म त नेपाली भाषा नबुझ्ने रहेछु!

शंकर लामिछाने भन्थे– भाषालाई फराकिलो बनाए अभिव्यक्तिको दायरा अझ बढ्छ। हुन पनि अंग्रेजी भाषा त्यसको उत्तम उदाहरण हो।

नेपाली टिभी र युट्युब च्यानलमा केही यस्ता कार्यक्रम छन् जुन हेर्दा मलाइ लाग्छ– म त नेपाली भाषा नबुझ्ने रहेछु! कतिपय प्रश्नकर्ताको प्रश्नभन्दा कार्यक्रमका पाहुनाको जवाफबाट प्रश्न के सोधिएको रहेछ भन्ने बुझ्नुपर्ने हुन्छ, म यसरी बुझ्छु।

यी कार्यक्रम हेरिरहँदा म मेरो श्रीमानलाई घरीघरी सोध्छु– तिनले सोधेको के हो? वा, त्यो शब्दको अर्थ के हो? मेरो श्रीमान् बाहुन हो, आखिर केही संस्कृत शब्द पनि बुझ्छ नै। तर, कहिलेकाहीँ उसले पनि केही बुझ्दैन, अनि हामी हाँस्छौँ। जवाफ हुन्छ– अर्कोपटक बृहत् नेपाली शब्दकोष अगाडि राखेर हेर्ने है!

तर सोच्छु– के यो साँच्चिकै हाँस्ने र ठट्टाको विषय हो त? यदि मजस्तो दुईचार अक्षर पढेको, स्कुल–कलेज गएको, जीवनभर नेपाली भाषा बोलेर हुर्केको मानिसलाई बुझ्न यस्तो कठिनाइ हुन्छ भने, शिक्षाबाट वञ्चित वा दुर्गम क्षेत्रको या अरू कुनै मातृभाषा भएको व्यक्तिले कसरी बुझ्ने? यो एउटा टिभी कार्यक्रममा मात्रै सीमित समस्या (सरोकार) होइन। म देख्दै छु– आजकल शुद्ध नेपाली बोल्ने प्रयासमा भइरहेको बढ्दो संस्कृतकरण!

म सोच्छु, यदि मैले कुनै जागिरको अन्तर्वार्तामा जाँदा कसैले यस्तो भाषामा प्रश्न सोधेको भए म त स्वतः फेल हुन्थेँ। एउटा त प्रयोग भएका शब्दका कारणले प्रश्नै नबुझेर जवाफ दिन नसकेर र, दोस्रो केही गरेर बुझे पनि सही अर्थ बुझिन कि भन्ने संशयको साथमा दिइएको जवाफको कारण। अन्तर्वार्तामा फेल हुनाको कारण लेखिन्थ्यो होला– विषयको अनभिज्ञता र आत्मविश्वासको कमी। त्यसैले म बेलाबेलामा झोक्किएर आफ्नो रिस जति ओकल्छु, मेरै श्रीमानमाथि। मेरो श्रीमान् मेरो साउन्डिङ बोर्ड हो, मेरो पंचिङ–ब्याग पनि! ऊ धैर्यतापूर्वक सुन्छ, उसमा त्यो क्षमता छ।

भाषाको कुरा गर्दा प्रश्न आउँछ– भाषा के हो? मैले बुझेअनुसार सामान्य रूपमा भन्दा भाषा भनेको सञ्चार प्रणाली हो, एक अर्कासँग कम्युनिकेट (संवाद/सञ्चार/बोलचाल) गर्ने माध्यम हो। र, एक अर्कासँग कम्युनिकेसन तब सम्भव हुन्छ, जब दुवै पक्षले एक अर्काको बोली बुझ्छन्। त्यसैले भाषामा सरलता र तरलता चाहिन्छ। भाषाको तरलताको कुरा गर्दा मलाई मेरो प्रिय निबन्धकार शंकर लामिछाने र बुबा (प्रिय कवि) भूपी शेरचनको याद आउँछ। दुवैले अत्यन्तै गहन विषयलाई कति सरल भाषामा लेख्ने गर्थे, दुवैले अन्य भाषाका शब्द पनि खुलेर प्रयोग गरेका छन्। अंग्रेजी, संस्कृत, फारसी, हिन्दी, उर्दु यी सबै भाषाका शब्द पाइन्छन्, यी दुवैको लेखनमा। 

