जेन–जी र उर्लदो बैँस

भ्रष्टाचार र कुशासनको अन्त्य हो नेपालको जेन–जी विद्रोहले उठाएको मुद्दा। विचार अभिव्यक्तिको स्वतन्त्रता र पारदर्शिता हो। तर आन्दोलनको जनादेश अर्कैतर्फ मोडिँदै छ।

कवि नरेश शाक्यले बैँस शीर्षकमा एउटा कविता लेखेका छन्। उनको यो कविताको सारांश हो–बैँस छँदै सब थोक गर्नुपर्छ। बैँस घर्केपछि त पछुताउनुबाहेक केही बाँकी रहँदैन। ‘यौवनमै सबै भोग गर, पछि त पछुतो मात्र’ भन्ने धारणा अरिस्टिप्पसको भोगवादी दर्शनसँग सबैभन्दा मिल्दो छ। उनी एरेस्टोटलका चेला थिए।

बैँसबारे अनेकन् साहित्यकारले अनेक रचना गरेका छन्। जवानी छँदै केही गर्न मान्छेलाई हौस्याएका छन्। नत्र त ‘जोवन गयो बैँस त गएन लैलै’ जस्ता विरही गीत गाएर मनको सन्तोष पूरा गर्नुको विकल्प छैन। गाउँघरमा गीतको माध्यमबाट बैँसको सटिक बखान गरिएको हामीले सुन्दै आएका छौँ। तनहुँको बन्दीपुरतिर गाइने लोकभाकाले बैँसको चरितार्थ यसरी गर्छ, ‘बैँस हुँदा रेलिमाई भलबाढी तरियो, बुढेसकालमा रेलिमाई दोधारमा परियो।’

नेपालसहित विश्वको परिवर्तन तिनै बैँसहरूले गरेका हुन्। तिनकै पौरखले आजको परिवर्तन देख्न र विचरणयोग्य बनाएको हो। गएको भदौ २३ गते (सेप्टेम्बर ८) नेपालका जेनजी बैँसले यस्तै ऐतिहासिक विद्रोह गरे। त्यो विद्रोहले दशकौँदेखि जकडिएको कुशासनको जग हल्लाइदियो। विद्रोहमा नेपाली जनताका होनहार छ दर्जन बढी छोराछोरी शहीद भए। सयौँ घाइते भए। यसै विद्रोहको आँधीमा टिक्न नसकेर पुरानो सत्ताको बादशाह सिंहासन छोडेर कुलेलम ठोके। दूई ठुला पार्टीसहित अन्य साना पार्टी सम्मिलित दुई तिहाइको सत्ता तासको घरझैँ एकै झिमिकमा गर्ल्यामगुर्लुम ढल्यो। राजनीतिक दल किनारमा धकेलिए। विद्रोहपछि राजनीतिक दल किंकर्तव्यविमूढ भए।

१०४ वर्ष पुरानो एकतन्त्रीय हुकुमी शासन फाल्न तीनै बैँसहरू अगाडि आए। राणा शासन विरुद्धको विद्रोहको शंखघोष गङ्गालालसहित चार जना युवाले गरेका थिए। गंगालाल त २२ वर्षको उमेरमा हाँसाहाँसी फाँसीमा चढे। अहिले भए उनी जेनजी ठहर्थे। बाँकी धर्मभक्त (३१ वर्ष), दशरथ चन्द (३७ वर्ष) र शुक्रराज (४७) वर्षमा शहीद भए। अहिलेको उमेर समूहको वर्गीकरणमा ढाल्दा चार शहीद जेनजी र जेन–वाई हुने थिए। युवावय थिए, जसले अन्धकारको फलामे ढोका पहिलो पटक फोरे।

