सुशीला कार्कीको नेतृत्वमा आजै अन्तरिम मन्त्रिपरिषद् बन्ने, लगत्तै संसद् विघटन

सरकार प्रमुखको नियुक्ति पहिले कि संसद् विघटन पहिले भन्ने रस्साकस्सीपछि अन्ततः नयाँ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आजै प्रतिनिधिसभा विघटन गर्ने भएका छन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार राति अन्तरिम सरकार प्रमुख नियुक्त गर्ने र लगत्तै उनलाई पद तथा गोपनीयताको शपथ गराउने भएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा भएको पछिल्लो वार्तामा आन्दोलनरत जेनजी पक्षसँग सहमति जुटेपछि राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ।

त्यसका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई राति ९ बजे शपथ समारोह आयोजना हुने भन्दै निमन्त्रणा पठाइसकिएको छ। 

“राष्ट्रपतिले उहाँलाई नियुक्त गरेर ९ बजे नै शपथ भएपछि मन्त्रिपरिषद् बिस्तार हुन्छ,” राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, “त्यसपछि सोही मन्त्रिपरिषद्को सिफारिसमा बाँकी प्रक्रिया अघि बढ्छ।”

बिहीबार राति र शुक्रबार बिहान शीतलनिवासमा भएको वार्ता संसद् विघटनको विषयमा पुगेर अड्किएको थियो। राष्ट्रपति पौडेलले नवगठित मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने अडान लिएपछि वार्ता अवरुद्ध भएको थियो। जेनजी समूहबाट सरकार प्रमुखमा प्रस्तावित कार्कीले भने पहिले प्रतिनिधिसभा विघटन नभएसम्म आफू नियुक्तिका लागि तयार नहुने अडान लिएकी थिइन्।

शुक्रबार साँझ भएको वार्तामा यो विषय पनि टुंगिएको हो। शीतलनिवास स्रोतका कार्कीको शपथसँगै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ। शपथलगत्तै बस्ने पहिलो मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्ने र लगत्तै राष्ट्रपति पौडेलले त्यसलाई सदर गर्ने सहमति भएको छ।