कोरोनाका कारण एयर होस्टेसको जागिर छुटेर खाली बसेकी स्वेतालाई प्रशिक्षक तथा राष्ट्रिय खेलाडी रोजेशले यस विधामा लाग्न सुझाएका थिए। उनको निगरानीमा स्वेताले केबल दुई महिना मात्रै तयारी गरेकी थिइन्।
कास्की- कोरोना महामारीले गर्दा मुलुकको आर्थिक क्षेत्रमा अकल्पनीय क्षति पुग्यो। डामाडोल अर्थतन्त्रका कारण कसैले जागिर गुमाए त कसैले पेशा नै फेरे। पेशा नै परिवर्तन गर्नेमध्ये एक हुन्, पोखरामा जारी नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक जितेकी बडी बिल्डिङकी स्वेता कपाली।
नवौँ खेलकुदतर्फ बडी बिल्डिङमा पहिलोपटक समावेश भएको ‘वुमन्स मोडल फिजिक’ स्पर्धामा स्वर्ण ल्याउने पहिलो खेलाडी नै स्वेता बनिन्। पोखरास्थित राष्ट्रिय सभागृहमा सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मीकातर्फबाट सहभागी उनले आफ्नै फिटनेस सेन्टरकी रोजिना खायामालीसहित ८ खेलाडीलाई पछि पार्दै ऐतिहासिक स्वर्ण जितेकी हुन्।
“पहिलो प्रतियोगितामै स्वर्ण जित्दा निकै खुशी छु। यो जित मेरो परिवार र गुरुहरू रोजेश शाही र प्रज्जवलमान शाक्यप्रति समर्पित गर्न चाहन्छु,“ स्वेताले उकालोसँग भनिन्।
स्वेता पेशाले भने बडी बिल्डर होइनन्। कसिलो शरीर भएकी २८ वर्षीया उनी तीन वर्षअघिसम्म एयर होस्टेज थिइन्। तर, कोरोना महामारीका कारण उनी कार्यरत इमिरेट्स एयरलाइन्स पनि नराम्ररी प्रभावित भयो। एक देशबाट अर्को देशमा हुने एयरलाइन्सका अधिकांश उडान र कर्मचारी सबै कटौती गरियो। त्यसपछि उनी एयर होस्टेजको काम छाडेर जन्मथलो काठमाडौँस्थित स्वयम्भू फर्किन्।
कोरोको तीव्र संक्रमणका कारण सरकारले 'लकडाउन' घोषणा गर्यो, सबै नेपाली घरभित्रै थुनिए। त्यसमा स्वेता पनि एक थिइन्। त्योबेला उनको दिनचर्या फेरियो। पुरानै पेशामा फर्किने तयारीमा रहेकी स्वेताको लकडाउनका बेला खाने र सुत्ने मात्रै गर्दा तौल बढ्न थाल्यो। एयर होस्टेज पेशामा फिट रहनुपर्नेमा छोरीको तौल बढ्दै गएपछि आमा सरिता लामाले उनलाई जिम जाने सल्लाह दिइन्।
"आवश्यकताभन्दा बढी मोटाएपछि रोग लाग्ने रहेछ। म पनि मोटी नै छु। सके म त जिम जान्थेँ," सभागृहबाहिर भटिएकी स्वेताकी आमाले हाँस्दै भनिन्, "तर, मोटाउन हुन्न है भनेर छोरीलाई जिम ज्वाइन गर्न लगाएँ। त्यही जिमका कारण अहिले छोरीले इतिहासमा नाम लेखाउन सफल भइन्।"
ऐतिहासिक स्वर्ण जितेकी स्वेताको तयारी भने बलियो थिएन। नियमित सामान्य 'वामअप' गरिरहेकी उनलाई प्रशिक्षक तथा राष्ट्रिय खेलाडी रोजेशले यस विधामा लाग्न सुझाए। पहिलोपटक बृहत् राष्ट्रिय खेलकुदमा यो विधा समेट्न लागेको जानकारी पाएपछि स्वेता उत्साही भइन्। त्यसपछि प्रशिक्षक रोजेशको निगरानीमा स्वेताले केबल दुई महिना मात्रै तयारी गरेकी हुन्।
यसअघि कुनै बडी बिल्डिङ प्रतियोगितामा भाग नलिएकी स्वेताको यो नै 'डेब्यू' खेल हो। प्रशिक्षक रोजेश भन्छन्, “उनको शरीर र अनुहार यो स्पर्धाका लागि एकदमै फिट भएर मैले नै खेल्न आग्रह गरेको हुँ। मेरो आशालाई मर्न दिइनन्, यसैमा खुशी छु।"
स्वेताका बुवा सुनिलकुमार कपाली पनि पूर्वबडी बिल्डर हुन्। २०४५ सालमा काठमाडौंमा सम्पन्न ‘मिस्टर भ्याली च्याम्पियनसिप’मा नेपाल व्यायाम मन्दिरबाट प्रतिनिधित्व गर्दै सुनिलले स्वर्ण जितेका थिए। त्यसपछि पारिवारिक कारणले बडी बिल्डिङलाई निरन्तरता दिन नसकेका उनी सुन व्यवसायतिर लागे।
काठमाडौँको न्यूरोडमा व्यवसाय गर्दै आएका सुनिल छोरीले आफ्नो पदचाप पछ्याएको देखेर खुशी छन्। “छोरीको सफलताले पनि आश्चर्यचकित छु। उनको मिहिनेतअनुसारको फल मिल्दा मलाई एकदमै खुशी लागिरहेको छ,” काठमाडौँमा रहेका सुनिलले उकालोसँग टेलिफोनमा भने।
सुनिलका दुई छोरीमध्ये स्वेता कान्छी हुन्। जेठी छोरी सुजना सुन व्यवसायमा बुबालाई सघाउँछिन्। बहिनीले प्रतियोगितामा भाग लिने थाहा पाएपछि उनी पनि सोमबार पोखरा पुगेकी थिइन्।
स्वेतासँगै भेटिएकी दिदी सुजनाले भनिन्, “बहिनीले यही प्रतियोगिताका लागि भनेर एकदमै मिहिनेत गरेकी थिइन्। हामीले पनि उसलाई साथ सहयोग दिन्थ्यौँँ। अहिले सफलता मिल्दा सबै परिवार एकदमै खुशी छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