राणा शासनको अन्त्यपछि राणा–कांग्रेसको कुशासनविरुद्ध चिनियाकाजी शाक्यको विद्रोह पनि भुल्नु हुँदैन। १४ वर्षका कलिला विद्यार्थी चिनियाकाजीलाई भूगोल पार्कमा गोली हानी हत्या गरियो। त्यस्तै, पञ्चायती शासनले धनुषाको जदुकुवामा विद्यार्थी कामेश्वर मण्डल, कुशेश्वर यादव (कामेश्वर–कुशेश्वर)को हत्या गर्‍यो। उनीहरू जेनजी  उमेरको प्रतिनिधि पात्र थिए। नेपालको विद्यार्थी आन्दोलनमा सम्झिइरहनु पर्ने यी दुई शहीदहरू हुन्। नयाँ शिक्षा, पञ्चायतविरुद्ध, ०३५–०३६ को विद्यार्थी आन्दोलन, पहिलो जनआन्दोलन, माओवादी सशस्त्र विद्रोह, मधेस विद्रोह, आदिवासी जनजाति, महिला, दलित, सीमान्तकृत समुदायको आन्दोलनमा तीनै युवा पुस्ताको रगतले परिवर्तनलाई सिञ्चित गरेको हो। गंगालाल–चिनियाकाजी–कामेश्वर–कुशेश्वर–दिलबहादुर रम्तेल हुँदै पहिलो ऐतिहासिक जेनजी विद्रोहमा लामबद्ध महान् शहीदहरूको फेहरिस्त उतार्नु निकै लामो हुन्छ।

बैँस र विचार
तर विद्रोहहरूमा बैँससहित विचारको संयोग मिल्नुपर्छ। सन् २०१०–२०११ मा ठेला व्यापारी मोहम्मद बुआजीको आत्मदाह पछिको दर्दनाक घटनाले अरब स्प्रिङ वा अरब वसन्त आन्दोलनको डढेलो सल्कियो। ट्युनिसियाबाट उठेको आन्दोलनले त्यस क्षेत्रका ठुला तानासाहहरू ढले। मध्य अरबदेखि उत्तर अफ्रिकासम्म आन्दोलनको आँधीले लपेट्यो। तर त्यसपछि ती देशको परिस्थिति के भयो?  हामीले देखिरहेका छौँ। इन्डोनेसिया, मंगोलिया, सर्विया, केन्या, बंगलादेश र श्रीलंकाको युवाको विद्रोहको जनादेश कता बरालिँदै छ? स्वतःस्फूर्त आन्दोलनले ल्याउने परिणाम पनि सीमित हुन्छ। तत्कालीन माग–मुद्दा सीमित तहमा सम्बोधन पनि होलान्। तर दीर्घकालीन समस्याको समाधान गर्दैन।

भ्रष्टाचार र कुशासनको अन्त्य हो नेपालको जेनजी विद्रोहले उठाएको मुद्दा। विचार अभिव्यक्तिको स्वतन्त्रता र पारदर्शिता हो। तर आन्दोलनको जनादेश अर्कैतर्फ मोडिँदै छ। एकथान अन्तरिम सरकार बनाउने र यथास्थितिको प्रतिनिधिसभा पुनर्स्थापना गर्नेतर्फ विषयान्तर हुँदै गएको छ। नरसंहार र ध्वंसात्मक गतिविधिको सत्यतथ्य छानबिन गर्ने आयोग त बन्यो, यद्दपि भ्रष्टाचारको विषय ओझेलमा परेको छ। तीन महिनाभित्र नरसंहार र ध्वंसात्मक गतिविधिको छानबिन प्रतिवेदन पनि आउला। तर कार्यान्वयनमा अहिले नै बग्रेल्ती प्रश्न उठाउने ठाउँ प्रशस्त छ। विगतमा मल्लिक, रायमाझी आयोगसहित अनेक आयोगका प्रतिवेदनहरू भर्सेलामा परे। यस्तै नियति यो आयोगको नहोला भन्न सकिने विश्वसनीय आधार छैन। माओवादी विद्रोहसँग सम्बन्धित सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको हालत हेर्दा काफी हुन्छ।

