इजरायलले गाजामा आक्रमण तीव्र पारेपछि हमासले जारी गर्‍यो ४८ बन्धकको तस्वीर

हमासले इजरायलको लगातारको स्थल र हवाई आक्रमणले गाजामा रहेका बन्धकहरूको सुरक्षामा खतरा बढेको बताएको छ।

हमासको सशस्त्र शाखाले जारी गरेको यो तस्वीरमा गाजामा राखिएका ४८ जना बन्धकको अनुहार देखाइएको छ। हमासको कसम ब्रिगेड्सले जारी गरेको तस्वीर।

हमासको सशस्त्र शाखाले गाजामा बन्धक बनाइएका ४८ जना इजरायलीहरूको ‘बिदाइ तस्वीर’ जारी गरेको छ। इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्रमा आक्रमण तीव्र बनाइरहेका बेला हमासको 'कसम ब्रिगेड' ले शनिबार अनलाइनमा एक तस्वीर सार्वजनिक गरेको हो।

यी तस्वीरमा जीवित र मृत सबै बन्धकहरूको अनुहार देखाइएको छ। हरेक अनुहारको तल 'रोन अराद' लेखिएको छ। यो नाम सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेनको हो। उनको मृत्यु भएको मानिए पनि उनको अवस्था अझै अज्ञात छ।

तस्वीरमा एक सन्देश पनि लेखिएको छ, “नेतन्याहूको अस्वीकार र जमिरको आत्मसमर्पणका कारण गाजा शहरमा सैन्य अपरेसन शुरू गर्दाको बिदाइ तस्वीर।”

यो सन्देश प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको युद्ध जारी राख्ने अडान र इजरायली सेना प्रमुख इयाल जामिरको नेतृत्वमा गाजामा भइरहेको भीषण आक्रमणतर्फ लक्षित छ।

इजरायली अधिकारीले गाजामा करिब २० जना बन्धक जीवित रहेको अनुमान गरेका छन्। यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २० जनाभन्दा कम मात्र जीवित रहेको हुनसक्ने बताएका छन्। ट्रम्प र नेतान्याहूले सबै बन्धकलाई जीवित वा मृत अवस्थामा फिर्ता ल्याउने र हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हमासले निरन्तर रूपमा इजरायली आक्रमण र जमिन आक्रमणले बन्धकहरूको जीवन जोखिममा पर्ने चेतावनी दिँदै आएको छ। हमासका अनुसार, केही बन्धक इजरायली बमबारीमा मारिइसकेका छन् र बाँकी बन्धकहरू गाजा शहरका विभिन्न क्षेत्रमा छरिएर रहेका छन्।

हमासको यो धम्की शनिबार तेल अभिभ र अन्य शहरमा लाखौँ इजरायली नागरिकले सरकारको निन्दा गर्न र तत्काल युद्ध अन्त्य गरी बन्धकलाई फिर्ता ल्याउन माग गर्दै प्रदर्शन गर्ने तयारी गरिहरेका बेला आएको हो।

यसअघि पनि हमासले दुई इजरायली बन्धकको भिडियो सार्वजनिक गरेको थियो। त्यसको एक महिनापछि अन्य दुई बन्धकको फुटेज पनि सार्वजनिक गरिएको थियो। फुटेजमा एक बन्धकले आफ्नै चिहान खनेको देखाइएको थियो। यी तस्वीर र भिडियोले बन्धकका परिवार, इजरायली अधिकारी र अन्तर्राष्ट्रिय समुदायमा ठूलो आक्रोश पैदा गरेको थियो। अल जजिराको सहयोगमा