देशभरका ८ नदी खतराको तहभन्दा माथि

सप्तकोशी, बागमती, सुनकोशी, अरुण, तमोर, कनकाई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रमा बाढीले खतराको तह पार गरेका छन्।

काठमाडौँ– अविरल वर्षातका कारण देशका विभिन्न आठ  नदीले खतराको तह पार गरेका छन्। 

जल तथा मौसम विज्ञान विभागका आइतबार बिहानसम्मको अद्यावधिक रेकर्डअनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कनकाई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रमा बाढीले खतराको तह पार गरेका हुन्। 

सुनसरीको चतरास्थित सप्तकोशी नदीमा बाढीले खतराको तह पार गरेको छ। बहाव बढ्दो क्रममा रहेकोले खोला किनार र डुबान भइरहने होचो ठाउँका बासिन्दा सोमबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित ठाउँमा बस्न पनि विभागले अनुरोध गरेको छ।

विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ। उनका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ। 

यसैगरी कोशी मधेश र बागमती प्रदेशका अन्य सबै नदीनालामा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

बागमती प्रदेश र मधेश प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न शुरू गरेको छ। कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ। जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले बिहान जारी गरेको सूचनामा उल्लेख छ।

ती नदीमा बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ। मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ।