नियमित उडान नहुँदा सुनसान रामेछाप विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त भएका बेला पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत लुक्ला पुर्‍याउने गरिन्छ।

मन्थली– कुनै समय व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ। विमानस्थलबाट नियमित उडान नहुँदा सुनसान भएको हो।

पर्यटकीय सिजनमा यो विमानस्थलमा बढी चहलपहल हुने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बढी व्यस्त हुने भएकाले विदेशी पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत सोलुको लुक्ला पुर्‍याउने गरिन्छ।

दशैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा अन्य जिल्लामा चल्ने विभिन्न एयरलाइन्सले जिल्ला जिल्लामा जान अग्रिम बुकिङ खुला गरे पनि रामेछापका नागरिकका लागि भने हवाइजहाजबाट यात्रा गर्न कुनै एयरलाइन्सले अग्रिम बुकिङ खुला गरेका छैनन्।

विमानस्थल वरपरका रहेका होटल तथा पसल पनि सुनसान छन्। रामेछापका नागरिकलाई पनि हवाई सुविधा दिलाउने पहल राजनीतिक दल र प्रदेश तथा संघीय सांसदले गर्नुपर्ने स्थानीय वीरेन्द्र श्रेष्ठले बताए। “ सडकमार्फत काठमाडौँ जाँदा बीपी राजमर्गको १२५ किमी पार गर्नुपर्छ भने पुष्पलाल मार्गको तामाकोशी–चरिकोट–मुडे हुँदै करिब २०० किलोमिटर दूरी पार गर्नुपर्दछ,” उनले भने, “उडान भए सहज हुने थियो।”

गत वर्ष असोजको १२ गते आएको बाढीले पुष्पलाल राजमार्ग र बीपी राजमार्गको धेरै ठाउँका सडकमा क्षति पुगेकाले यी दुवै मार्ग जोखिमयुक्त छ। जिल्लामा सुविधा सम्मन्न एम्बुलेन्स नभइरहको अवस्था र मन्थलीबाट काठमाडौँका लागि भएका दुईवटा सडक मार्ग पनि भरपर्दा नभएकाले जटिल प्रकृतिका बिरामी काठमाडौँ पठाउन निक्कै समस्या हुने गरेको श्रेष्ठको भनाइ छ ।

नजिकिँदै गरेको दशैँ तिहारजस्ता पर्वका लागि हिजोआज शहरबाट गाउँ आउनेको संख्या बढ्दै जान लागेको छ। जोखिमपूर्ण सडकमार्गका कारण चाडपर्वमा घर आउनेलाई यात्रा सहज नभएको मन्थली–१ का नारायणदास श्रेष्ठले बताए। 

जिल्लामा हवाई सेवालाई निरन्तर गरी पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने उद्देश्यका साथ मन्थली नगरले पटकपटक पहल गरेको भए पनि त्यसको टुंगो नलागेको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताए। 

रामेछापमा लामो संघर्षपछि मात्र विमानस्थल कालोपत्रे गर्न सफल भए पनि नियमित चल्न नसकेको प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङले बताए। “यहाँको  विमानस्थलबाट रामेछापका नागरिक आउजाउ गर्नसक्ने गरी जहाज सञ्चालनका लागि विशेष पहल भइरहेको छ, सकभर दशैँअघिदेखि नै नियमित उडान गराउन म लागिपरेको छु,” उनले भने। 

सोलुको लुक्लासम्मका लागि सीता, तारा र समिट एयरका एयरलाइन्सले यस विमानस्थलबाट पर्यटक ओसार्ने सिजनका बेला ६० देखि ६५ वटासम्म उडान भर्ने गरेका छन्। ती एयसलाइन्सका जहाजमार्फत आलोपालो प्रणालीद्वारा जिल्लाका नागरिक र बिरामीलाई पनि सेवा दिने गरी आफ्ना कार्यक्रम  सञ्चालन गर्नुपर्ने मन्थली–२ का गुञ्जबहादुर श्रेष्ठले बताए।