अन्तर्वार्ता
‘हामी अहिलेको आयोगको सिफारिस कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त छौँ। विगतमा कार्यान्वयन नगर्ने प्रवृत्ति थियो, अहिले केही फरक छ, त्यसैले शंका नगरौँ।’
तपाईंको नेतृत्वमा आयोग गठन भएको विषयलाई कसरी लिनुभएको छ?
सरकारले आयोग गठन गरेर जुन जिम्मेवारी दिएको छ, त्यसलाई सकारात्मक रूपमा नै लिएको छु। यो न्यायिक आयोग हो। हामी निष्पक्ष रूपमा छानबिन गर्छौं। छानबिनका क्रममा जो-जो दोषी देखिन्छन्, उनीहरूमाथि कारबाहीका लागि सिफारिस गर्छौं। आयोगको काम छिट्टै नै शुरू हुन्छ।
आयोगको काम कसरी अघि बढ्छ?
पहिलो कुरा त आइतबार (आज) मात्र आयोग गठनको निर्णय भएको छ। हामीहरूलाई नियुक्तिको पत्र प्राप्त भएर शपथ ग्रहण होला। त्यसपछि कार्यालय स्थापना भएर जनशक्ति उपलब्ध भइसकेपछि काम अघि बढ्छ। त्यसपछि अनुसन्धानको प्रक्रिया शुरू हुन्छ। हामी प्रहरी, कानून, मानव अधिकार, सबै क्षेत्रका मानिससँग आवश्यक सहयोग लिएर नै काम गर्छौं। कर्मचारी चाहिएमा सरकारले व्यवस्था गर्छ। हामीलाई छानबिनका क्रममा सबै क्षेत्रको सहयोग आवश्यक पर्छ। सार्वजनिक भएका विषयलाई पनि हामीले प्रमाणका रूपमा हेरेर अनुसन्धान गर्छौं।
सरकारले यसअघि पनि धेरै घटनामा आयोग गठन गरे प्रतिवेदन पनि कार्यान्वयन गरेन। तपाईंकै नेतृत्वमा मिटरब्याज पीडितको विषयमा पनि आयोग गठन भयो। अहिलेको आयोगले कसरी काम गर्छ?
चुनौती जहाँ पनि हुन्छ। अहिलेको अवस्था संवेदनशील छ। देश खरानी भएको अवस्था छ। मानिसहरू गोली खाएर मरेका छन्। हामी निष्पक्ष रूपमा छानबिन गर्छौं र जो दोषी देखिन्छ, उसलाई कारबाहीको सिफारिस गर्छौं। प्रतिवेदन दिन्छौँ। प्रतिवेदन कार्यान्वयन गर्ने वा नगर्ने सरकारको काम हो। अहिलेको र पहिलेको स्थिति फरक छ। अहिलेको सिफारिस कार्यान्वयन हुन्छ भन्नेमा हामी पूर्ण आशावादी छौँ।
जाँचबुझ आयोगले छानबिनका क्रममा के-के हेर्छ?
पहिलो कुरा त २३ गतेको आन्दोलनमा मानिस मारिएका छन्। युवामाथि गोली प्रहार भएको छ। त्यसको दोस्रो दिन २४ गते विध्वंस मच्चिएको छ। कार्यादेश पाइसकेको छैन। तर, मुख्य कार्यादेश भनेकै २३ गते भएको ज्यादतीमा कसरी यति धेरै मानिस मारिए, त्यसमा को-को दोषी छन् भन्ने हेर्ने हो। २४ गते देशलाई खरानी पार्ने गरी जलाइयो, त्यसमा को दोषी छ त्यो पत्ता लगाएर नै कारबाहीका लागि सिफारिस गर्ने हो। मुख्य कार्यादेश यही हो र हाम्रो छानबिन पनि यसमा नै केन्द्रित हुन्छ। छानबिनका क्रममा देखिएका अन्य विषय पनि हेर्छौं।
प्रतिवेदन भोलि सरकारले कार्यान्वयन गर्छ?
सरकारले गठन गरेका आयोगले दिने जुन सुकै प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ। त्यसको अक्षरशः पालन गर्नुपर्छ। मैले धेरै पहिलेदेखि नै भन्दै आएको छु। सिफारिस गलत भए गलत भन्नुपर्यो, होइन भने त सिफारिस कार्यान्वयन गर्नुपर्छ नि, होइन र? भर्खर आयोग गठन भएको छ। हामी अहिलेको आयोगको सिफारिस कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त छौँ। विगतमा कार्यान्वयन नगर्ने प्रवृत्ति थियो, अहिले केही फरक छ, त्यसैले शंका नगरौँ।
तीन महिनामा आयोगले छानबिन सक्छ त?
भविष्यको कुरा अहिले नगरौँ। हामीले काम गर्ने हो। सरकारले तीन महिनाको म्याद तोकेको छ। त्यसभित्र आयोगले काम सकेर प्रतिवेदन दिने प्रयास गर्छौं। समिति त्यसैमा केन्द्रित हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
