सुदूरपश्चिममा पुस २७ सम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।

काठमाडौँ- सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। 

सुदूरपश्चिममा कुनै एउटा दलसँग सरकार बनाउने जनमत नभएपछि प्रमुख जोशीले दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्। 

संविधानको धारा १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्ने व्यवस्था छ । 

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसबाट १९ जना, नेकपा माओवादी केन्द्रबाट ११, नेकपा एमालेबाट १०, नागरिक उन्मुक्ति पार्टीबाट ७ तथा नेकपा एकीकृत समाजवादीबाट ४, राप्रपाबाट १ र एक जना स्वतन्त्र गरी ५३ जना सदस्यले प्रतिनिधित्व गर्छन्। सरकार गठनका लागि भने २७ जनाको सांसदको समर्थन चाहिन्छ।