अध्ययन र रोजगारीको सिलसिलामा तीन वर्षयता काठमाडौँमा रहेका असहावलाई मंगबार पठाओमा यात्रुलाई गोंगबु लैजाने क्रममा प्रहरीको गोली लागेको थियो।
वीरगन्ज– वीरगन्ज महानगर–१२ का असहाव आलम ठकुराई दुई महिनाअघि मात्रै वैवाहिक बन्धनमा बाँधिएका थिए। २२ वर्षे असहावको मंगलबार जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको छ।
कलिलो उमेरमै आन्दोलनमा परेर ज्यान गुमाएपछि अहिले वीरगन्ज महानगर मुर्लीका बासिन्दा शोकमा डुबेका छन्। तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा असहाव काठमाडौँमा थिए। मंगबार पठाओमा यात्रुलाई गोंगबु लैजाने क्रममा प्रहरीको गोली लागेर जेनजी आन्दोलनमा सहादत प्राप्त गरेको परिवारले जनाएको छ।
उनकी आमा नजला खातुन र श्रीमती रोक्सिता खातुन अचेत अवस्थामा छन्। नजला खातुनले आफ्नो छोरा श्रवणकुमारजस्तै आमाबुबालाई असाध्यै माया गर्ने सन्तान रहेको बताइन्।
“मेरो छोरा श्रवणकुमार जस्तै थियो। भर्खरै बिहे गरेर बुहारी भित्र्याएको छ। अब मेरी बुहारी कसको मुख हेरेर बाँच्ली,” आमा नजलाले भनिन्, “दुई महिनाअघि मात्रै विवाह गरेर ल्याएकी बुहारीको सिउँदो उजाडियो।”
आमा नजमाले आफ्नो छोरालाई प्रहरीले किन मारेको भनेर बारम्बार प्रश्न सोधिरहेकी छन्। “अहिले बुहारी छोराको यादमा बिलौना गरेर बसिरहेकी छन्। मेरी बुहारीले के अपराध गरेकी थिइन् र उनलाई बिछोड गराइयो?” उनले स्तब्ध हुँदै भनिन्।
मृतक ठकुराई पाँच सन्तानमध्येका तेस्रो छोरा हुन्। असहाव वीरगन्जको ग्लोबल विजनेस कलेजबाट व्यवस्थापन संकायमा कक्षा १२ पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ गएका थिए। असहावका छिमेकी मनोज गुप्ताले असहाव गत मंगलबार बिहान १० बजेपछि सम्पर्कविहीन भएपछि खोजी गर्दा शव काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेट्टिएको जानकारी दिए।
“असहावको छाती र पेटमा गरेर दुई वटा गोली लागेको देखिन्छ,” उनले भने, “शुक्रबार परीक्षणलगायत प्रक्रिया पूरा गरेर असहावका काकाले शव बुझ्नुभएको छ।” छिमेकी गुप्ताले असहाव निकै मिजासिलो र आँखामा राख्दा पनि नबिजाउने प्रकृतिको व्यक्तित्व रहेको बताए।
असहावका काका असराल आलम ठकुराईले असहावको मृत्युले निकै मर्माहत भएको बताए। “उनको मृत्युले हामी निकै मर्माहत भएका छौँ,” उनले भने, “जेनजी आन्दालेनमा असहावजस्तै ज्यानको आहुति दिने योद्धाको बालीदानले मुलुकमा नयाँ क्रान्तिको शुरूआत होस्।”
वीरगन्ज महानगर–१३ का पूर्ववडाध्यक्ष तुफान अन्सारीले आफूले एक असल छिमेकी भाइ गुमाउनुपर्दा निकै मर्माहत भएको बताए। “असहाव भाइ निकै असल व्यक्ति हुनुहुन्थ्यो। उहाँको निधनले अपूरणीय क्षति भएको छ,” उनले भने, “अहिले उहाँको परिवार मात्रै नभएर सिंगो मुर्लीवासी स्तब्ध र शोकमा डुबेका छौँ।”
शुक्रबार साँझ जेनजी आन्दोलनमा ज्यान गुमाएका असहावको सम्झना गर्दै मुर्लीवासीले वीरगन्जको प्रतिमाचोकमा मैनबत्ती बालेर स्मरण गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
