अन्तर्राष्ट्रिय दबाबबीच नेतान्याहुको अडान: हमासविरुद्धको युद्ध जारी रहन्छ

अन्तर्राष्ट्रिय विरोधका बीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्र महासभाको सम्बोधनका क्रममा गाजामा हमासविरुद्धको युद्ध जारी राख्ने अडान दोहोर्‍याएका छन्।

आलोचक र प्रदर्शनकारीको घेराबन्दीबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्र महासभामा गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्ने कुनै योजना नभएको स्पष्ट पारे र इजरायलले ‘काम समाप्त गर्नुपर्छ’ भन्दै अडान दोहोर्‍याए।​​​​​​​ बढ्दो अन्तर्राष्ट्रिय अलगाव र आलोचनाबीच उनले भने, “पश्चिमी नेताहरू दबाबमा झुकेका हुन सक्छन्, तर इजरायल कहिल्यै झुक्दैन।”

उनको सम्बोधन शुरू हुनुअघि नै धेरै मुलुकका प्रतिनिधिहरू महासभा हलबाट सामूहिक रूपमा बाहिरिएका थिए। नेतान्याहुले आफ्ना शब्दहरू देशभित्र विभाजित इजरायली जनताप्रति पनि लक्षित गरे। उनले हालै प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयलाई ‘आतंकलाई प्रोत्साहन गर्ने कदम’ भन्दै आलोचना गरे।

नेतान्याहुले बोल्दा संयुक्त राष्ट्र हलमा कोलाहलपूर्ण नाराहरू सुनिए भने उनका समर्थकहरूले ग्यालरीबाट ताली बजाएका थिए। अमेरिका र बेलायतको सिटमा वरिष्ठ अधिकारी उपस्थित थिएनन् र धेरै सिट खाली थिए। इरानको कुर्सीमा भने गाजाको युद्धमा मारिएका बालबालिकाको फोटो राखिएको थियो।

नेतान्याहुले फेरि आलोचकहरूलाई सेमिटिक-विरोधीको आरोप लगाउँदै भने, “यहुदीविरोध कहिल्यै मर्दैन।” अन्तर्राष्ट्रिय अदालतहरूमा युद्ध अपराधको आरोप, बढ्दो दबाब र अलगावबीच यो सम्बोधन उनका लागि प्रतिवाद गर्ने अवसर बनेको थियो।

उनले सिरिया, लेबनान, इरान र यमनसमेतमा इजरायलले चालेका पछिल्ला सैन्य कदमहरूबारे उल्लेख गर्दै गाजालाई ‘अन्तिम बाँकी मोर्चा’का रूपमा चित्रित गरे।

दमास्कससँग वार्ता शुरू भएको भन्दै उनले ‘शान्तिका लागि सम्भावना खुलेको’ दाबी गरे तर अन्तिम चुनौती हमास भएको दोहोर्‍याए।​​​​​​​

नेतान्याहुले आफ्नो प्रमुख सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पटकपटक प्रशंसा गरे। उनले परम्परागत शैलीमै नक्सा, चिह्न र ‘द कर्स’ शीर्षकसहित भिजुअल एड्स (दृश्य सामग्री) प्रयोग गरेर सन् २०२३ अक्टोबर ७ को हमास आक्रमण र इजरायली बन्धकहरूको प्रसंग वर्णन गरे।

इजरायली सरकारले उनको सन्देश गाजामा पनि प्रसार गरिएको दाबी गरेको छ, जसका लागि मोबाइल र लाउडस्पिकर प्रयोग भएको बताइएको छ। तर, एसोसिएटेड प्रेस (एपी) का पत्रकारहरूले भने प्रत्यक्ष प्रमाण देखेनन्।

वाडी गाजाका विस्थापित मोनिर तालिबले प्रतिक्रिया दिँदै भने, “हामी ढिलो वा चाँडै स्वतन्त्रता पाउँछौँ।” अर्का विस्थापित अमजद अब्देल दाइमले भने, “उहाँले हमासलाई लक्ष्य बनाएको भन्नुहुन्छ, तर युद्ध हामी जस्ता साधारण, गरिब मानिसविरुद्ध चलिरहेको छ।”

