जेनजी आन्दोलन : ५ अस्पतालमा हुँदै १०० जनाभन्दा बढी घाइतेको उपचार

ट्रमा सेन्टर, सिभिल, एभरेस्ट, केएमसी र त्रिवि शिक्षण अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ।

काठमाडौँ– काठमाडौँ उपत्यकामा सोमबार ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचारका क्रममा १४ प्रदर्शनकारीको मृत्यु भएको छ।

यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ६ प्रदर्शनकारीको मृत्यु भएको छ। यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ। उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ। काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ।  

एभरेस्ट हस्पिटलमा ३४ जना उपचाररत भने तीनको मृत्यु भएको छ। शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत एकको मृत्यु भएको छ। त्यहाँ घाइते १६ जनाको उपचार भइरहेको छ।

उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।