संविधानको दायराभित्र रहेर मात्र निकास खोज्न बारको आग्रह

नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताभन्दा बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्तिको विरोध गर्ने स्पष्ट पार्दै संवैधानिक मान्यताभित्र रहेर मात्र निकास खोज्न आग्रह गरेको छ।

काठमाडौँ- नेपाल बार एसोसिएसन (एनबीए)ले हाल देशमा देखिएको असहज परिस्थितिको समाधान नेपालको संविधानको दायराभित्र रहेर खोज्न सबैलाई अपिल गरेको छ। बारले तत्काल राष्ट्रिय सरकार गठन गरी शासन प्रणालीलाई सहज बनाउनुपर्नेमा जोड दिएको छ।

बिहीबार भएको भर्चुअल बैठकपछि एक सार्वजनिक अपिल जारी गर्दै बारले ‘जेनजी’को सुशासन र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग जायज रहेको बताएको छ। तर, यो आन्दोलन भूराजनीतिको चपेटामा परेर नेपाली सार्वभौमिकतामा आँच आउन सक्ने खतराप्रति बारले सचेत गराएको छ।

अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ, “नेपाली जनताको ढुकढुकीमा संविधान बचाऔँ। कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र र संघीयताजस्ता स्थापित संवैधानिक उपलब्धिहरूमा सम्झौता नगरौँ।”

बारले राष्ट्रपतिलाई राष्ट्रको अभिभावकको रूपमा आफ्नो भूमिकामा सक्रिय र अनुभूत गर्न सकिने गरी सहभागी हुन आग्रह गरेको छ। “संविधानबमोजिम राष्ट्रको अभिभावकको रूपमा राष्ट्रपतिको भूमिका अहम् रहेको स्पष्ट छ। यो मामिलामा सम्माननीय राष्ट्रपतिको सक्रिय र अनुभूति गर्न सक्ने र देखिने सहभागिताको अपेक्षा गर्दछौँ,” अपिलमा भनिएको छ, “नागरिक शासन अविलम्ब कायम गरियोस्।”

साथै, अदालतका कामहरू निर्बाध रूपमा सञ्चालन हुनुपर्नेमा पनि बारले जोड दिएको छ। बारले संवैधानिक सर्वोच्चताभन्दा बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्तिको विरोध गर्ने स्पष्ट पार्दै सम्पूर्ण जनसमुदायलाई संवैधानिक मान्यताभित्र रहेर मात्र निकास खोज्न आग्रह गरेको छ।