सगरमाथा नजिकै तिब्बततर्फ फसेका एक हजार पर्वतारोहीको उद्धार

उद्धारपछि ५८० जना पर्वतारोही र ३०० भन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू बस्तीमा फर्किएका छन्।

सगरमाथा नजिकै तिब्बततर्फ फसेका एक हजार पर्वतारोहीको उद्धार
रोयटर्स

सगरमाथा नजिकैको तिब्बती पठारमा हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीको उद्धार गरिएको छ। 

पर्यटकका लागि निर्माण गरिएका शिविरहरू हिमपातले पुरिँदा यात्रु फसेका थिए। त्यसपछि उद्धारकर्मीले अग्निशामक, घोडा, याक र ड्रोन प्रयोग गरी उद्धार अभियान सञ्चालन गरेका थिए।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार ५८० जना पर्वतारोही र ३०० भन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठाला बस्तीमा फर्किएका छन्। उद्धार टोलीले लगभग एक दर्जन थप पर्वतारोहीलाई नजिकैको बस्तीमा पुर्‍याएका छन्।

हालका वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ। यो वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र खेलप्रेमी यस क्षेत्रका ट्रेकिङ मार्गमा पुगेका थिए। (रासस/एएफपी)