राजनीति र जेनजी
दर्शनशास्त्री प्लेटोले भनेका छन्, राजनीतिमा सहभागी नहुँदा मूर्ख व्यक्तिको शासन खप्नु पर्छ। यसअघिका युवा पुस्ताले त यो मर्मलाई आत्मसाथ गरेकै थिए। अहिलेका जेनजीलाई भने राजनीतिलाई फोहरी खेल मान्दै आएको आरोप थियो। तर, अहिलेका जेनजी पुस्ताले पनि यस पटक विद्रोहसहित राजनीति गरे। आजका जेनजीले राजनीतिमा आँखा लगाउनु एकदमै सकारात्मक हो। तर जेनजीले विचारलाई पनि जोड्न सक्नु पर्छ। विचारविहीन विद्रोहले लक्षभेद गर्न सक्तैन। विचारविहीन लडाइँले लाने भड्खालो मै हो। 

यो सरकारले गर्न सक्ने एक मात्र काम प्रतिनिधिसभाको चुनावसम्म हो। चुनावलाई हस्तक्षेप गर्न पनि दर्शन, विचारसहितको सिद्धान्त चाहिन्छ। १६५ निर्वाचन क्षेत्रमा हस्तक्षेप गर्न बलियो संगठन वा दल चाहिन्छ। दलले बोक्ने दर्शन, विचार, सिद्धान्त, रणनीति, कार्यनीति र त्यो अनुसारको सांगठनिक संरचना सहितको नीतिगत नेतृत्व आवश्यक हुन्छ। निर्वाचन नजिकै छ। दशैँ, तिहार र छठपछि लगत्तै निर्वाचनमा हेलिने विषयले प्राथमिकता पाउँछ। परम्परागत दलहरू यथास्थितिलाई कायम राख्न चुनावलाई आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राख्ने छैनन्। यदि परम्परागत दलले आफ्नो पक्षमा प्रतिनिधिसभालाई पारे भने अहिलेका मागमुद्दा खारेज हुनेछन्। यी दलहरूले चुनावका बखत शासकीय स्वरूपमा परिवर्तन ल्याउने, नयाँ नौतुन काम गर्ने प्रतिबद्धता जाहेर गरे भने पनि त्यो चुनावी घोषणापत्रका ललिपप मात्रै हुनेछन्।

जेनजी  वा जेनवाइ युवाले दुनियाँ बदले। तर ती युवा विचारले लेस थिए। कार्ल मार्क्सले ३० वर्षको उमेरमा कम्युनिस्ट घोषणापत्र लेखेर विश्व हल्लाए। महान् क्रान्तिकारी चे ग्वेभारा, फिडेल क्यास्ट्रोले 'जेनजी उमेर'मै क्रान्ति गरे। 'जेनवाइ' उमेर पुग्दा क्रमशः ३७ र ३९ वर्षमा क्युबा स्वतन्त्र बनाउँदै सत्ता सम्हाले।

हाम्रै देशका बीपी कोइराला क्रान्ति सम्पन्न हुँदा ३६ वर्षका मात्र थिए। पुष्पलालले २५ वर्षको उमेरमा कम्युनिस्ट घोषणा पत्र नेपालीमा अनुवाद गरे। कम्युनिस्ट पार्टी गठन गरे । सिद्धार्थ गौतम बुद्धले २९ वर्षमा दरबार परित्याग गरे। ३६ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरे। लुसुन ३० वर्षको उमेरमा ख्यातिप्राप्त साहित्यकार बने। टर्कीका युवा तुर्क कमल पासाको योगदान त्यस्तै अध्ययनयोग्य छ।

यसरी विश्व इतिहासमा विचार सहितका युवाहरूको विद्रोहको जनादेश संस्थागत भएको अनेकान प्रमाण छ। विचारविहीन विद्रोहको पतन अनिवार्य हुन्छ। नेपालको वर्तमान अन्तर्विरोध खुट्याउँदै विश्व दृष्टिकोणअनुसार नेपालका जेनजी पुस्ताले विचार निर्माण गर्नु आवश्यक छ। तब मात्र यो विद्रोहको यथार्थ निष्कर्ष निस्कन्छ र उज्यालो भविष्यको मार्गचित्र प्रशस्त हुन्छ।