भोजपुरको सुन्तले–बाघखोर क्षेत्रमा लोभिए पर्यटक

पर्यटकलाई लक्षित गर्दै यहाँ वनभोजस्थल निर्माण गरिएको छ। यस क्षेत्रमा राई, शेर्पा र तामाङ समुदायको बसोबास छ।

भोजपुर– सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। 

यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृंखला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ। प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ।

बाघखोरका होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक दर्जनौँ पर्यटक यो क्षेत्रमा गरेका छन्।  “सुन्तले–बाघखोर अहिले पर्यटकको रोजाइमा परेको गन्तव्य बनेको छ, भोजपुर आउने अधिकांश पर्यटक कम्तीमा एकपटक यो ठाउँमा आउने गर्छन्,” उनले भने। 

चिसो र स्वच्छ हावापानीमा रमाउँदै स्थानीय स्वादिलो परिकारको मजा लिन सकिने भएकाले पनि यो क्षेत्र पर्यटकका लागि लोभलाग्दो गन्तव्य बनिरहेको छ। तर, आवश्यक पूर्वाधारको अभावका कारण ठूलो संख्यामा पर्यटक आएमा व्यवस्थापनमा समस्या हुने गरेको छ। 

भोजपुर–दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा सडक पहुँच सहज रहेको छ। शहरी व्यस्तताबाट टाढा केही समय शान्त वातावरणमा घुम्न चाहनेका लागि यो उत्तम गन्तव्य हो। 

समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको यो क्षेत्रबाट सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकरलगायत हिमशृंखला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर–खोटाङ सिमानाको चखेवा भन्ज्याङको दृश्यावलोकन गर्न सकिन्छ।

पर्यटकलाई लक्षित गर्दै यहाँ भ्यु टावर तथा वनभोज स्थलको निर्माण गरिएको छ। यस क्षेत्रमा राई, शेर्पा र तामाङ समुदायको बसोबास छ। 

विभिन्न जातजातिका स्थानीय परिकार, रहनसहन र भेषभूषाले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ। भोजपुर सदरमुकामबाट सुन्तले ठाउँ १० किलोमिटर र बाघखोर १२ किलोमिटर टाढा पर्छ।