बाटोमा हिँड्दै थिए, गोली लाग्यो

गोली लागेर प्रदर्शनमा सहभागी मात्र नभएर बाटो हिँड्दै गरेका पनि घाइते भएका छन्। उनीहरूमध्ये कतिपयको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

पठाओ चालक प्रकाश विष्ट। तस्वीर: लोकेन्द्र/उकालो

काठमाडौँ- सोमबार प्रहरीले हानेको गोलीबाट बानेश्वर आसपास हिँडिरहेका बटुवा पनि घाइते भएको खुलेको छ। उनीहरूमध्ये कतिपय सिभिल अस्पतालमा उपचाररत छन्।

आन्दोलनमा सहभागी नभएका कैलाली टिकापुर नगरपालिका ५ का प्रकाश विष्टलाई पनि गोली लागेको छ। उनी पठाओ चलाउँछन्। २२ वर्षका विष्ट बाइकसहित संसद् भवनको दक्षिणगेट नजिक थिए। आन्दोनल संसद् भवनको पश्चिम बानेश्वरबाट माइतिघरतर्फ मात्र हुने उनको अनुमान थियो। तर उनले अनुमान गरेजस्तो भएन।

“म गेट पछाडि थिएँ। पछि प्रहरीले अन्धाधुन्धा गोली चलाउन थाल्यो। म पछाडि भाग्दै गएँ। हिँड्ने मान्छेलाई पनि गोली हानिरहेको थियो। मेरो पनि ढाडमुनि गोली लाग्यो,” सिभिल अस्पतालको बेडमा रहेका उनले भने।

गोली लागेर उनी ढलेका थिए। उनको छेउमै एम्बुलेन्स थियो। तर उनको तत्काल उद्धार हुनसकेन। बरु घाइते अवस्थामा नै आइपुगेका प्रहरीले लाठीसमेत प्रहार गरेको उनी बताउँछन्। प्रहरी त्यहाँबाट गएपछि आन्दोलनकारीले नै उनलाई सिभिल अस्पताल पुर्‍याएका थिए।

सिभिल अस्पतालमा उपचाररत अर्का घाइते पाँचखाल-६ श्रीरामपाटी, काभ्रेका प्रशन्न काफ्ले एजुकेसन कन्सल्टेन्सीमा काम गर्छन्। कन्सल्टेन्सीको काम लिएर उनी बूढानीलकण्ठबाट तीनकुने आउँदै थिए। तर आन्दोलन शुरू भइसकेको कारण माइतीघरमा आवतजावत बन्द थियो। "एउटा डकुमेन्टका लागि तीन कुने नआइनहुने थियो," उनी भन्छन्।
nullबाइक माइतीघर छाडेर उनी तीनकुनेतिर बाटो लागे। तीनकुने पुग्न नपाई संसद् भवनअगाडि आन्दोलनले उग्र रूप लियो। त्यही बेला प्रहरीले गोली चलायो। उनको दायाँ खुट्टामा गोली लाग्यो। 

सिभिल अस्पतालको बेडमा रहेका उनी भन्छन्, “म तीनकुने हिँडिरहेको मान्छेलाई गोली हान्यो। बाटोमा हिँडिरहेको मान्छेलाई अन्धाधुन्धा गोली चलाइरहेको थियो।”

आन्दोलनमा सहभागी नभएर बाटोमा हिँडिरहेका अन्यलाई पनि गोली लागेको छ। कतिपय प्रहरीको लाठीबाट घाइते छन्। केही घाइते भने परिवारलाई तत्काल थाहा हुँदा सम्हालिन गाह्रो हुने भन्दै बोल्न र परिचय खुलाउन चाहिरहेका छैनन्।

जेनजीले गरेको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ। काठमाडौँका सिभिल, वीर, ट्रमा, त्रिवि शिक्षणलगायत अस्पतालमा अहिले पनि धेरै घाइतेको उपचार भइरहेको छ। कतिपयलाई छाती र टाउकोमा गोली लागेको छ।