ललितपुरको भैँसेपाटी, सानेपा र च्यासल क्षेत्रमा राति १२ बजेसम्म कर्फ्यु

मन्त्रीहरूको निवास रहेको भैँसेपाटी, नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको सानेपा र नेकपा एमालेको पार्टी कार्यालय रहेको च्यासल क्षेत्रमा मंगलबार बिहान ७ बजेदेखि कर्फ्यु लगाइएको छ।

ललितपुर– ललितपुर जिल्ला प्रशासन कार्यालयले विभिन्न तीन स्थानमा कर्फ्यु आदेश जारी गरेको छ। 

मन्त्रीहरूको निवास रहेको भैँसेपाटी, नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको सानेपा र नेकपा एमालेको पार्टी कार्यालय रहेको च्यासल क्षेत्रमा मंगलबार बिहान ७ बजेदेखि कर्फ्यु लगाइएको हो। 

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको जनाएका छन्। 

पूर्वमा भैँसेपाटीबाट बुंगमती जाने सडक, पश्चिममा सीजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म कर्फ्यु लगाइएको छ।

सानेपा क्षेत्रअन्तर्गत पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म कर्फ्यु लगाइएको छ।

यसैगरी, च्यासल क्षेत्रको पूर्वमा मनोहरा खोला करिडोरको झोलुंगे पुल, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।