जेनजीको आन्दोलनका गम्भीर घाइतेलाई कम्मरभन्दा माथि- टाउको, घाँटी, छाती र पेटमा गोली लागेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। यस्ता घाइते अपांग हुने सम्भावना धेरै छ।
काठमाडौँ– गत सोमबार सदाझैँ डा. रुपेश यादव राष्ट्रिय ट्रमा सेन्टरमा ड्युटीमै थिए। ट्रमा सेन्टरको एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुखको नाताले उनी त्यहाँ आएका बिरामीको शल्यक्रिया तालिका र आईसीयू/एचडीयू बेड मिलाउन खटिरहेका थिए। तर, दिउँसो १ बजेतिर ‘जेनजी’ पुस्ताको आन्दोलनमा ‘प्रहरीले गोली चलाएर धेरै घाइते भएको’ खबर आयो। अस्पतालमा सर्कुलर भयो- ‘गम्भीर घाइते धेरै छन्, बेडहरू तयार पार्नू।’
ट्रमा सेन्टरमा जम्मा ११ वटा आईसीयू, आठ वटा एचडीयू र ६ बेडको पोस्ट-अपरेटिभ वार्ड छ। ती सबै बेड र अपरेसन थिएटर नियमित बिरामीले भरिभराउ थिए। त्यो अवस्थामा जटिल घाइतेहरू धेरै आउँदा बेड अभाव हुन सक्थ्यो।
डा. यादवको टिमले सार्न मिल्ने बिरामीलाई अन्य वार्डमा सारे। त्यतिन्जेल आईसीयू, एचडीयू र पोस्ट-अपरेटिभ वार्डमा १२ वटा बेड खाली भए। “धेरै हताहती भएको खबर थियो, त्यसैले शुरूमा जटिल बिरामीलाई राख्न बेड मिलाउन जुट्यौँ,” डा. यादव भन्छन्।
आकस्मिक कक्षमा बिरामी धमाधम आउन थालेपछि वीर अस्पतालबाट पनि चिकित्सक र नर्ससहितको जनशक्ति बोलाइयो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, मेडिकल अफिसर, सर्जन र अन्य गरेर त्यहाँ ६० जनाभन्दा बढी स्वास्थ्यकर्मी खटिएका थिए।
चिकित्सकहरूले घाइतेको अवस्था जाँचेर साधारण र जटिल किसिमका घाइते छुट्याए। चोटको प्रकृतिअनुसार, टाउकोमा गोली लागेकालाई न्युरो सर्जन, छाती तथा रक्तनलीमा गोली लागेकालाई कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी (सीटीभीएस) र पेट, खुट्टा तथा हाडमा गोली लागेका बिरामीलाई जनरल तथा अर्थोपेडिक्स सर्जनको टिमले हेरिरहेका थिए।

घाइते आउनासाथ चिकित्सकको टिमले रगत रोक्ने, प्लास्टर गर्ने र जटिल शल्यक्रियाको काम थालिसकेको थियो। “गोली लागेका घाइते यति धेरै आएका थिए कि त्यहाँको माहौल निकै कोलाहलपूर्ण थियो,” डा. यादव सम्झन्छन्।
सोमबार ट्रमा सेन्टरमा सबै विधाका गरेर १३ जनाको शल्यक्रिया भयो भने दोस्रो दिन ३१ जनाको शल्यक्रिया गरियो।
हामीले ट्रमा सेन्टरमा घाइतेको उपचारमा संलग्न १० जना चिकित्सकसँग कुरा गर्यौँ। उनीहरूको समान भनाइ थियो- यो पटकका घाइते अन्य आन्दोलनका भन्दा फरक थिए। शल्यक्रिया गरिएका अधिकांश घाइतेलाई गोली लागेको थियो। कसैलाई एक-दुई वटा, त कसैलाई पाँच-छ वटासम्म। तीमध्ये अधिकांश २०–३० वर्षभित्रका थिए।
