शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।
भक्तपुर– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ।
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीको जटिल मानिने तेस्रो प्रत्यारोपण सफल भएको हो। उनी आज (शनिबार) अस्पतालबाट डिस्चार्ज भएको केन्द्रले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो सफलताले अब जटिल मिर्गौला प्रत्यारोपणका लागि विदेश जानु नपर्ने सन्देश दिएको बताए।
उनका अनुसार सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, संकमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ। यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ।
“प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ,” डा. श्रेष्ठले भने, “यो सफल प्रत्यारोपणले हामी जटिल केसहरूका लागि पनि सक्षम छौँ भन्ने प्रमाणित भएको छ।”
पूर्वमन्त्री चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो। पहिलो मिर्गौलाले काम गर्न छाडेपछि विसं २०७२ मा दोस्रोपटक डा. श्रेष्ठकै नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गरिएको थियो। दोस्रो मिर्गौलामा पनि समस्या आएपछि यही भदौ ९ गते केन्द्रमा तेस्रोपटक प्रत्यारोपण गरिएको हो।
डा. श्रेष्ठका अनुसार, चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ (एक परिवारको दाताले अर्को परिवारको बिरामीलाई मिर्गौला दिने प्रक्रिया) प्रणालीअन्तर्गत गैरनातेदारबीच अंग साटासाट गरी गरिएको थियो।
नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण सन् २०१० मा वीर अस्पतालमा डा. श्रेष्ठकै नेतृत्वमा शुरू भएको थियो। तेस्रोपटकको प्रत्यारोपण भने चिकित्सा विज्ञानमा अत्यन्तै दुर्लभ उपलब्धि मानिन्छ।
स्थापनाको १३ वर्षमा यस प्रत्यारोपण केन्द्रले हालसम्म एक हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनाको कलेजो प्रत्यारोपण गरिसकेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
