दशैँमा शहरबासीका लागि च्यांग्राको मासुको स्वाद ‘ब्रान्ड’ बनेको छ। दशैँमा मुस्ताङबाट शहर झारिँदै गरिएका च्यांग्राका हुल देखिन्छ। तिनको जीवनचक्र भने हिमाली क्षेत्रको मौसमी परिवर्तनले प्रभावित भइरहेको छ।
म्याग्दी– यस वर्ष दशैँका लागि मुस्ताङ हुँदै १४ हजार ६०० भन्दा धेरै च्यांग्रा शहरतर्फ गइसकेका छन्। यी च्यांग्रा पोखरा, काठमाडौँ तथा अन्य शहर पुग्छन्।
केही वर्षदेखि मुस्ताङबाट आउने च्यांग्राले दशैँमा मासुको माग धान्ने गरेका छन्। मुस्तांगी च्यांग्रा मासुको ‘ब्रान्ड’ नै बनेको छ। मुस्ताङबाट आउने हिमाली बाख्रा (च्यांग्रा) र हिमाली भेडा (चेलुक) लाई शहरतिर च्यांग्रा नै भनेर चिनिन्छ।
भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार असोज ७ गते दिउसो १ बजेसम्म क्वारेन्टाइन जाँचपास गरी करिब १४ हजार ६६८ च्यांग्रा जोमसोमबाट छुटेका छन्। कोरला भन्सार कार्यालयबाट भन्सार तिरेर करिब ५५० तिब्बती च्यांग्रा नेपाल भित्रिएका छन्।
मुस्ताङबाट च्यांग्रा र चेलुक दशैँतिहारमा मात्र शहरतिर पठाइन्छ। यसको मासुको मूल्य खसीको तुलनामा महँगो पर्छ। चिसो वातावरणमा हुर्केका यी च्यांग्रा सबै मुस्ताङका भने होइनन्। वारागुङमुक्तिक्षेत्र गाउँपालिकामा पर्ने फलेकका किसान स्याङ्वो गुरुङका अनुसार, मुस्ताङबाट जानेमध्ये करिब आधा च्यांग्रा रैथाने र बाँकी डोल्पा, जुम्ला, मुगु र तिब्बतबाट समेत ल्याइएका हुन्छन्।
मुस्ताङकै बाटो भएर लगिने हुँदा अन्यत्रका च्यांग्रालाई पनि मुस्ताङकै भनेर चिनिन्छ। तर यस वर्ष धेरै कम च्यांग्रा शहरतिर पठाइएको गुरुङको भनाइ छ। पशुसेवा विज्ञ केन्द्र मुस्ताङले पनि यो वर्ष अनुमानभन्दा करिब पाँच हजार च्यांग्रा कम आएको जनाएको छ।
गुरुङका अनुसार, देशको राजनीतिक माहोल परिवर्तन भएको कारण व्यापार कम हुने आंकलन गरी मुस्ताङका कृषकले कम च्यांग्रा बेच्न ल्याए। उनी भन्छन्, “मुस्ताङका च्यांग्रा कुनै न कुनै रूपमा (कोसेलीसमेत) अधिकांश उच्च सरकारी अधिकारी र नेतृत्वमा पुग्ने हो, यस वर्ष माहोल राम्रो नभएकोले बजार लैजाने आँट आएन।”
मुस्ताङबाट कम च्यांग्रा मात्र स्थानीय किसानले बजारमा ल्याए पनि डोल्पा, मुगु र तिब्बतबाट धेरै आएपछि गत वर्षभन्दा दुई हजार बढी च्यांग्रा शहर पठाइएका छन्। गत वर्ष मुस्ताङका आठ हजार र डोल्पा तथा मुगुबाट चार हजार गरी १२ हजार च्यांग्रा बाहिरिएका थिए। गत वर्ष स्थानीय व्यापारीले चोरबाटो हुँदै तिब्बतबाट पनि च्यांग्रा ल्याएको स्थानीयको भनाइ छ। त्यसकारण पनि औपचारिक संख्या कम भएको स्थानीय अधिकारीसमेत बताउँछन्।
गत असारमा पनि कोरला नाकापूर्वको ३३ नम्बर सीमास्तम्भ रहेको क्षेत्रबाट चोरबाटो हुँदै केही तिब्बती च्यांग्रा नेपाल भित्र्याउने प्रयास भएको थियो। तर शसस्त्र प्रहरीको लोमन्थाङ बीओपीले पक्राउ गरेको थियो।
खुम्चिँदै परम्परागत पेसा
मुस्ताङका प्रायः घरमा धेरथोर च्यांग्रा पाल्नु परम्परागत चलन हो। तर वैदेशिक रोजगारी र शहर बसाइँ जाने चलनले च्यांग्रा पाल्नेहरू घट्दै गएका छन्। चरनमा लगेर पालिने परम्परागत तरिकाको साटो व्यावसायिक फार्ममा खोर बनाएर पाल्ने किसान पनि धेरै छन्।