यति धेरै गोली लागेका घाइते देख्दा अनुभवी स्वास्थ्यकर्मीहरू नै आत्तिएको उनीहरू बताउँछन्। उनीहरूका अनुसार, यसअघिका आन्दोलनका क्रममा घाइते भई ल्याइए पनि गोली घुँडामुनि मात्रै हुन्थ्यो। तर, यो पटकका अधिकांश गम्भीर घाइतेको टाउको, घाँटी, छाती, पेट अर्थात् घुँडाभन्दा माथि गोली लागेको छ। उनीहरू भन्छन्, “यत्रो वर्षको सेवामा यस्ता घाइते देखेको पहिलो पटक हो।”
न्युरो सर्जन डा. समीर अर्यालको विधा टाउकोमा लागेको गम्भीर चोटपटकको शल्यक्रिया गर्ने हो। उनले आन्दोलनको दुई दिनमा गोली र आक्रमणबाट टाउकोमा चोट लागेका ५० जनाभन्दा बढी घाइते हेरे।
उनका अनुसार, मृत्यु हुने अधिकांशको टाउकोमै गोली लागेको थियो। कतिपय घाइतेलाई अपरेसन थिएटरसम्म पुर्याउन पनि सकिएन।
“यति धेरै मानिसलाई गोली लागेको थियो कि ट्रमा सेन्टरमा कुनै युद्धबाट घाइते ल्याइएजस्तो देखिन्थ्यो,” डा. अर्यालले भने, “हामीले आफ्नो सन्तानको अनुहार सम्झिँदै उपचार गर्यौँ। यति धेरै भाइबहिनीलाई गोली लागेको देख्दा हामी स्तब्ध भएका थियौँ।”
सीटीभीएस विभाग प्रमुख डा. दिनेश चापागाईंको टिमले छातीमा गोली लागेका तथा रक्तनली क्षतविक्षत भएका घाइतेलाई हेरिरहेको थियो। सोमबार दिउँसो २ बजेतिर छातीमा गोली लागेका तीन जना बिरामीलाई कृत्रिम श्वासप्रश्वास दिएर बचाउन खोजियो, तर उनीहरू तीनै जनाको मृत्यु भयो।
लगत्तै ल्याइएका ६ जनामध्ये एक २०-२२ वर्षीय युवाको अवस्था निकै गम्भीर थियो। उनको छातीमा गोली लागेर श्वासप्रश्वास बन्द भएको थियो। फोक्सोमा पाइप हालेर रगत निकालियो, तर मस्तिष्कसम्म रक्तसञ्चार पुगिरहेको थिएन। “त्यो भाइले मेरो काखमै अन्तिम सास फेर्यो, निकै नरमाइलो लाग्यो,” डा. चापागाईं भन्छन्।
सीटीभीएस सर्जन डा. चापागाईंका अनुसार, घटना भएको दिन राष्ट्रिय ट्रमा सेन्टरमा छातीमा गोली लागेका मात्रै १० जना घाइते ल्याइएका थिए। शरीरका अन्य भागमा गोली लागेर रक्तनलीमा क्षति पुगेका घाइतेहरू पनि आएका थिए।
उनको टोलीले पहिलो दिनमै तीन जनाको जटिल शल्यक्रिया गरेको थियो। डा. चापागाईं भन्छन्, "हामीले सोमबारदेखि मंगलबार बिहानसम्म लगातार शल्यक्रिया गरेर जटिल बिरामीहरूको उपचार गर्यौँ।" सीटीभीएस सर्जरी भनेको फोक्सो, मुटु र रगतको नलीसँग सम्बन्धित विधा हो।
त्यो दिन ट्रमा सेन्टरमा ल्याइएका गम्भीर घाइतेहरूमध्ये पाँच जनालाई घाँटीमा गोली लागेको थियो। नाक, कान, तथा घाँटी रोगका सर्जन डा. रविभूषण सुवालले ती बिरामीहरूको शल्यक्रिया गरेका थिए।

डा. सुवालका अनुसार, आन्दोलनको दिन घाँटीको रक्तनलीको छेउमा गोली लागेका एक युवाको गोली निकालिएको थियो। त्यसैगरी, भोलिपल्ट घाँटीमा दुई वटा गोली लागेका अर्का बिरामीको पनि शल्यक्रिया गरिएको थियो।
“दिमागमा जाने रक्तनलीको छेउमै गोली लागेको थियो। यदि त्यो गोली अलिकति मात्र पनि यताउता लागेको भए बिरामीलाई बचाउन सकिँदैनथ्यो,” डा. सुवाल भन्छन्।
