बीपी राजमार्गमा आजदेखि राति सवारी सञ्चालनमा रोक

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

काभ्रेपलान्चोक– बीपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। मौसम विभागले शुक्रबारबाट भारी वर्षाको सम्भावना एवं बाढीपहिराको उच्च जोखिम पूर्वानुमान गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन सूचना जारी गरेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको हो। 

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलान्चोकको बिहीबारको बैठकले उक्त राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। समितिले साँझ ५ बजेदेखि भोलिपल्ट बिहान पाँच बजेसम्मको अवधिमा सवारीसाधन नचलाउन भनेको हो।

राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुन्डे–सिन्धुली सीमा नेपालथोकको सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।  

राजमार्गमा मनसुनको जोखिमका कारण गत भदौ १६ गतेदेखि १५ दिनसम्मका लागि पनि सवारी सञ्चालनमा रोक लगाइएको थियो। 

समितिले हाल मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सवारी  सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपिल समेत गरेको छ। 

समितिका अनुसार काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ। 

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभ्रेपलान्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले यही असार ७ गतेदेखि बीपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो। 

गत वर्ष असोजमा बाढीपहिरोका कारण काभ्रेपलान्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएको थियो। सो राजमार्गमा कतै त कतै कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ।

बाढीपहिरोले राजमार्गको कुल १६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो।