दार्जिलिङमा अविरल वर्षापछि आएको बाढीपहिरोमा परी २३ जनाको मृत्यु

दार्जिलिङमा निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ। पहिरो र वर्षाका कारण सयौँको संख्यामा पर्यटक अलपत्र परेका छन्।

भारतको पश्चिम बंगालस्थित दार्जिलिङमा निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ। पहाडी शहर र आसपासका क्षेत्रहरूमा गएको यो एक दशककै सबैभन्दा ठूलो पहिरो हो। मृत्यु हुनेहरूमा अधिकांश नेपालीभाषी रहेका छन्।

प्राप्त जानकारीअनुसार, मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। पहिरोले घरहरू बगाएको छ भने सडक सञ्जालमा समेत गम्भीर क्षति पुर्‍याएको छ। दार्जिलिङ, मिरिक, खरसाङ, कालेम्बुङलगायतका क्षेत्रहरू यस वर्षाबाट बढी प्रभावित भएका छन्।

भारत सरकारले नेपालको सीमावर्ती क्षेत्र मानेभन्ज्याङमा मृत्यु भएका नेपाली नागरिकको संख्यालाई पनि गणना गरेको छ। राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) र पश्चिम बंगालको दार्जिलिङ तथा जलपाइगुडी जिल्ला प्रशासनद्वारा संकलित विवरणअनुसार, मृत्यु हुनेहरूमध्ये १८ जना भारतीय र ५ जना नेपाली नागरिक रहेको जनाइएको छ।

सरसाली, जसबीरगाउँ, मिरिक बस्ती, धार गाउँ (मेची), मिरिक ताल क्षेत्र र जलपाइगुडी जिल्लाको नागरकाटा क्षेत्रमा धेरै मानवीय क्षति भएको छ।

पहिरो र वर्षाका कारण सयौँको संख्यामा पर्यटक अलपत्र परेका छन्। भारी वर्षाका कारण मिरिक र दुधियाबीचको फलामको पुलमा समेत क्षति पुगेको छ।

यता, दार्जिलिङमा गएको पहिरोबाट विस्थापित ४० भन्दा बढी गाउँलेहरू मिरिकको सामुदायिक हलमा आयोजित राहत शिविरमा आश्रय लिइरहेका छन्। एक प्रभावित राजन क्षेत्रीले यस विपत्तिमा आफ्ना परिवारका सदस्य र घर गुमाएको बताए। आइतबार मात्रै बाढी प्रभावित क्षेत्रहरूबाट १६० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

नेपालको सीमावर्ती जिल्ला इलाममा पनि सोही किसिमको वर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ नाघिसकेको छ। (एएनआई)