आन्दोलनका घाइतेहरूलाई उपचार गर्दै गर्दा आफूलाई निकै अप्ठ्यारो महसुस भएको क्रिटिकल केयर विभाग प्रमुख डा. यादव बताउँछन्। जटिल शल्यक्रियामा संलग्न रहेका उनले २०-२२ वर्षका युवालाई गोली लागेको देख्दा मन भक्कानिएको बताए।
“एक जना भाइले त 'कोशिश गर्नुस्, सक्नुभएन भने पनि छाड्दिनुस्, देशको लागि बलिदान गरियो' भनेको सुन्दा कस्तो नमज्जा लाग्यो,” उनी भन्छन्।
हालसम्म ट्रमा सेन्टरमा पुर्याइएका आठ जनाको उपचारको क्रममा मृत्यु भएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार, बाँचेका घाइतेहरूमा पनि अपांग हुने जोखिम उत्तिकै छ।
घुँडाको पछाडि गोली लागेका दुई जनाको रक्तनली क्षतविक्षत भएको छ। सीटीभीएस सर्जन डा. चापागाईंका अनुसार शरीरका अन्य भागबाट नशा ल्याएर जोडेको रक्तनलीमा राम्रोसँग रक्तसञ्चार नभए भविष्यमा खुट्टा नै काट्नुपर्ने हुनसक्छ।
त्यस्तै, काँधका मुख्य रक्तनलीमा गोली लागेर क्षतविक्षत भएका दुई घाइतेको रक्तनली जोडिएको छ। तर, गोली लागेको ठाउँको रक्तनलीले काम गर्छ वा गर्दैन भन्ने तत्काल भन्न सकिँदैन। उनीहरूको हात पछि नचल्ने वा लुलो हुने सम्भावना रहेको उनको भनाइ छ।
डा. यादवका अनुसार कम्मरमाथिको जोर्नीमा गोली लागेर दुई जनाको खुट्टा नै प्यारालाइसिस भएको छ। पेटमा गोली लागेर आन्द्रामा गम्भीर चोट पुगेका बिरामीको शल्यक्रिया गरिएको छ। त्यस्तै, गोली लागेर कलेजो केही अंश काटिएका बिरामी पनि उपचाररत छन्। हाल उनको अवस्था खतरामुक्त भनिएपछि भविष्यमा के हुन्छ यकिनसाथ भन्न नसकिने डा. यादव बताउँछन्।
घाइतेहरू शरीरमा ठूलो–ठूलो बुलेटले लागेकाले त्यसको असर पछिसम्म पर्न सक्ने उनको भनाइ छ। “शल्यक्रिया गरिएका बिरामीलाई पछि पनि जटिलता आउन सक्छ,” डा. यादव भन्छन्, “उपचारको क्रममा संक्रमण फैलियो भने बचाउन गाह्रो हुन सक्छ।”
जनरल सर्जन डा. घनश्याम थापा सोमबारदेखि निरन्तर ड्युटीमा छन्। लामो चिकित्सकीय करियरमा उनले यस्ता गोली लागेर क्षतविक्षत भएका केस कहिल्यै हेरेका थिएनन्।
आन्दोलनको पहिलो दिन उनले १२ वटा शल्यक्रिया गरे, जसमध्ये चार जटिल थियो भने आठ वटा साधारण। उनले पेट, तिघ्रा, आन्द्रा च्यातिएका घाइतेको शल्यक्रिया गरेको बताउँछन्। “युद्धको मैदानबाट घाइते ल्याएको जस्तो माहोल थियो, फेरि यस्तो कहिल्यै नहोस्,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

सत्य समाचारकोे लागी धेरै धेरै धन्यवाद।।।। मैले online news विश्वास गर्ने भनेकाे उकालो हो।।यसरी नै सत्य कुरालाई उजागर गर्नु होला।।।।हाम्रो भाई बहिनीलाई नै मारेको झै पीडा भाको छ, यो बाबुनानी कोे हत्यारालाई न्याय होस।।। कान्तिपुरले जस्तो भ्रमको खेती नगर्नुहोला।
Misti tamang
2 months ago
शहिद, घाईते परिवारमा एक जनालाइ सरकारी जागिरको ग्यारेन्टि गरौ! उहाहरुको बलिदानी खेर नजाओस!
चिजा तामाङ
2 months ago