नुका कारक यस्तै कुकर्म थिए। भ्रष्टाचारविरुद्ध कम्तीमा तपाईंहरूले युवाको साथ उभिएर सशक्त ढंगले बोल्नु र लेख्नुपर्ने थियो। किनकि यो व्यवस्थाका लागि लड्नुभएको पुस्ता हो तपाईंहरू। माथिका प्रश्नहरूले तपाईँहरूलाई कति पोल्यो या पोलेन, पार्टीभन्दा बाहिर देख्ने र सुन्नेगरी के भयो या के भएन, जेनजी विद्रोह अब प्रमाणका रूपमा इतिहासमा पेस भइसकेको छ। माथिका प्रश्नहरूले सचेत युवालाई पोलेको ठहर भइसक्यो।
जेनजी-विद्रोहको शैलीबारे प्रशस्त बहस गर्न सकिएला, तर परिणाम गौरवपूर्ण छ। तपाईंहरूले परिकल्पना गरेको निस्कलंक, नागरिकप्रति डर राख्ने र उत्तरदायी राजनीतिको ढोका अब खुलेको छ। तपाईंहरूले अग्र मोर्चामा रहेर पार्टीलाई नेतृत्व दिने प्रयास होइन, निर्णायक धक्काका सबै अस्त्रको अब प्रयोग गर्नुहोस्। यो पार्टी हितका लागि मात्र होइन, जेनजी विद्रोह, त्यसको मर्म रक्षा र जेनजीको मेन्टरसीपका लागि पनि अपरिहार्य छ।
भ्रष्टाचारमा साना साना कर्मचारीलाई कारबाही गर्दै ठूला तहका नेता उम्काएर अब समस्याको समाधान हुँदैन। भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छाया मन्त्रालय भएको आरोप छ। यसको स्वायत्तता र निष्पक्षतामा प्रश्नैप्रश्न खडा छन्। यसको नेतृत्वमा आएका कार्की र बस्न्यातजस्ता पात्रले यसको गरिमा खस्काए। पहिल्यै विवादित र बदनाम पात्रको नियुक्तिमा नेताहरूको बाध्यता के र किन हुन्छ?
बालुवाटार–सिंहदरबारमा मात्र होइन, कुशासन र भ्रष्टाचार वडा तहसम्म छ। ठूला नेता र प्रशासकदेखि सामान्य कार्यकर्ता र कर्मचारीसम्ममा छ। सरकार प्रमुख नै छाडा भएपछि अरूमा मनोबल स्वाभाविक बढ्ने नै भयो। नीतिगत भ्रष्टाचार र योजनाको उच्च मूल्यांकन भ्रष्टाचारभित्रका पनि नयाँ रोग हुन्। यो बाटोले देश विनिर्माण हुँदै थियो।
यस्तै अवस्था रहे, देश न समृद्ध बन्छ, न लोकतन्त्र नै बलियो हुन्छ। न गणतन्त्रले दरिलो गरी खुट्टा टेक्छ, न समाजवाद र कल्याणको सपना संविधानको किताबबाट बाहिर निस्कन्छ। युवा नेताहरू, राजनीति भित्रबाट निर्णायक पहल नहुनु राजनीतिक रूपमा घोर असफलता रह्यो, यो स्विकार्नुहोस्। यद्यपि, नेपाली युवाले आफ्नो तातो रगतको दायित्व साहसी र चमत्कारिक रूपमा फत्ते गरेका छन्। अब यसलाई सम्हाल्नुहोस्।
जेनजी विद्रोह अझै आन्दोलनकै तहमा छ। आगामी निर्वाचनमार्फत यसका असल प्रयत्न र पात्र प्रकट हुन सक्लान्। जे होस्, नेपाली राजनीति र भ्रष्टाचारबारे व्यापक प्रतिरोध, हस्तक्षेप र विमर्शको थालनी भएको छ। भ्रष्ट कर्मचारीतन्त्रविरुद्ध पनि सशक्त प्रतिरोध जरुरी छ। लोकतान्त्रिक गणतन्त्रका लागि मात्र होइन, काल्पनिकजस्तो लाग्ने सुशासनका लागि एउटा तिलस्मी आन्दोलनको सङ्खघोस भएको छ। यसलाई गन्तव्यमा पुर्याउन बाटो र गति दिन कमसेकम कांग्रेस पार्टीमा तपाईं महामन्त्रीद्वयको भूमिका महत्त्वपूर्ण रहनेछ। यद्यपि, कांग्रेसभित्र अन्य युवा र जेनजी पुस्ता पनि छन्, तिनको भूमिका र अपेक्षालाई पनि उत्तिकै ख्याल गर्नुहोला।
नेता होस् वा कर्मचारी, भ्रष्टाचारीले सत्ताको नभएर जेलको हावा खाने दिन नल्याएसम्म यो आन्दोलन रोकिनु हुँदैन। गगन–विश्वप्रकाशलगायत कांग्रेसी युवाले पार्टी हाँक्नु अबको सर्त हो। यो वा त्यो कुनै बहानामा समय नलिनुहोस्। नागरिक तहमा पार्टी र पार्टी नेतृत्वको यो तहको असफलता, घृणा, बदनाम, तिरस्कार र अस्वीकार्यतापछि पनि नेतृत्व बदल्न सक्नुहुन्न भने राजनीतिको घडा बिसाउनुहोस्।
सकिन्छ भने विधि विधानमार्फत, सकिन्न भने बीपी स्मृति भवन सानेपाको खरानीमाथि उभिएर पार्टीको युग बदल्ने अधिवेशनको नेतृत्व गर्दै तत्काल नेतृत्व हत्याउनुहोला। र, ‘यो समय चेतना’ बोक्ने र बोक्न सक्ने कांग्रेस नवनिर्माणको जग बसाल्नुहोस्। महोदयहरू, हेक्का राख्नुहोस्— अब न समय रोकिने छ, न विकल्प नै रहने छ।
देशलाई प्रदीप्त गर्न कांग्रेसमा दीप बल्न ढिला नहोस्। भदौ २३ गते परिवर्तनको हुटहुटी बोकेर हाम्रा लागि नयाँ युग ल्याउन हिँडेका ती वीर कलिला शहीदहरू सम्झिनुहोस् र नेतृत्व बदल्न कसिनुहोस्। यो अन्तिम चेतावनी र आग्रह दुवै हो।
(केसी खोटाङका कांग्रेस नेता हुन्। उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
