आन्दोलनका भिडियो र तस्वीर हेर्दै प्रहरी, अपराधमा संलग्नलाई धमाधम पक्राउ

आन्दोलनका नाममा गरिएका विध्वंशका भिडियो र तस्वीर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्। कतिपयले प्रहरीकै पोसाक लगाएर बन्दुकसहित सडकमा उत्रिएको भिडियो र तस्वीर पनि सञ्जालमा छन्।

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई प्रहरीको हत्या भयो। त्यसको करिब दुई सातापछि हत्या आरोपमा दुई जना पक्राउ परेका छन्।

प्रहरीले सिन्धुपाल्चोकका ओम पौडेल र काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो। उनीहरूमाथि कर्तव्य ज्यान कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ।

आन्दोलनका क्रममा प्रहरी वृत्तमा आगजनी गरेको समूहले त्यहाँका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको हत्या गरेका थिए। यस्तै, कोटेश्वर प्रहरी प्रभागमा कार्यरत सहायक हवल्दार अमृत गुरूङको पनि हत्या भएको थियो।

प्रहरीको हत्यासँगै त्यो दिन काठमाडौँ उपत्यकाका धेरै प्रहरी कार्यालयमा आगजनी भए। त्यस क्रममा हतियार, सञ्चार सेट, पोसाकलगायत सामग्री लुटिए।

आन्दोलनकै बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भयो। आन्दोलनले अशान्त बनेको देशभरको जनजीवन अहिले सामान्य बनिरहेको छ। प्रहरीले पनि जलाइएका प्रहरी कार्यालय सफा गरेर र कतै वैकल्पिक व्यवस्था गरेर शान्तिसुरक्षाको जिम्मेवारी सम्हालिसकेको छ।

अहिले प्रहरीले हत्या, आगजनी र लुटपाटमा संलग्नलाई पक्राउ गर्न थालेको छ। यसैक्रममा, कुपन्डोलमा रहेको प्रहरी प्रभाव हनुमानस्थानको भवनमा आगजनी र तोडफोडमा संलग्न दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सानेपाकी २४ वर्षीया सृष्टि तामाङ र बैतडीका २४ वर्षीय धीरेन्द्र चन्द छन्। उनीहरुविरूद्ध पनि अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

त्यस्तै, प्रहरी वृत्त कालीमाटी तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा ३८ वर्षीय सचिन खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनले वृत्तमा आगजनी गर्ने समूहको नेतृत्व गरेको खुलेको प्रहरीको भनाइ छ।

जेनजी आन्दोलनको दोस्रो दिन विध्वंश मच्चाउँदै केही समूहले महत्त्वपूर्ण सार्वजनिक सम्पत्ति, प्रहरी कार्यालय, व्यक्तिका निजी सम्पत्ति र व्यापारिक प्रतिष्ठानमा आगजनी, तोडफोड र लुटपाट गरे। दुई दिन अशान्त बनेको देश सामान्य बन्दै गएपछि प्रहरीले आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्न भएकाको खोजी थालेको छ।

दोस्रो दिन गरिएको विध्वंशका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्। सामाजिक सञ्जालमा भेटिएका तिनै भिडियो, तस्वीर तथा विभिन्न प्रमाणका आधारमा प्रहरीले अनुसन्धान थालेको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याइने बताए। “आन्दोलनको समयमा आगजनी, तोडफोड लुटपाटदेखि चोरीका घटना भएका छन्,” उनले भने, “कानून उल्लंघन गर्नेलाई सोहीअनुसार कारबाही अघि बढ्छ।”

उनका अनुसार, प्रहरी हिरासतबाट भागेका थुनुवालाई पनि पक्राउ र अनुसन्धान थालिएको छ। देशभरका प्रहरी हिरासतमा रहेका करिब २ हजार थुनुवा भागेका थिए।

“अनुसन्धानकै क्रममा हिरासतमा रहेकाहरू पनि भागेका थिए। अहिले फेरि पक्राउ गरेर न्यायिक प्रक्रिया शुरू भइसकेको छ,” उनले भने, “३०० भन्दा बढी थुनुवा पक्राउ परिसकेका छन्।”

प्रहरीले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा भएका अप्रिय घटना, आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास सृजना हुने किसिमका गतिविधिका तस्वीर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंक उपलब्ध गराउन सार्वजनिक आह्वान नै गरेको थियो। गोपनीयता कायम रहने भन्दै ईमेलमार्फत् त्यस्ता प्रमाणजन्य विषय उपलब्ध गराउन प्रहरीको आग्रह थियो।

आपराधिक गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याउन देशभर नै सर्कुलर जारी गरेर विभिन्न टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले जानकारी दिए। उनले भने, “सरकारले आयोग बनाएको छ। आयोगले हेर्ने विषय एउटा होला, हामीले कानून उल्लंघन गरिएका घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका हौैँ।”

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दानबहादुर कार्कीले आन्दोलनका समयमा भएका आपराधिक गतिविधिमा संलग्नलाई प्रहरीले कानून बमोजिम कारबाही गर्ने र त्यो प्रक्रिया शुरू भइसकेको बताए।