‘हामी नेपाललाई सहयोग गरेका छैनौँ, संवेदनशील घडीमा बदनाम गरियो’

फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गर्दै बारबराको सम्पत्ति, पारदर्शिता र सुशासनमा आधारित संस्थालाई लक्षित गरी फैलाइएका आरोप निराधार रहेको जनाएको छ।

काठमाडौँ– बारबरा फाउन्डेसनले ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग गरेको आरोप लागेको भन्दै त्यसको खण्डन गरेको छ। 

आइतबार पत्रकार सम्मेलन गर्दै फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतसहित पदाधिकारीहरूले उक्त आरोप शतप्रतिशत असत्य भएको बताएका हुन्। उनले अमेरिकामा जन्मेकी तर नेपाली भएर नेपालमै प्राण त्यागेकी बारबरा एडम्सको इच्छाअनुसार उनको निजी सम्पत्तिबाट फाउन्डेसन सञ्चालन भइरहेको बताए।

मैले २५ वर्षअघि उहाँको आँखाको शल्यक्रिया गरेको थिएँ। नेपालमै यस्तो शल्यक्रिया हुन्छ भनेर उहाँ अचम्मित हुनुभएको थियो। त्यसपछि हाम्रो सम्बन्ध अझै गहिरो बन्यो,” उनले स्मरण गर्दै भने, “उहाँ नेपाली समाज र मिडियामा चिनिएको व्यक्तित्व हुनुहुन्थ्यो। बारबराको राजनीतिक गतिविधिमा आफू सहमत/असहमत छु। तर, नेपालको माया उहाँलाई असाधारण थियो।” 

एडम्सको आग्रहअनुसार नै आफू फउन्डेसनको अध्यक्ष बनेको डा. रुइतको भनाइ छ। “फाउन्डेसनका अन्य पदाधिकारीहरू पनि स्वच्छ छवि भएका व्यक्ति नै हुनुहुन्छ। तर आज हाम्राविरुद्ध फैलाइएका अफवाहले हामी सबै मर्माहत भएका छौँ,” उनले भावुक हुँदै भने।

फाउन्डेसनको कामबारे प्रस्ट्याउँदै उनले संस्थाको मुख्य उद्देश्य खोजपत्रकारिता पुरस्कार वितरण गर्नु, वातावरण, प्रकृति र संस्कृति संरक्षणका विषयमा फेलोसिप प्रदान गर्नु तथा टक सिरिज सञ्चालन गर्नु रहेको बताए। 

भूकम्प र कोरोना महामारीका बेला हामी नेपालका सदस्यको काम देखेर फाउन्डेसनले आफ्नो कार्यालयमा बस्न दिएको डा. रुइतको भनाइ थियो। “तर पछिल्लो एक वर्षदेखि उनीहरू कार्यालयमा छैनन्, मेरो सम्पर्कसमेत भएको छैन। बाहिर फैलाइएको फन्डिङको कुरा शतप्रतिशत गलत हो,” उनले भने।

महासचिव मोहना अन्सारीले जेनजी आन्दोलनमा मृत्यु भएका नागरिक र क्षति पुगेको सम्पत्तिबारे बहस हुनुपर्ने बेला फाउन्डेसनलाई बदनाम गर्ने खेल भइरहेको बताइन्। “हामीले कुनै विदेशी निकायबाट रकम लिएका छैनौँ। हाम्रो काम सधैँ पारदर्शी छ र खोजपत्रकारिता तथा सुशासन सुदृढीकरणमा केन्द्रित छ,” उनले भनिन्।

कोषाध्यक्ष सुदर्शनराज पाण्डेले आव २०७५/७६ मा बारबराको अमेरिकामा रहेको सम्पत्ति बिक्री गरेर दुई करोड ८८ लाख रुपैयाँ प्राप्त भएको जानकारी दिए। पछिल्ला आठ वर्षमा पाँच करोड ५१ लाख रुपैयाँ आएकोमा ३ करोड ३० लाख प्रशासन तथा भाडालगायतमा खर्च भएको र ३ करोड ९५ लाख रुपैयाँ बैकमा मौज्दात रहेको उनको भनाइ थियो।

“बारबराको सम्पत्ति बिक्री गर्दा सरकारकै स्वीकृति लिइएको हो। कर निरन्तर तिरेका छौँ। ‘हामी नेपाल’लाई फाउन्डेसनले कहिल्यै आर्थिक सहयोग गरेको छैन। तर भूकम्प र कोरोना महामारीमा कार्यालय प्रयोग गर्न दिएका थियौँ, त्यसभन्दा बढी होइन,” उनले भने।

फाउन्डेसनका सृहित घिमिरेले आफ्नो छोरीको नाममा दर्ता भएको कम्पनी ‘कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज’ले कोभिडका बेला उत्कृष्ट सेवा दिने फ्रन्टलाइनरलाई सम्मान गरेको बताए।

उनले भने, “यो काम फाउन्डेसनको समन्वयमा भएको हो। त्यसबेला एक करोड दुई लाख ७५ हजार रुपैयाँ खर्च भएको थियो। तर हामी नेपाल भन्ने संस्थालाई कुनै आर्थिक सहयोग गरिएको छैन।”

यस्तै, फाउन्डेसनका सदस्य अखिलेश उपाध्यायले डा. रुइत नेतृत्वको संस्थाले नियमविपरीत कुनै पनि काम गर्न नसक्ने भन्दै अहिले संस्थालाई लिएर फैल्याइएको भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरे।

बारबराको सम्पत्ति, पारदर्शिता र सुशासनमा आधारित यस संस्थालाई लक्षित गरी फैलाइएका आरोप पूर्णतः निराधार रहेको फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।