बेलायतमा आप्रवासीलाई स्थायी बसोबासका लागि कडा नियम लागू गर्ने तयारी

नयाँ प्रस्तावित योजनाअनुसार आप्रवासीले रोजगार लिनुपर्नेछ, सामाजिक सुरक्षा योगदान गर्नुपर्नेछ, आपराधिक अभिलेख स्वच्छ हुनुपर्नेछ, लाभ दाबी गर्न पाइने छैन र स्थानीय समुदायमा स्वयंसेवकको रूपमा सेवा गर्नुपर्नेछ।

बेलायत सरकारले स्थायी रूपमा बस्न चाहने आप्रवासीका लागि कडा प्रावधान ल्याउने तयारी गरेको छ। सत्तारूढ लेबर पार्टीको यो प्रस्तावित योजनाले आप्रवासीलाई स्थायी निवास (अनिश्चितकालीन बिदा) दिने वर्तमान प्रक्रियामा ठूलो परिवर्तन ल्याउनेछ।

गृहमन्त्री शबाना महमुदले सोमबार लेबर पार्टीको वार्षिक सम्मेलनमा प्रस्तुत गर्ने यो योजनाले आप्रवासीले बेलायतमा अनिश्चितकालीन बिदा पाउनुअघि केही कडा नियम पालना गर्नुपर्नेछ। नयाँ प्रस्तावित योजनाअनुसार आप्रवासीले रोजगार लिनुपर्नेछ, सामाजिक सुरक्षा योगदान गर्नुपर्नेछ, आपराधिक अभिलेख स्वच्छ हुनुपर्नेछ, लाभ दाबी गर्न पाइने छैन र स्थानीय समुदायमा स्वयंसेवकको रूपमा सेवा गर्नुपर्नेछ। साथै गृहमन्त्री महमुदले आप्रवासीहरूले 'उच्चस्तरमा अंग्रेजी सिक्नुपर्ने' बताएकी छन्।

हालको प्रावधानअनुसार, परिवारसहित पाँच वर्षसम्म वा कानूनी रूपमा १० वर्षसम्म बेलायतमा बसोबास गर्ने आप्रवासीहरू 'अनिश्चितकालीन बिदा' पाउन योग्य हुने गर्छन्। स्थायी निवास पाउने आप्रवासीहरूले बस्ने, काम गर्ने, अध्ययन गर्ने, सामाजिक सुविधा पाउने र बेलायती नागरिकताका लागि आवेदन दिने अधिकार उपभोग गर्दै आएका छन्।

तर गृहमन्त्री महमुदको यो घोषणा विपक्षी कट्टर–दक्षिणपन्थी रिफर्म पार्टीले आप्रवासीलाई हरेक पाँच वर्षमा भिसा नवीकरण गर्नुपर्ने तथा स्थायी निवासको व्यवस्था हटाउने प्रस्ताव अघि सारेको केही समयपछि आएको हो।

लेबर पार्टीले आफ्नो विज्ञप्तिमा रिफर्म पार्टीको प्रस्तावले दशकौँदेखि योगदान दिँदै आएका आप्रवासी कामदारलाई घर छोड्न बाध्य पार्ने तर आफ्नो योजनाले योगदानकर्ताहरूलाई सुरक्षित राख्ने बताएको छ। प्रधानमन्त्री किर स्टार्मरले रिफर्म पार्टीको योजनालाई 'जातिवादी' भन्दै देशलाई विभाजित गर्ने चेतावनी दिएका थिए।

गृहमन्त्री महमुदले पार्टीका सदस्यहरूलाई सचेत गराउँदै, आप्रवासनजस्तो संवेदनशील विषयलाई सही ढंगले सम्बोधन गर्न नसके श्रमजीवी वर्ग रिफर्म पार्टीका नेता निगेल फराजका भ्रामक वाचामा आकर्षित हुन सक्ने बताइन्।

बेलायत सरकारले यस वर्षको अन्त्यतिर यो नयाँ योजनासम्बन्धी परामर्श प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यसैबीच, अर्थमन्त्री रेचल रिभ्सले पनि सोमबारको सम्मेलनलाई सम्बोधन गर्दै बेलायतको नवीकरणमा लगानी गर्ने र युवालाई रोजगारीमा ल्याउने नयाँ योजना सार्वजनिक गर्ने लेबर पार्टीको तयारी रहेको बताएकी छन्।