बानेश्वर चोकको आकाशे पुल पार गरेर साथीहरूसँग फर्किरहेको बेला अभिषेकको खुट्टामा दुई वटा गोली लाग्यो। गोली लाग्नासाथ बेहोस भएका उनी होसमा आउँदा बानेश्वरको एभरेस्ट अस्पतालमा थिए।
काठमाडाैँ– “मेरो छोरो पो गोली लागे पनि बाँच्यो त, ती १९ जनाको बाउआमालाई कति बितिरहेको होला...,” त्रिवी शिक्षण अस्पतालको वार्डमा बसेर यसो भनिरहदाँ श्यामगीता थापाको गहभरि आँसु भरिएका थिए। उनी आँसु पुछ्दै भनिरहेकी थिइन्, “यी अवोधलाई गोली ठोक्न आदेश दिने नेताको कहिल्यै भलो नहोस्...।”
सोमबार काठमाडाैँमा भएको जेनजी आन्दोलनमा श्यामगीताका २२ वर्षीय छोरा अभिषेक थापालाई गोली लागेको थियो। गोली लागेर शल्यक्रिया गरेको छोरा कुर्न उनी शिक्षण अस्पतालमा छिन्। घुडामाथि र पिडुलामा दुई वटा गोली लागेका उनका छोरा अभिषेक अहिले खतरामुक्त भइसकेका छन्।
आमा श्यामगीताले भने छोरालाई गोली लागेको मंगलबार बिहान मात्र थाहा पाइन्। हिजो बिहानदेखि हिँडेको छोरो साँझसम्म घर नफर्किएपछि चिन्तित रहेकी उनले छोरालाई गोली लागेको आज बिहान अस्पताल पुगेर मात्रै थाहा पाएकी हुन्। सामान्य घाइते भन्ने सुनेर अस्पताल पुगेकी उनी छोरालाई देखेपछि मर्माहत भएको बताउँछिन्। “रातभरि चिन्ताले सुत्नै सकिनँ, धन्न बाँच्यो मेरो छोरो,” उनले भनिन्।
बालाजु निवासी २२ वर्षीय अभिषेक अहिले बी–फार्मेसी पढ्दै थिए। आफ्ना तीन जना साथीहरूसँग मिलेर बालाजुमै क्याफे चलाएका उनी बिहानदेखि आन्दोलनमा सहभागी थिए। उनका अनुसार, आन्दोलन शान्तिपूर्ण भइरहेको थियो। संसद भवनअघि पुग्दा अश्रु ग्यास प्रहार हुन थाल्यो। भागाभाग गर्ने क्रममा गोली चल्यो। उनको आँखैअगाडि केही युवालाई गोली लाग्यो। त्यसपछि आन्दोलनले थप उग्र रूप लियो।
उनी प्रहरीले लुकी लुकी नदेख्ने ठाउँबाट ताकेर गोली हानेको बताउँछन्। उनका अनुसार, बाटोमा हिँड्ने मानिसलाई समेत प्रहरीले लछार पछार गरेको कुटेको थियो। “संसद भवनको गेटभित्रबाट बन्दुकको नाल मात्रै निकालेर ताकी ताकी गोली हानेका थिए, प्रहरीले दमन गरेको कारण नै यति धेरै मानिसको ज्यान गएको हो,” उनी भन्छन्, “अगाडि देखिने प्रहरीले आकाशमा फायरिङ गरिरहेका थिए भने संसद भवनभित्र लुकेका प्रहरीले ताकी ताकी टाउको र छातीमा गोली चलाएका थिए।”
अभिषेकलाई भने गोली साँझ ६ बजेतिर लागेको थियो। उनी आन्दोलन सकेर साथीसँग फर्कदै थिए। बानेश्वर चोकको आकाशे पुल पार गरेर साथीहरूसँग फर्किरहेको बेला उनको खुट्टामा दुई वटा गोली लाग्यो। उनलाई एउटा गोली घुडामाथि र अर्को गोली पिडुलामा लाग्यो। गोली लाग्नासाथ बेहोस भएका उनी होसमा आउँदा बानेश्वरको एभरेस्ट अस्पतालमा थिए।