यी शब्दको प्रयोग तब गरिएको छ, जब नेपाली भाषामा ठ्याक्कै मिल्ने शब्दको अभाव रहन्छ। वा, कुनै शब्दले अर्थको भाव समेट्दैन, या ती शब्द सामान्य बोलीचालीको भाषा बनिसकेका छन्। यी विदेशी शब्दको प्रयोगले उहाँहरूको सिर्जनाको प्रभावकारिता घटेको छैन, झन् बढेको छ। तिनको प्रयोगले कहीँकतै नेपाली भाषामा क्षय पनि पुर्‍याएको छैन। हरेक भाषामा केही यस्ता शब्द हुन्छन्, जसलाई अर्को भाषामा अर्थ्याउन दुई/तीन शब्दको सम्मिश्रण गर्नुपर्छ। र, यी सबै गर्दा पनि भन्न खोजेको कुरा ठ्याक्कै मिल्दैन– त्यो चाहे नेपालीबाट अंग्रेजीमा होस् वा अंग्रेजीबाट नेपालीमा। कुनै अर्को भाषामा एउटै शब्दले ती सबै भाव समेट्न सक्छ भने त्यसको प्रयोग किन नगर्ने? 

अर्को कुरा, विज्ञानको प्रगतिसँगै यस्ता धेरै नयाँ अंग्रेजी शब्दको सिर्जना भएको छ जसको नेपालीकरण निरर्थक हुन्छ। शब्द छ भन्दैमा म एसीलाई वातानुकूलित, फ्रिजलाई शितलपेटी, क्यामेरालाई छायाचित्र, कम्प्युटरलाई गणकचित्र र टेलिफोनलाई दूरभाष भन्दिन। एक त यी शब्द नै असहज छन्, दोस्रो– यी शब्द मैले प्रयोग गरेमा कतिले बुझ्लान्? हामी आफैले उत्पादन वा सिर्जना गरेको सामान वा उपभोग्य वस्तु भएको भए त त्यसलाई वर्णन गर्न शब्द पनि अर्ग्यानिक (प्राकृतिक) रूपमै प्रचलनमा आउने थिए र, ती शब्द बोल्न वा बुझ्न सहज हुने थियो। तर, त्यो जुन कुरा हो, त्यो मौलिक हुँदै होइन। त्यसमा हाम्रो मौलिकता चाहिन्छ पनि किन?

विदेशीले बनाएका तथा समय र श्रम बचत गर्ने सामान हामीले दैनिक रूपमा प्रयोग गरेर आफ्नो जीवन सरल र सहज बनाउन हुने, तर विदेशीका सजिला शब्द प्रयोग गरेर हाम्रो भाषा बिग्रिने? यो कस्तो असंगत र नमिल्दो कुरा? त्यसो भए त विदेशी सामानको उपयोग पनि छाड्नुपर्‍यो, यसले पनि त हो हाम्रो पुरातन जीवनशैलीलाई बिगारेको!

जब कुनै चिजको उपयोगिता वा उपादेयता हुँदैन, तब त्यसको कुनै अर्थ रहँदैन पनि। भाषा पनि त्यस्तै हो। जब कसैले पनि त्यसको प्रयोग गर्दैन, त्यो भाषा (शब्द)को कुनै अर्थ रहँदैन पनि। अब प्रश्न आउँछ– शुद्ध नेपाली भाषा भनेको के हो? कहिलेको कुन नेपाली भाषालाई शुद्ध भन्ने? म भाषाविद् वा भाषाशास्त्री त होइन, यसबारे मसँग अल्पज्ञान छ होला। तर यत्ति भने पक्कै थाहा छ कि नेपाली भाषा संस्कृतभन्दा भिन्न भाषा हो। यदि संस्कृतकरण नै गर्नु छ भने नेपाली भाषा किन चाहियो? संस्कृत भाषा आफैमा छँदै छ नि।

नेपाली भाषालाई हामीले हाम्रो राष्ट्रियता, अखण्डता र सार्वभौमिकतासँग गाँसेर राखेका छौँ। त्यसैले जबरजस्ती त्यसको संस्कृतकरण गर्दै छौँ। तर, संस्कृत भाषा पनि हाम्रो मात्रै कहाँ हो र? अर्को कुरा, भाषालाई हामीले रिजिड (कठोर/ढिट) मान्दै त्यसलाई कडा नियम कानूनले बाँध्न थालेमा त्यसलाई जीवन्त राख्न मुस्किल हुन्छ नै। यसले संवादको सहजता हराउनेछ र, बिस्तारै त्यसको प्रासंगिकता र उपादेयता (रेलेभेन्स) हराउँदै जान्छ नै। अनि, कालान्तरमा त्यो भाषा लोप हुँदै जान सक्छ पनि। 

