आन्दोलनमा सहभागी भएका केही जेनजीले स्वार्थ समूह हावी हुँदा प्रदर्शनले हिंसात्मक मोड लिएको आरोप लगाएका छन्।
काठमाडौँ– नक्साल–बालुवाटार सडकमा मंगलबार दिउँसो प्रहरीसँग केही युवाहरू भिडिरहेका बेला छेउमै हातमा प्लाकार्ड बोकेर अनिशा शर्मा भने रोइरहेकी थिइन्।
उनी शान्तिपूर्ण आन्दोलन गरौं भन्दै अपरिचित युवाहरूलाई सम्झाउने प्रयासमा थिइन्, तर कोही सुनिरहेका थिएनन्। बरु, उनीमाथि नै आक्रमण हुने डर बढ्दै गयो। त्यसपछि उनले भिडबाट अलग भएर सडक किनारमा उभिँदै प्लाकार्ड देखाइन्।
“हामीले नचिनेका मानिसहरू आइरहेका छन्। बिरामी बोकेको एम्बुलेन्सलाई रोकेका छन्। जथाभावी मारपिट भइरहेको छ। यति कठोर कसरी बन्न सक्छौं? हाम्रो आन्दोलनको उद्देश्य यो होइन,” उनले आँसु पुछ्दै भनिन्।
काठमाडौँको घण्टाघर नजिक बुधबार बिहान भेटिएकी विद्या तामाङ मंगलबारको आन्दोलनमा सक्रिय रूपमा सहभागी थिइन्। तर अहिले उनीसँग पछुतो मात्र बाँकी छ। “म सोमबार आन्दोलनका क्रममा मारिएका भाइहरूको खबर सुनेपछि मंगलबार सडकमा निस्किएको थिएँ। तर कसैलाई नोक्सान पुर्याउने मेरो मनसाय थिएन। अरूले जथाभावी गरेपछि मलाई निकै डर लाग्यो,” उनले भनिन्।
तामाङका अनुसार उनीहरू शुरूमा नक्सालस्थित हिल्टन होटलतिर गएका थिए, त्यसपछि दरबारमार्ग पुगे। त्यहाँ पुग्दा आफूलाई 'वरिष्ठ' दाबी गर्ने व्यक्तिहरूले प्रहरी कार्यालयमा आगो लगाउन थाले। “मभन्दा २०–२५ वर्षका दाइहरूले आगो लगाउन थाले,” उनले सम्झिइन्। त्यो क्षणसँगै रहेकी अर्की जेनजी साधना दाहाल थप्छिन्, “कैदीलाई जेलबाट निकालियो। अब के हामी त्यस्ता मानिसबाट सुरक्षित हुन सक्छौं?”

बालुवाटारस्थित राष्ट्रपति भवनमा आगोले बनाएको ध्वंस नियाल्दा मंगलबार राति अबेर सुजन क्षेत्रीलाई भारी महसुस भयो। शुरूमा उत्साहित भएर आन्दोलनमा सहभागी भएका उनी अहिले निराश छन्। “आन्दोलनमा घुसपैठ भयो। हामीले चाहेको कुरा पाइसक्दा पनि केही समूहले उग्र रूप देखाए। जथाभावी आगो लगाइयो, सार्वजनिक संरचना ध्वस्त पारियो,” उनले गुनासो गरे।
त्यस्तै, सर्वोच्च अदालत परिसरमा बुधबार सरसफाई गरिरहेका जितेन श्रेष्ठ पनि आन्दोलनका समर्थक थिए। तर अहिले उनी खुसी छैनन्। “भ्रष्ट नेताहरूलाई भगाउन सफल भयौं। तर हाम्रो देशको सम्पत्ति ध्वस्त भयो। अहिले अरु केही गर्न नसके पनि सरसफाई गरेरै भए पनि सहयोग गरिरहेको छु। तर यति क्षतिपछि हामी विकासमा १० वर्षपछि धकेलियौं,” उनले चिन्तित स्वरमा भने।
स्वार्थ समूहले बिगारे
काठमाडौंका अर्का प्रदर्शनकारी जेविन ओझाको विचारमा आन्दोलन भड्कनुको कारण स्वार्थ समूह हो। “जेनजी आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढाउन चाहेका थियौं। तर यहाँ स्वार्थी समूह घुस्यो। आन्दोलन नै हिंसामा मोडियो। जेनजीले यो चाहेको होइन,” उनले भने।
आन्दोलनमा घुसपैठ भएको कुरा अहिले सामाजिक सञ्जालमा व्यापक छ। जेनजी नेपालले आधिकारिक विज्ञप्ति जारी गर्दै, केही स्वार्थी समूहले आन्दोलनलाई भड्काउने काम गरेको आरोप लगाएको छ। उनीहरूको भनाइमा आन्दोलनको स्वरूप नै परिवर्तन गरी हिंसात्मक बनाउन खोजिएको हो।

जेनजी आन्दोलन सामाजिक सञ्जालमार्फत शुरू भएको थियो। युवा पुस्ताले डिजिटल प्लेटफर्ममार्फत भ्रष्टाचार र अपारदर्शिताविरुद्ध आवाज उठाएका थिए। त्यसपछि यो सन्देश सडकमा पुगेको थियो। तर, सडकमा पुगेपछि आन्दोलनले लिएको उग्र रुपले धेरै सहभागी निराश बनेका छन्।
आन्दोलनको पहिलो दिन भदो २३ गते प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो। आन्दोलनकारी निषेधाज्ञा तोड्दै बानेश्वरस्थित संसद भवनभित्र जान खोजेपछि आन्दोलनकारी र प्रहरीबीच मुठभेट भएको थियो।
जेनजी आन्दोलनकारीहरूका अनुसार भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण संघर्ष गर्ने उनीहरूको उद्देश्य सधैं स्पष्ट थियो। तर केही अपरिचित समूहले आन्दोलनलाई हिंसा, आगजनी र तोडफोडतर्फ धकेलेको र देशलाई ठूलो नोक्सानी पुर्याएको उनीहरूको साझा निष्कर्ष छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
