अफगानिस्तान भूकम्प: ६०० जनाभन्दा बढीको मृत्यु

तालिबान अधिकारी र संयुक्त राष्ट्रसंघले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन्। टोलीले आपत्कालीन सहयोग र जीवनरक्षक सहायता पुर्‍याइरहेका छन्।

अफगानिस्तानमा आइतबार रातिको शक्तिशाली भूकम्पका कारण ६०० जनाभन्दा बढीको मृत्यु भएको छ। 

मध्यरातमा आएको भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवन हल्लाएको थियो। प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान शुरू भएको गृह मन्त्रालयले जनाएको छ। 

देशको पूर्वी भागमा केन्द्रित भूकम्पले ठूलो क्षति पुर्‍याएको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले बताए। “कुनार प्रान्तमा ६१० जनाको मृत्यु भएको छ र एक हजार ३०० जना घाइते भएका छन्। धेरै घर भत्किएका छन्,” प्रवक्ता कानीले भने। 

तालिबान अधिकारी र संयुक्त राष्ट्रसंघले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन्। “अफगानिस्तानमा पूर्वी क्षेत्रमा आएको विनाशकारी भूकम्पले सयौँ मानिसको ज्यान गएको खबरले हामी गहिरो दुःखमा छौँ”, राष्ट्रसंघले भनेको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग र जीवनरक्षक सहायता पुर्‍याइरहेका छन्।

सन् २०२२ जुनमा पूर्वी सीमावर्ती प्रान्त पक्तिकामा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। दशौँ हजार परिवार विस्थापित भएका थिए।

चार दशक लामो युद्धले जर्जर बनेको अफगानिस्तानले अहिले पनि मानवीय संकटको सामना गरिरहेको छ।