ताइवानमा आँधीका कारण ताल फुट्दा १४ को मृत्यु

चीनका दक्षिणी १० शहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन्। मकाउको क्यासिनो क्षेत्रमा बाढीका कारण बिजुली आपूर्ति काटिएको छ।

ताइवानमा आँधीका कारण ताल फुट्दा १४ को मृत्यु
एपी

ताइवानमा ‘रागासा’ आँधीका कारण दशकौँ पुरानो ताल फुट्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।  

आँधी दक्षिण चीनतर्फ प्रवेश गर्दै गर्दा भीषण हावा, मुसलधारे वर्षा र उच्च समुन्द्री लहरको जोखिम बढेको जनाइएको छ। हङकङमा धेरै ठाउँमा रूख ढलेका छन्। नदीमा बाढी आएको छ। 

शहर अझै आँधीबेहरी–स्तरको हावाबाट प्रभावित हुने पूर्वानुमान हङकङ अब्जर्भेटरले जनाएको छ। तटीय क्षेत्रमा पानी सामान्यभन्दा तीन मिटरभन्दा माथि पुगेको छ।

मकाउको क्यासिनो क्षेत्रमा पनि व्यापक बाढी देखिएपछि केही क्षेत्रमा बिजुली आपूर्ति काटिएको छ। उत्तरी फिलिपिन्समा दुई जनाको मृत्यु भइसकेको छ। 

चीनका दक्षिणी १० शहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन्। लाखौँ मानिस प्रभावित भएका छन्। याङजियाङ शहरका सडकमा सवारी गुडेका छैनन् भने रेल सेवा स्थगित गरिएको छ।

गभर्नर र अधिकारीहरूले भारी वर्षाले थप क्षति गर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। (रासस/एएफपी)