च्यांग्राको मूल्य किसान र स्थानीय व्यापारीको ‘डिल’मा भर पर्ने पशुसेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. अर्याल बताउँछन्। “व्यापारीले मूल्य दिन सकेनन् भने कृषकले बरु अर्को वर्ष कुर्ने, तर मूल्य नघटाउने भन्ने हुने रहेछ,” उनी भन्छन्, “कृषकहरूसँगको अनौपचारिक कुराकानीमा गत वर्षभन्दा प्रतिगोटा ५ देखि ७ हजारसम्म मूल्य बढ्ने देखिन्छ।”
मुस्ताङको थासाङ गाउँपालिकाबाहेक सबै पालिकामा च्यांग्रा पालन हुन्छ। म्याग्दीसँग जोडिएको थासाङ भने तल्लो भेगमा पर्छ। पशुसेवा विज्ञ केन्द्रका अनुसार, मुस्ताङमा अहिले करिब ६२ हजार च्यांग्रा र चेलुक पालन भइरहेको छ। यीमध्ये करिब ५६ हजार ४०० च्यांग्रा र पाँच हजार ४२६ चेलुक छन्।
सबैभन्दा बढी वारागुङमुक्ति क्षेत्र गाउँपालिकामा २० हजार ६१६ च्यांग्रा र ३०८ चेलुक छन्। लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १७ हजार ३४९ च्यांग्रा र १४९ वटा चेलुक, लोमन्थाङ गाउँपालिकामा १४ हजार ३९८ च्यांग्रा र १८ सय २९ चेलुक छन्। त्यस्तै, घरपझोङ गाउँपालिकामा ४ हजार ४२ च्यांग्रा र ४३३ चेलुक तथा थासाङ गाउँपालिकामा १३ सय ८४ च्यांग्रा र ३७ चेलुक पालिएका छन्।
एक दशक अघिसम्म मुस्ताङको उपल्लो भेगका लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा धेरै च्यांग्रा पालिन्थ्यो। पछिल्ला केही वर्षमा च्यांग्रापालन घटेको छ। स्थानीयहरू परम्परागत पेसा छोडेर वैदेशिक रोजगारी र पर्यटन व्यवसायतर्फ लागेका छन्।
नेपालमा च्यांग्रा, सिन्हाल, खरी र तराई गरी चार जातका रैथाने बाख्रा छन। लामा रौँ भएका, बाक्लो हिउँ खप्ने क्षमता भएका हिमाली बाख्रा नै च्यांग्रा हुन्। उच्च पहाडी भेगमा पाइने सिन्हाल जातका बाख्रा नेपालका रैथानेमध्ये सबैभन्दा ठूला हुन्छन। केही चिसो खप्न सक्ने सिन्हाल जातका बाख्राले हिउँ भने खप्न सक्दैनन्।
नेपालमा भेडाका पनि भ्याङ्लुङ्ग, बरुवाल, कागे र लामपुच्छ्रे गरी चार वटा रैथाने जात छन्। चेलुक हिमाली भेगका भेडा हुन्। यिनलाई हिमाली क्षेत्रमा च्यांग्रासँगै पालिन्छ।
परम्परागत रूपमा खुला आकाशमुनि पालिने च्यांग्रा ब्याउने भएपछि भने खोरमा राखेर जौ, उवालगायत अन्न खुवाएर पालिन्छ। अहिले गाउँमा खेती गर्नेको संख्या घटेपछि दाना अभाव भएको लोमन्थाङ गाउँपालिका–२ नाम्सुङका ६५ वर्षीय छिमी दोर्जे गुरुङ बताउँछन्। शहरबाट दाना ल्याएर खुवाउँदा महँगो पर्छ।
छिमी दोर्जेका अनुसार, खेती गर्ने मान्छे नपाएपछि स्थानीयले टाढाको खेती छाडे। नाउर, झारललगायत वन्यजन्तु हिउँदमा चरन खोज्दै बस्तीतिरका खेतबारी आउन थाले। आहार नै तल झरेपछि नाउर, झारल खोज्दै हिमचितुवा र ब्वाँसोहरू पनि बस्ती नजिक आउन थाले। अनि, चितुवा र ब्वाँसाले च्यांग्रा खाइदिन थाले।
अहिले चरनकै अभाव
बालुवाले छोपेको मुस्ताङका उच्च पहाडी क्षेत्रमा फाट्टफुट्ट पलाउने झाडी नै चौपायाको चरन हो। च्यांग्रा, चौरी, स्थानीय झोपागाई र घोडालाई यस्तै झाडी भएको क्षेत्रमा चराउन लगिन्छ। छेम्मा र तोरा जातका झाडीमा स–साना अमिलो स्वादका फल लाग्छन। स्थानीयले यी फलबाट चुक अमिलो पनि बनाउँछन्।
स्थानीयले टुक्यह्मा, म्ह्याँ, तालाङ भनेर चिन्ने झाडी पनि चौपायाको चरन क्षेत्रमा हुन्छन्। मुस्ताङका च्यांग्रा चरन क्षेत्रमा दैनिक १५ देखि १८ किलोमिटरसम्म हिँड्छन्। यस्ता च्यांग्राको मासु खँदिलो हुने विज्ञहरू बताउँछन्।
