प्रधानमन्त्री कार्कीद्वारा विदेशस्थित नेपाली नियोग प्रमुखहरूलाई निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले आज विदेशस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै विभिन्न विषयमा निर्देशन दिएकी छन्।

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आज विदेशस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै विभिन्न विषयमा निर्देशन दिएकी छन्।

सम्बोधनका क्रममा उनले नेपालमा भएको ठूलो परिवर्तनका विषयमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। साथै, प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचनको मिति तय भएका सन्दर्भमा विदेशी सरकार र संस्थाको सहयोग आवश्यक पर्ने हुनाले त्यसका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन्।

आन्दोलनका क्रममा पर्यटनलगायत गतिविधिहरू केही हदसम्म कम भएको सन्दर्भमा उनले अहिले नेपाल खुलिसकेको र आर्थिक गतिविधि सञ्चालन भइसकेको अवगत गराउन पनि निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले सो विषयलाई अब छिट्टै सम्बन्धित सबै ठाउँमा, सबै सरकारहरूलाई र सबै सरोकारवालालाई व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको विषयमा जोड दिइन्।

विदेशमा लाखौँको संख्यामा नेपाली रहेको अवस्थामा मुलुकको यो परिवर्तनसँगै उनीहरूका अपेक्षाहरूलाई सम्बोधन गर्न, नियोगले चुस्त दुरुस्त, छिटो र प्रविधि मैत्री सेवा प्रवाह गर्न प्रधानमन्त्री कार्कीले नियोग प्रमुखलाई आग्रह गरिन्। उनले पुनर्निर्माणका लागि खोलिएको कोषका विषयमा नियोग प्रमुखलाई आवश्यक प्रचारप्रसार गर्न पनि आग्रह गरेको प्रवक्ता क्षेत्रीले बताए।