हमासले नेतान्याहुलाई युद्धलाई निरन्तरता दिने झूटो बहानाबाजी गरेको आरोप लगाएको छ। हमासले विज्ञप्ति जारी गर्दै भनेको छ, “यदि उहाँले बन्धकबारे साँच्चिकै चिन्ता गरेका भए उहाँले नरसंहार र गाजाको विनाश रोक्नुहुन्थ्यो।”

हालै अस्ट्रेलिया, क्यानडा, फ्रान्स, बेलायतसमेतले प्यालेस्टिनी राज्यलाई मान्यता दिएकाले यस वर्षको संयुक्त राष्ट्र सम्बोधन नेतान्याहुका लागि उच्च जोखिमपूर्ण मानिएको थियो। युरोपेली संघ (ईयू)ले कर र प्रतिबन्धबारे छलफल गरिरहेको छ। महासभाले इजरायललाई दुई–राज्य समाधानप्रति प्रतिबद्ध हुन आग्रह गर्ने प्रस्तावसमेत पारित गरिसकेको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले नेतान्याहुविरुद्ध मानवता विरुद्धको अपराधमा गिरफ्तारी वारेन्ट जारी गरिसकेको छ, जसलाई उनले अस्वीकार गरेका छन्। साथै, संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले गाजामा नरसंहार गरेको आरोपबारे सुनुवाइ गरिरहेको छ।

महासभा हलनजिकै सयौँ प्यालेस्टिनी समर्थकले प्रदर्शन गर्दै ‘इजरायलले मानवताविरुद्ध युद्ध गरिरहेको छ’ भन्दै नारा लगाएका थिए।

इजरायल समर्थक गैरसरकारी संस्था यूएन वाचले भने नेतान्याहुको सम्बोधनलाई आतंकवादविरुद्धको दृढता र छिमेकीहरूसँग सम्भावित शान्तिको दृष्टिकोणको मिश्रण भएको भन्दै प्रशंसा गरेको छ।

तर विरोध बढ्दो छ। सुरक्षा परिषद्को विशेष सत्रमा धेरै राष्ट्रले सन् २०२३ को हमास आक्रमणलाई निन्दा गरे पनि इजरायलको अत्यधिक बल प्रयोगको आलोचना गर्दै तत्काल युद्धविराम र मानवीय सहायता खोल्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार गाजामा इजरायली आक्रमणले हालसम्म ६५ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, ९० प्रतिशतभन्दा बढी जनसंख्या विस्थापित भएको छ र लाखौँ भोकमरीको जोखिममा छन्।

अहिलेसम्म १५० भन्दा बढी देशले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन्। यद्यपि संयुक्त राज्य अमेरिकाले इजरायललाई स्पष्ट समर्थन नदिए पनि राष्ट्रपति ट्रम्पले पश्चिम किनार विलयलाई अस्वीकार गर्ने संकेत गरेका छन्। नेतान्याहुको सरकारले भने त्यस्तो कदमलाई समर्थन गर्ने सदस्यहरू राखेको छ, जसले विवादास्पद नयाँ बस्ती परियोजना अगाडि बढाएको छ।

नेतान्याहु र ट्रम्पबीच सोमबार भेट हुने कार्यक्रम छ। ट्रम्पले सामाजिक सञ्जालमा गाजासम्बन्धी छलफललाई ‘फलदायी’ भनेका छन्। नेतान्याहुले पछि संयुक्त अरब इमिरेट्स (यूएई) का विदेशमन्त्रीसँग पनि भेट गरे। यूएईले पश्चिम किनार विलय भए आफ्नो कूटनीतिक सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएको छ।

यसैबीच, प्यालेस्टिनी प्राधिकरणका नेता महमुद अब्बासले महासभामा भिडियो सम्बोधन गर्दै नयाँ मान्यतालाई स्वागत गरे र अझ बढी कदम चाल्न आग्रह गरे। प्यालेस्टिनीहरूले पश्चिम किनार, पूर्वी जेरुसेलम र गाजालाई भविष्यको राज्यको रूपमा हेरेका छन्, जसलाई ‘दुई–राज्य समाधान’ भनिन्छ। नेतान्याहुले भने यस्तो राज्य निर्माणले हमासलाई पुरस्कृत गर्ने दाबी गरे।

भाषणको अन्त्यमा नेतान्याहुले भने, “इजरायलले सबै राष्ट्रको तर्फबाट कट्टरपन्थी इस्लामसँग लडिरहेको छ। तपाईंलाई थाहा छ—यो तपाईंको लडाइँ पनि हो।” रासस/एपी