उता, तिब्बतमा त्यहाँको सरकारले कृषकलाई अनुदान दिने भएकाले खोर बनाएर च्यांग्रा पालिन्छन्। तिनलाई घाँसभन्दा पनि दाना खुवाइन्छ। त्यसकारण तिब्बतका च्यांग्राको मासु बोसोयुक्त र कम खँदिलो हुन्छ।
अहिले मुस्ताङमा पनि चरन अभाव हुन थालेको नाम्सुङका छिमी दोर्जे बताउँछन्। हिउँदमा धेरै हिउँ परे गाउँ नजिकै प्रशस्त घाँस हुने उनको भनाइ छ। मंसिर–फागुनमा तल्लो भेगमा त हिमपात नै हुन छाड्यो।
हिमपात नहुँदा झाडी प्रकृतिको घाँस पनि माथिल्लो भेगतिर सर्दै गएको छ। “गाउँको नजिक धेरै घाँस उम्रिए च्यांग्रा र चौरी चराउन टाढा जानु पर्दैन। तर अहिले चरन अपुग हुन थालेको छ,” उनी भन्छन्।
पछिल्ला वर्ष हिउँदमा हिउँ कम परी एकै दिनमा पग्लिँदा पानी नपुगेर घाँस उम्रिन छोडेको छिमी दोर्जे बताउँछन्। चरन क्षेत्र घट्दै जाँदा च्याङग्रा पनि घटेको उनको भनाइ छ। आफूले ४५ वर्षसम्म च्यांग्रा गोठालो गरेको उनी बताउँछन्।
परम्परागत रूपमा च्यांग्रा पाल्नेको संख्या घट्दै गए पनि व्यावसायिक रूपमा फर्म दर्ता गरी पाल्नेको संख्या भने बढेको छ। भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङको अभिलेखमा आर्थिक वर्ष २०७८/७९ मा मुस्ताङभर ३८ हजार हाराहारी मात्र च्यांग्रा थिए। यो संख्या बढेर गत आर्थिक वर्षमा ५६ हजारभन्दा बढी पुगेको थियो। सोही अवधिमा गण्डकी प्रदेश सरकारले मुस्ताङमा च्यांग्रा पालनमा ३ करोड ७ लाख रुपैयाँ अनुदान वितरण गरेको थियो।
जलवायु परिवर्तनको असर
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमन्थाङ प्रमुख उमेश पौडेल उपल्लो मुस्ताङमा परम्परागत रूपमा च्यांग्रा पाल्ने किसान र च्यांग्रा दुवैको संख्या घटेको बताउँछन्। पशुपालन र कृषि उत्पादन घट्नुमा वर्षा र हिमपातको ट्रेण्ड फेरिनु पनि एउटा कारण भएको उनको भनाइ छ। “तर सबै कुरा जलवायु परिवर्तनमा जोड्नु उपयुक्त हुँदैन,” उनी भन्छन्, “हिउँदका चार महिना अलि चरनको समस्या हो।”
हिउँदमा हिउँ पर्नेक्रम कम भएसँगै हिमरेखा माथि सर्दै गएको छ। हिमरेखा माथि सर्दा घाँस उम्रिने तह पनि माथि सर्छ। यसरी चरन खुम्चिँदै जाँदा च्यांग्रापालन खोरमा खुम्चिने अवस्था छ।
तर हिउँको साटो पानी पर्दा पनि च्यांग्रालाई हानि पुग्छ। च्यांग्राले हिउँ खपे पनि वर्षा खप्न सक्दैनन्। पानीमा भिज्दा तुरुन्दै चिसो लाग्ने र निमोनिया हुने हुन्छ। मुस्ताङमा जलवायु परिवर्तनले मनसुनमा लामो झरी र बाक्लो वर्षा हुँदा च्यांग्राको जीवनचक्र प्रभावित हुने पशु चिकित्सक बताउँछन्।
हिमालपारिको मुस्ताङमा वर्षा र हिमपातको प्रवृत्ति फेरिन थालेको दुई दशकभन्दा बढी भएको स्थानीय बताउँछन्। हिउँदमा हिउँ नपर्नु, मनसुनमा अस्वाभाविक र औषतभन्दा बढी पानी पर्नु जस्ता कारण हिमाली क्षेत्रको मुख्य पशुपालन व्यवसायमा समस्या हुन थालेको छ।
पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. अर्याल जलवायु परिवर्तनको कारण हिमाली भेगको पशुपालन क्षेत्रमा मुख्य दुई खालका समस्या सिर्जना भएको बताउँछन्। पहिलो, हिउँ खप्न सक्ने तर पानी खप्न नसक्ने च्यांग्राको वंशाणुगत गुणमै असर परेको छ। अर्को, हिउँदमा हिउँ नपर्दा घाँस उम्रने बेला घाँस भन्दा पहिला विषालु झार उम्रन थालेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
