भारतमा २१ बालबालिकाको मृत्यु घटनामा औषधि कम्पनीका सञ्चालक पक्राउ

पक्राउ गरिएका औषधि कम्पनीका सञ्चालकमाथि भारतीय प्रहरीले गैरकानूनी हत्या र औषधिमा मिसावटको अभियोग लगाएको छ।

भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युको घटनामा एक औषधि कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ। चेन्नाईस्थित आफ्नै घरबाट पक्राउ परेका ७५ वर्षीय जी रंगनाथनलाई गैरकानूनी हत्या र औषधिमा मिसावट गरेको आरोप लागेको अधिकारीहरूले बताएका छन्।

मध्य प्रदेश राज्यमा गत महिना घातक विषाक्त पदार्थ मिसिएको खोकीको सिरप सेवन गरेपछि कम उमेरका बालबालिकाको मृत्यु भएको थियो। सो सिरप दक्षिणी भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा युनिटमा ‘कोल्ड्रिफ’ नामको ब्रान्डबाट उत्पादन गरिएको थियो।

भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डीईजी) भएको पुष्टि गरेको छ। औद्योगिक सम्मिश्रण यो थोरै मात्रामा सेवन गरे पनि घातक असर गर्न सक्छ।

घटना सार्वजनिक भएपछि मध्य प्रदेश र अन्य राज्यहरूले उक्त सिरपमा प्रतिबन्ध लगाएका छन्। विश्व स्वास्थ्य संगठनले पनि उक्त सिरप अन्य देशमा निर्यात भएकोबारे भारतीय अधिकारीहरूसँग स्पष्टीकरण माग गरेको छ।

यसअघि पनि यस्तै घटना बाहिरिएका थिए। सन् २०२२ मा गाम्बियामा पनि भारतबाट आयात गरिएको दूषित सिरप सेवनका कारण ७० भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो। उज्बेकिस्तानमा पनि सन् २०२२-२०२३ मा भारतमा उत्पादित दूषित सिरप सेवनबाट ६८ बालबालिकाले ज्यान गुमाएका थिए।

घटनाले भारतको औषधि उद्योगको प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ र विश्वभरका स्वास्थ्य अधिकारीहरूलाई सतर्क बनाएको छ।