जेनजी आन्दोलनपछि देशका धेरै कारागारबाट गम्भीर अपराधका कैदीबन्दी पनि निस्किन थालेका कारण सुरक्षा चुनौती बढेको सुरक्षाविज्ञहरू बताउँछन्।
काठमाडौँ– नेपाली सेनाले शान्ति सुरक्षाको जिम्मा लिएको २४ घण्टा बित्न नपाउँदै डिल्लीबजार कारागारमा तनाव सिर्जना भयो। त्यहाँ कैदीबन्दीले आफूहरू पनि निस्कन पाउनुपर्ने माग गर्दै नाराबाजी र ढुंगामुढा गरे।
स्थिति यतिसम्म भयो कि, प्रहरीले हवाइफायर गर्यो। तर अवस्था नियन्त्रणमा आएन। बरु, कैदीबन्दीले कारागारभित्र आगो झोसिदिए।
आगजनीपछि सबै कैदीबन्दीलाई बाहिर निकालिएको छ। तर सेनाले मूलगेटमा रोकेर राखेको छ। उनीहरूलाई अन्यत्र लैजाने प्रयास भइरहेको कारागार प्रशासनले जनाएको छ।
कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार अहिले देशभरका कारागारको अवस्था तनावपूर्ण छ। उनी भन्छन्, “देशभरका कारागारको अवस्था उस्तै छ, स्थिति नियन्त्रण लिन प्रयास गरिरहेका छौँ। डिल्लीबजारको कारागारमा रहेका कैदीबन्दीलाई अरू ठाउँमा लैजाने प्रयास भइरहेको छ।”
जेनजी आन्दोलनका नाममा नक्खु कारागारबाट रास्वपा सभापति रवि लामिछानेलगायतका कैदीबन्दी निस्किएपछि अन्य कारागारका कैदीबन्दीले पनि छुट्नुपर्ने माग राखेका छन्। यसरी छुट्नुपर्ने माग गर्नेमा गम्भीर अपराधमा सजाय पाएका कैदीबन्दी पनि छन्।
नक्खुबाट रवि निस्किएपछि त्यही जेलमा राखिएका सञ्जय साह ‘टक्ला’ पनि निस्किएका छन्। जनकपुर बमकाण्डका मुख्य योजनाकार साह १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए।
कारागार व्यवस्था विभागका कर्मचारीहरूका अनुसार, अहिले देशभरका कैदीबन्दीको आन्दोलन नियन्त्रणभन्दा बाहिर गइरहेको छ। मकवानपुरको भीमफेदी कारागारमा सेनाले सुरक्षाको जिम्मा लिएको दुई घण्टापछि मंगलबार राति १२ बजे तनाव उत्पन्न भएको थियो।
त्यहाँका कैदीबन्दीले पनि रवि लामिछानेलगायत छुटेकाले आफूहरूले पनि निस्किन पाउनुपर्ने माग राखेका थिए। कैदीबन्दीको आन्दोलन बढ्दै गएपछि सुरक्षाकर्मीले २०० राउन्डभन्दा बढी हवाई फायर गरेको थियो।
भीमफेदी कारागारमा कैदीबन्दीलाई नियन्त्रण लिन सेनाले गोली चलाउँदा दुई कैदी घाइते भएका छन्। कारागार व्यवस्थापन विभागमा एक कर्मचारी भन्छन्, “गम्भीर अपराधका कसुरदार, गुण्डा नाइकेका समूहहरूलाई यस्ता कारागारमा राखिएको थियो। छुट्न पाउनुपर्छ भनेर माग राखेका थिए।”
भीमफेदीका कारागार प्रशासक सुवास पौडेलका अनुसार त्यहाँ हवाइ फायर हुँदाहुँदै पनि २५९ कैदीबन्दी भागेका छन्। उनी भन्छन्, “गम्भीर प्रकृतिका कति भागे भन्ने संख्या यकिन गरिरहेका छौँ। अहिले सुरक्षा व्यवस्था मिलाइसकेका छौँ।”
त्यस्तै, कपिलवस्तु कारागार तोडफोड गरेर ४०० भन्दा बढी कैदीबन्दी निस्किएका छन्। कारागार प्रशासनका अनुसार कारागारमा ४७० कैदीबन्दी थिए।
अहिले वीरगन्ज कारागार पनि तनावग्रस्त बनेको छ। त्यहाँ हवाइ फायर भएको छ।
कास्की कारागारबाट मंगलबार नै ९०० भन्दा बढी कैदीबन्दी निस्किएका थिए। मंगलबार नै पाल्पा कारागारबाट पनि कैदीबन्दी निस्किएका थिए। मंगलबार साँझ नै तुलसीपुर कारागारबाट भागेका १२५ कैदीबन्दीमध्ये धेरैलाई सेनाले नियन्त्रणमा लिएको छ।
कतिपय कारागारबाट गम्भीर अपराधका कैदीबन्दी निस्किएपछि सुरक्षा चुनौती बढेको विज्ञहरू बताउँछन्। कपिलबस्तुमा कारागार तोडफोड गरेर भागेकाहरूले अदालतलगायत सरकारी कार्यालय तोडफोड र आगजनी गरेका थिए।
नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, “आफै चिठी बनाउँदै, आफैँ आगो लगाउँदै भागिरहेका छन्। यो राम्रो भएन, जे गरे पनि भयो भन्ने भएको छ।”
देशभरका कारागारबाट कैदीबन्दी बाहिरिँदा थप अपराध हुनसक्ने उनको आकलन छ। “अहिले सुरक्षा निकायको पकडमा केही पनि छैन। यस्तो अवस्थामा अपराधीहरू बाहिर आएर जसका कारण उनीहरूभित्र गएका थिए, ती व्यक्ति असुरक्षित हुने भएका हुन्छन्। पीडितहरू झन् असुरक्षित हुन्छन्,” उनी भन्छन्।
सुदूरपश्चिम प्रदेशमा कैलालीसहित धेरै कारागारहरू खाली हुँदै गएका छन्। कारागार व्यवस्था विभागका अनुसार, बाजुराबाहेकका जिल्लाका कैदीबन्दी सुरक्षा नियन्त्रणभन्दा बाहिर छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लाबाट १५ सयभन्दा बढी कैदीबन्दी बाहिरिएका छन्। कञ्चनपुर, बझाङ, डडेल्धुरालगायतका कारागारका कैदीबन्दी बाहिरिँदा कारागार खाली छन्।
उता पूर्वकै ठूलो सुनसरीस्थित झुम्का कारागारबाट अधिकांश कैदीबन्दी भागेका छन्। त्यहाँ करिब १७ सय कैदीबन्दी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
