सेनाको वक्तव्य– 'विकसित घटनाक्रमलाई विश्लेषण गरिरहेका छाैँ'

देशको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थका लागि नेपाली सेना प्रतिबद्ध रही आएको जनाउँदै परिस्थितिलाई थप जटिल हुन नदिन आग्रह गरेको छ।

काठमाडाैँ– नेपाली सेनाले एक वक्तव्य जारी गर्दै नेपालमा भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमबारे विश्लेषण गरिरहेको जनाएको छ।

देशको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थका लागि नेपाली सेना प्रतिबद्ध रही आएको जनाउँदै परिस्थितिलाई थप जटिल हुन नदिन आग्रह गरेको हो।

"विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ," वक्तव्यमा भनिएको छ।

साथै, यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न सबैलाई आग्रह गरेको छ। सेनाले यस आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।