खोटाङमा यात्रुबाट मनपरी भाडा असुली

यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा आफूहरू मारमा परेको यात्रुहरू बताउँछन्।

खोटाङ– यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ। यात्रुबाट प्रतिव्यक्ति ५०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म बढी भाडा असुलेको पाइएको हो। 

जिल्ला प्रशासन कार्यालयमा भाडा समायोजन बैठकमा सहभागी भएर चाडपर्वको समयमा समेत साबिककै भाडादर लागू गर्ने सहमति गरे पनि व्यवसायीले चर्को भाडा असुलेका हुन्। दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलसम्मको जिपभाडा एकतर्फी २ हजार कायम गरिएको थियो। तर यातायात व्यवसायीले २ हजार ५०० देखि ३ हजार ५०० रुपैयाँसम्म असुलेको पाइएको छ। दिक्तेल–धरान तथा धरान–दिक्तेलका लागि २ हजार १०० रुपैयाँ निर्धारण गरिएको थियो। 

कारबाहीमा पर्ने डरले यात्रुलाई टिकट नदिई यात्रा गराउने गरेकोसमेत पाइएको छ। चाडपर्वका अवसरमा एकतर्फी यात्रा गर्ने मात्र यात्रु हुने भन्दै सबै यातायात व्यवसायीले ‘रिजर्भ’को भाडा असुलेको यात्रुले बताएका छन्। 

सगरमाथा यातायात प्रालिले धरानबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीसम्मका लागि प्रतिव्यक्ति २हजार ५०० रुपैयाँका दरले भाडा लिए पनि दिक्तेलमा ल्याएर छाडिदिएको यात्रुको गुनासो छ। 

खार्मीका लागि भनेर धरानबाट चढेको सुमोले दिक्तेलमा ल्याएर छाडेपछि पुनः प्रतिव्यक्ति ७०० रुपैयाँका दरले अर्को गाडीको टिकट लिएर घर पुगेको स्थानीय ज्ञानकुमारी राईले बताइन्। “हामीलाई टिकट पनि दिएन, खार्मी लैजाने भनेर दिएको फोन नम्बर पनि स्विच अफ थियो,” उनले भनिन्, “बेलुका अबेर भइसकेको थियो, त्यो दिन जसरी पनि घर पुग्नुपर्ने थियो, प्रहरीलाई खबर गर्ने समय थिएन, त्यसैले अर्को गाडीको टिकट लिएर घर पुग्यौँ।”

यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा यात्रु मारमा परेको उनको भनाइ छ। बाक्सिला–काठमाडौँ तथा काठमाडौँ–बाक्सिलाका लागि एकतर्फी जिप भाडा २ हजार ८०० भए पनि आफूहरूले प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँका दरले तिरेर यात्रा गर्न बाध्य भएको स्थानीय इन्द्र साम्पाङ राईले गुनासो गरे। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले यातायात व्यवसायीले मनपरी भाडा असुलेको विषयमा कुनै गुनासो नआएको बताए।