तराईमा बाक्लो हुस्सु, शीतलहर बढ्न सक्ने चेतावनी

नेपालगन्जदेखि पूर्वमा जनकपुरसम्म हल्का शीतलहर छ। नेपालगन्ज पश्चिम र जनकपुर पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढेर दिनभर नै हुस्सु लाग्ने सम्भावना छ।

काठमाडौँ– हाल तराईका धेरै भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाले शीतलहर बढ्न सक्ने चेतावनी दिएकाे छ।

चिसाे ह्वात्तै बढेपछि तराई–मधेसको जनजीवन प्रभावित बनेको छ। तराईका धेरैजसो क्षेत्रमा पछिल्ला केही दिनदेखि दिनभरजसो शीतलहर चल्न थालेको महाशाखाले जनाएको छ। भैरहवा, सिमरा र जनकपुरमा औसत अधिकतम तापक्रम ५ डिग्रीभन्दा बढीले घटेको छ।

तराईका अन्य क्षेत्रकाे तापक्रम पनि औसतभन्दा कम मापन भएको महाशाखाको शीतलहर बुलेटिनमा उल्लेख छ। तराईमा विशेषतः नेपालगन्जदेखि पूर्वमा जनकपुरसम्म हल्का शीतलहर छ। नेपालगन्जभन्दा पश्चिम र जनकपुरभन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढेर दिनभर नै हुस्सु लाग्ने सम्भावना देखिन्छ।

आगामी तीन दिन चिसोबाट बच्न विशेष सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। देशका अन्य भागमा पनि चिसोका कारण जनजीवन प्रभावित बनेको छ। दिउँसो गण्डकी र कर्णाली तथा राति प्रदेश १ को हिमाली भागमा हिमपातको सम्भावना छ।