सिभिलका चिकित्सकको चिन्ता– ‘केही घाइतेको हातखुट्टा नजोगिने डर छ’

डा. सुमनबाबु मरहट्टाले २०७२ सालको भूकम्पमा लगातार १५ दिनसम्म शल्यक्रिया गरेका थिए, तर त्यसबेला छोटो अवधिमा धेरै जनाको गर्नु परेको थिएन। जस्तो यो पटक दुई दिनमै ५० जनाको शल्यक्रिया भयो।

डा. सुमनबाबु मरहट्टा।

काठमाडौँ– डा. सुमनबाबु मरहट्टाले गत भदौ २३ गते बिहान पनि सिभिल अस्पताल पुगेर बिरामी जाँच्न शुरू गरिसकेका थिए। ओपीडीमा बिरामीको लाइन थियो। त्यही बेला आकस्मिक कक्षबाट फोनमा भनियो, “तुरुन्त आउनुपर्‍यो।”

त्यो दिन माइतीघर मण्डलमा जेनजीले आन्दोलन गर्ने तय भएकाले झडप हुनसक्ने आकलन थियो। अस्पतालको ‘डिज्यास्टर म्यानेजमेन्ट टिम’ले सबै सदस्यलाई तैनाथ रहन सर्कुलर जारी गरेको थियो। यसअघि माइतीघर र तीनकुनेमा भएका आन्दोलनका घाइते सिभिल अस्पताल लगिएकाले यो पटक पनि आउनसक्ने पूर्वानुमान थियो।

डा. मरहट्टा तत्काल आकस्मिक कक्ष पुगे। त्यहाँ पुग्दा, माहोल देखेर उनी चकित भए। लठ्ठी लागेका केही घाइते ल्याइएको होलान् भन्ने सोचेका उनले गोली लागेर रक्ताम्य भएका घाइते देखे। कति त कलेज ड्रेसमै थिए।

त्यतिबेलै केही घाइतेको ज्यान गइसकेको थियो, केहीको खुट्टाको हड्डी र मासु क्षतविक्षत थियो। गोलीले कतिपयको नसा काटेको थियो। डा. मरहट्टा भन्छन्, “६ जना घाइतेको टाउको तथा छातीमा गोली लागेको थियो, अस्पताल पुर्‍याउँदा उनीहरूको मृत्यु भइसकेको थियो।”

डा. मरहट्टा र अन्य चिकित्सकको टिमले ती घाइतेको प्राथमिक उपचार शुरू गरेको मात्रै थियो, अन्य घाइते पनि धमाधम ल्याउन थालियो। सिभिल अस्पतालको ३० बेडको आकस्मिक कक्ष एकैछिनमा भरियो। अस्पतालका अन्य विभागमा कार्यरत चिकित्सकसहितका जनशक्तिलाई पनि आकस्मिक कक्षमै बोलाइयो। 

दुई दिनमा ५० जनाको शल्यक्रिया
आकस्मिक कक्षमा तीन वटा क्षेत्र छन्, ग्रिन, एल्लो र रेड। घाइतेको जटिलताअनुसार उनीहरूलाई सम्बन्धित जोनमा राखियो। आकस्मिक कक्ष र अपरेसन थिएटरका लागि चिकित्सकको दुईवटा टोली बनाइयो। डा. मरहट्टा अपरेसन थिएटरको टोलीमा संग्लग्न भए।

अर्थोपेडिक्स सर्जनले रेड जोनमा भएका घाइतेलाई शल्यक्रिया गर्न थाले, कम जटिल घाइतेलाई अन्य चिकित्सकले ब्याण्डेज गर्ने तथा रगत रोक्ने उपाय गर्न थाले। एउटा टिमले घाइतेको एक्स–रे लगायत परीक्षण धमाधम गर्न थाल्यो। जटिल घाइतेलाई ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल तथा अन्य अस्पतालमा रेफर गरियो।

डा. मरहट्टा सिभिल अस्पतालको हाडजोर्नी विभागमा कार्यरत छन्। अर्थोपेडिक्स शल्यक्रिया विधाभित्र उनको विज्ञता घुँडा तथा जोर्नी प्रत्यारोपण हो। तर उनले यो पटक छाती र टाउकोबाहेक शरीरका अन्य ठाउँमा गोली लागेका धेरै घाइतेको शल्यक्रिया गरे।