सँगै आन्दोलनमा गएका साथीले उनलाई एभरेस्ट अस्पताल पुराएका थिए। त्यहाँ उनलाई प्राथमिक उपचार गरेर टिचिङ रेफर गरियो। टिचिङ रेफर गर्दा रातको १० बजेको थियो। रातको साढे १२ बजे अपरेसन सकिएपछि उनलाई वार्डमा सारियो। “चिकित्सकले एउटा घुडामाथि र अर्को पिडुलाबाट गोली झिक्नुभयो,” उनी भन्छन्।

आफू देशको अवस्था देखेर पहिलेदेखि नै 'फ्रस्टेड' भएको उनी बताउँछन्। आफ्नो निराशा पोख्ने सही समय आएको ठानेर आफू आन्दोलनमा सहभागी भएको उनको भनाइ छ। उनका अनुसार, देशमै केही गरौँ भन्ने उनीजस्ता युवाहरू रोजगार नपाएर, राम्रो शिक्षा र स्वास्थ्य नपाएर निराशा पोख्न आएका हुन्।
“हाम्रो उमेर समूहका सबै साथीहरू देशको हालत देखेर निराश थियौँ, त्यही निराशा पोख्न आन्दोलनमा जादाँ राज्यले १९ जनाको हत्या गर्यो,” उनी भन्छन्।
त्रिवी शिक्षण अस्पतालको वार्डमा ३१ वर्षीय सुन्दर रेग्मी पनि उपचाररत थिए। उनको देब्रे हातमा गोली लागेको थियो। हिजो साँझ अस्पताल भर्ना भएका उनको टिसर्ट र पाइन्ट रगत लतपतिएको थियो। उनी बोल्न सक्ने थिए। तर परिवारको सदस्य भने थिएनन्।
केही वर्ष दक्षिण अफ्रिका बसेर केही पैसा र सीप लिएर नेपाल फर्किएका उनले आफै रेस्टुरेन्ट सञ्चालन गरेका थिए। तर, कोरोना महामारीको कारण आफ्नो लगानी डुबेको बताउने उनी फेरि विदेश जाने तरखरमा थिए। नेपालमा कोसिस गर्दा गर्दै पनि केही गर्न नसकेको कारण आफू निराश भएर आन्दोलनमा आएको उनले गुनासो पोखे।
“यो देशमा केही सीमित नेता, कर्मचारी र व्यवसायीका सन्तानबाहेक अरुले गरिखान नसक्ने वातावरण भयो, यो अन्त्य हुनपर्छ भनेर म आन्दोलनमा आएको हुँ,” उनी भन्छन्।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोली चलाएपछि आफू आक्रोशित भएको बताउँछन्। आफ्नै आखाँअगाडि गोली लागेर ढल्न थालेपछि आफूले ढुंगा हान्न शुरू गरेको उनको भनाइ छ। “प्रहरीले भित्रबाट ताकी ताकी गोली ठोकेर साथीहरू ढाल्न थालेपछि हामीले पनि ढुंगामुडा गरेका हौँ,” उनी भन्छन्, “देशमा भ्रष्टाचार हटाउ, नागरिकलाई गरिखान देउ, शिक्षा, स्वास्थ्य र रोजगार देउ भनेर आन्दोलन गर्दा गोली ठोक्ने राज्य हत्यारा हो।”
सोमबार भएको आन्दोलनमा परेर घाइते भएका २९ जना त्रिवी शिक्षण अस्पतालमा उपचाररत छन्। त्रिवी शिक्षण अस्पतालका चिकित्सक डा. कालीप्रसाद रोशियारका अनुसार, छातीमा गोली लागेका २२ वर्षका एक युवालाई मुटुको शल्यक्रिया गर्न मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राखिएको छ भने पेटमा गोली लागेका एक युवालाई क्रिटिकल केयरमा राखिएको छ।
यी दुई युवाको अवस्था गम्भीर छ। त्यस्तै, गोली लागेका १२ जनाको शल्यक्रिया गर्न बाँकी छ भने अन्य सामान्य घाइतेलाई शल्यक्रिया गरेर वार्डमा सारिएको छ। “हामीले थप घाइते आउन सक्ने मध्यनजर गरेर तयारी अवस्थामा बसेका छौँ,” डा. रोशियारले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
