बेलायत र पोर्चुगलले प्यालेस्टिनी राज्यलाई मान्यता दिने, इजरायलको आपत्ति

इजरायलले गाजामा बमबारी जारी राखेको छ। लामो समयदेखि इजरायलको सहयोगी रहँदै आएका राष्ट्रहरू यही कारण आफ्नो नीतिमा परिवर्तन गर्न थालेका छन्।

बेलायत र पोर्चुगलले प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे हुने प्रमुख बहसको एक हप्ताअघि यस्तो घोषणा गर्न लागेका हुन्। 

बेलायती मिडियाले प्रधानमन्त्री किर स्टार्मरले आइतबार नीति परिवर्तनको घोषणा गर्ने उल्लेख गरेका छन्। स्टार्मरले जुलाईमै राष्ट्रासंघको महासभा शुरू हुनुअघि इजरायलले हमाससँग युद्धविरामतर्फ ठोस कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने बताएका थिए। 

यस कदमले ‘दुई–राज्य समाधानका लागि अधिकतम प्रभाव पार्ने उचित क्षणमा शान्ति प्रक्रियामा योगदान पुर्‍याउने’ उनको भनाइ थियो। यद्यपि यसबारे इजरायलले कडा आपत्ति जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस घोषणालाई ‘राक्षसी आतंकवादलाई पुरस्कृत गर्ने’ आरोप लगाएका थिए। 

पोर्चुगलको विदेश मन्त्रालयले पनि आइतबारै मान्यता दिने घोषणा गर्ने जनाएको छ। लिस्बनले यसअघि नै गाजाको मानवीय संकट र इजरायलको कब्जा गर्ने धम्कीलाई कारण देखाउँदै आफ्नो अभिप्राय सार्वजनिक गरेको थियो।

फ्रान्स र क्यानाडा पनि संयुक्त राष्ट्रसंघको बैठकमा प्यालेस्टाइनलाई मान्यता दिने तयारीमा रहेको जनाइएको छ।

सन् २०२३ मा हमासले आक्रमण गरेपछि इजरायलले गाजामाथि आक्रमण शुरू गरेको थियो। यसका कारण लामो समयदेखि इजरायलका सहयोगी रहँदै आएका राष्ट्र हालै आफ्ना नीतिमा परिवर्तन गर्न बाध्य भएका छन्। घेराबन्दीमा परेको गाजाले ठूलो विनाश, मृत्यु र खानाको अभावका कारण गम्भीर मानवीय संकट भोगिरहेको छ।

इजरायलले गाजामा बमबारी जारी राखेको छ। राष्ट्रसंघ समर्थित भोक निगरानीकर्ताले क्षेत्रका केही भागमा अनिकाल घोषणा गरेका छन्। इजरायली सेनाले गाजा शहर कब्जा गर्न ‘अभूतपूर्व बल’ प्रयोग गर्ने चेतावनी दिएको छ। (रासस/एएफपी)