हुन त मैले यो लेखमा भन्न खोजेको कुरालाई उहिल्यै लेखक शंकर लामिछानेले आफूले मदन पुरस्कार पाउँदाको मन्तव्यमा कति मीठोसँग एकै अनुच्छेदमा भनिसकेका छन्। लामिछाने भन्छन्, “...र कुरा भाषा! योभन्दा राम्रो भाषा पनि मर्‍यो। योभन्दा नराम्रो भाषा पनि टिकिराखेको छ। र, नेपाली त मलाई मन पर्छ कसोकसो, हुन त म आफै पनि बडा अंग्रेजी, उर्दु, संस्कृत र कहिले कहिले के–के नेवारी पनि प्रयोग गरिदिन्छु। अँ, तर मैले हाम्रो भाषामा के देखेको छु भने सम्भावना प्रशस्त छन्। र, बडा राम्री तरुनी जस्ती छ के! यसलाई गर्भाधानको भय छैन, गर्नु हुन्न। र, यी ताना शर्माहरूको जुन छ नि, पुरानुपट्टि फर्किने, त्यो पनि गर्नुहुन्न। अलिक विस्तीर्ण हुनुपर्छ...” 

यो ‘तरुनी’को उदाहरणप्रति जसमा ‘मेल गेज’ झल्किन्छ, र, यसको बारेमा फेरि कुनैदिन लेखौँला। मलाई आपत्ति छ तर, म सचेत छु कि एक्काइसौँ शताब्दीको मूल्य र मान्यताको चस्माबाट त्यति बेलाको व्यक्तिको बोली र व्यवहारको मूल्यांकन गर्न न्यायसंगत हुँदैन।

लामिछाने भन्थे– भाषालाई फराकिलो बनाए अभिव्यक्तिको दायरा अझ बढ्छ। हुन पनि अंग्रेजी भाषा त्यसको उत्तम उदाहरण हो। कोलोनाइजेसन, व्यापार सम्बन्ध र अन्य कारणले गर्दा अंग्रेजी भाषाको शब्द भण्डारमा धेरै विदेशी भाषाका शब्दको मिश्रण देखिन्छ। हरेक वर्ष अक्सफोर्ड शब्दकोषले नयाँ सयौँ शब्द आफ्नो शब्दकोषमा थप्छ। यसरी थप्नेमा अहिलेको पुस्ताले प्रयोग गर्ने स्ल्याङदेखि विदेशी शब्द पनि हुन्छन्। अंग्रेजीमा हिन्दी शब्द ‘चाय’ सामान्य भइसक्यो। हिन्दीको ‘पाइजामा’ अब अंग्रेजीमा पजामाको रूपमा प्रयोग हुन्छ। आजकल मिटिङमा धेरै सुनिने शब्द हो– शेर्पा। अंग्रेजी भाषामा शेर्पा शब्दलाई रुपकात्मक रूपमा, मार्गदर्शकको रूपमा प्रयोग हुन्छ। 

संसारमा कति भाषा होलान् जहाँ आयातित शब्द नहोला? र, कति यस्ता शब्द होलान् जसले ल्याटिन र प्राचीन ग्रिकलाई अहिलेको भाषामा मिसाएर बोल्छन्? अहिले लेख्ने वा बोल्ने अंग्रेजीमा शेक्सपियरको समयको शब्द र लवज प्रयोग गरे के होला? संस्कृत शब्दको आफ्नै विशेषता छ र, यसको जगेर्ना गर्नुपर्छ। तर, सामान्य बोलीचाली र लेखनको भाषामा जबरजस्ती थोपरेर, भाषालाई क्लिष्ट बनाएर, बुझ्नै गाह्रो पार्दा भाषाको उपयोगिता र उपादेयता नै हराउँदैन र? के अहिले भइरहेको संस्कृतकरण साँच्चिकै भाषा जोगाउने प्रयास हो त? वा, आफ्नो बौद्धिक र भाषिक श्रेष्ठता देखाउने एकोहोरो प्रयास?

(लेखक शेरचनले आफ्ना पिता कवि भूपी शेरचनमाथि संस्मरण कृति प्रकाशित गरेकी छन्।)