उनका अनुसार, त्यहाँ दुई दिनमा ५० जनाको शल्यक्रिया भएको थियो। शल्यक्रिया गरेका कतिपय घाइतेको एक पटक मात्र गरेर हुदैनथ्यो। “क्षतविक्षत भएका घाउ र हड्डीहरूमा एक पटक मात्र अपरेसन गरेर हुन्न, केही घाइतेलाई हामीले अहिलेसम्म अपरेसन गरिरहेका छौँ,” उनी भन्छन्।

डा. मरहट्टा शुरूको दुई घण्टा आकस्मिक कक्षमा आएका घाइतेको उपचार सकेपछि अपरेसन थिएटरमा छिरे। सोही कारण आकस्मिक कक्ष पुर्‍याइएका करिब ४०० घाइते कस्ता थिए भन्ने प्रत्यक्ष देख्न पाएनन्। 

उनी अर्थोपेडिक्स सर्जन भएकाले टाउको र छातीमा गोली लागेका घाइतेलाई नजिकबाट हेर्न पनि पाएनन्। तर उनले हेरेका अधिकांश बिरामीलाई हात, खुट्टा पेट, घुँडा जताततै गोली लागेको थियो। केही गोली रबरका र केही धातुका थिए। “बिहान १२ बजेदेखि रातको १० बजेसम्म लगातार अपरेसन गर्‍यौँ,” उनी भन्छन्।

अस्पतालको चार वटा अपरेसन थिएटरमा उनीलगायतका सर्जनले धमाधम शल्यक्रिया गरेका थिए। त्यस बेला गोली लागेर रक्ताम्य भएका घाइतेको मनोबल कमजोर नपाएको उनी बताउँछन्। अधिकांशले ‘देशको लागि गोली खाएको’ भनिरहेका थिए। 

डा. मरहट्टाले यति धेरै घाइतेको उपचार गरेको यो पहिलोपटक होइन। यसअघि २०७२ सालको भूकम्पमा लगातार १५ दिनसम्म शल्यक्रिया गरेको अनुभव उनीसँग छ। तर त्यसबेला छोटो अवधिमा धेरै शल्यक्रिया गर्नु परेको थिएन, जस्तो यो पटक दुई दिनमै ५० जनाको गरे।

भूकम्पमा परेकाको हातखुट्टा काट्नुपर्ने, स्टिलका रड हाल्नुपर्ने शल्यक्रिया पनि गरेका थिए। यो पटक गोलीले क्षतविक्षत भएका हड्डीको शल्यक्रिया गर्नुपर्‍यो। “भूकम्पमा बालकदेखि वृद्धहरू सबैको शल्यक्रिया गर्नुपरेको थियो, यो पटक धेरै युवाहरूको शल्यक्रिया गर्नुपर्‍यो,” उनी भन्छन्।

‘पछिसम्म असर पर्न सक्छ’
डा. मरहट्टाका अनुसार, केही घाइतेको नलीखुट्टा र रक्तनलीमा गोली लागेर क्षतविक्षत भएको छ। रक्तनलीको छेउछाउमा गोली लागेका घाइतेलाई अलिकति तलमाथि गोली लागेको भए हात र खुट्टा बचाउन सकिन्थ्यो। 

हड्डी र रक्तनली छियाछिया भएका घाइतेलाई पछिसम्म असर पर्नसक्ने डा. मरहट्टाको भनाइ छ। “कतिपयको जोर्नी जाम हुनसक्छ। कतिपयको हात वा खुट्टा काट्नुपर्ने हुनसक्छ। कतिपय प्यारालाइज पनि हुन सक्छन्। घाइतेको भविष्य के हुन्छ अहिलै भन्न सकिन्न, किनकि उनीहरूको उपचार सकिएको छैन,” उनी भन्छन्।

शल्यक्रियाको क्रममा उनले झिकेका गोली केही रबरका गोलो आकारका थिए, केही धातुको छर्रा थिए। केही सग्लो गोली पनि झिके। युवाहरूको शरीरबाट गोली झिक्दा उनको मनमा अनेक भाव आए। तर अपरेसन थिएटरमा भावुक हुने छुट हुँदैन।

भावनामा बहकिन थाल्यो भने उपचार प्रभावित हुने डा. मरहट्टा बताउँछन्। किनकि, यस्ता घाइतेको उपचारमा अलिकति ढिलो भयो भने ज्यान तलमाथि हुनसक्छ। “टाउको, छाती तथा मुख्य रक्तनलीमा गोली लागेर मृत्यु भएका बाहेक अन्य केही घाइतेको हात तथा खुट्टाको रक्तनली र हड्डी क्षतविक्षत भएकाले उनीहरूको हात खुट्टा बचाउन सकिँदैन कि भन्ने अझै डर छ,” उनी भन्छन्।